‘सरकार ! स्यानिटरी प्याडको कर हटाइदेऊ, हामी किसान–मजदूरका छोरीलाई गाह्रो भयो’

‘सरकार ! स्यानिटरी प्याडको कर हटाइदेऊ, हामी किसान–मजदूरका छोरीलाई गाह्रो भयो’
+
-

काठमाडौँ– मोरङ उर्लाबारीकी १९ वर्षीया रजिना निरौलालाई महिनावारीको समयमा कपडा प्रयोग गर्दा दिनभरी तनाव हुन्छ। ‘कतै रगत कपडामा लाग्यो की ! कसैले देख्यो की!’ यही तनावले समय–समयमा उनी ‘चेक’ गर्छिन् या साथीहरुसँग सहयोग माग्छिन्।

रजिनाको तनाव त्यतिमा मात्र सीमित रहन्न। पोल्ने–पासिने समस्या अलग छन्। भन्छिन्, ‘जहिले प्याड लगाउन सम्भव हुँदैन। कपडा पनि लगाउनु पर्छ। कपडाले निकै तनाव हुन्छ। चाहेको समयमा परिवर्तन असहज हुन्छ।’

उनका अनुसार सधैँ प्याड खरिद गर्न सम्भव हुँदैन। जसका कारणले रजिना स्यानेटरी प्याड र कपडा प्रयोग गर्ने गरेको बताउँछिन्।

‘सिचुएसन हेरेर प्याड र कपडा लगाउँछु’, रजिना भन्छिन्, ‘महिनावारी सुरु भएदेखि नै प्याड र कपडा प्रयोग गर्दै आएकी छु।’

उनी १४ वर्षमा पहिलो पटक महिनावारी भइन्। परिस्थिति हरेर प्याड वा कपडा लगाउनु उनको रहर होइन, बाध्यता हो। ‘मिन्स भाको बेला उसै कति गाह्रो भा’को हुन्छ। घरी पेट दुख्छ, घरी के हुन्छ। त्यसमाथि कपडाका कारणले थप तनाव हुन्छ’, रजिना भन्छिन्, ‘शारीरिक तनाव त हुन्छ नै। मानसिक तनाव पनि त्यति नै।’

कपडाको प्रयोगले तनाव भए पनि स्यानेटरी प्याडले सजिलो हुने उनी बताउँछिन्। तर पनि नेपालमा प्याड प्रयोग गर्नु सहज नभएको उनको गुनासो छ।

‘प्याड हरेक महिना चाहिने अत्यावश्यक कुरा हो, हामी महिलाहरुका लागि । तर पनि बजारमा हामीजस्ता सर्वसाधारणले किन्न सक्ने अवस्था छैन’, रजिना भन्छिन्, ‘झन् अहिले सरकारले कर बढाएर ‘आकाशको फल आँखा तरी मर’ झैं बनाएको छ। अब हामीले किन्न सक्ने अवस्था नै छैन। कपडाका कारणले लाग्ने रोग तथा अप्ठेरो कर बढाउनेलाई के थाहा। त्यो त हामी महिलाहरुले नै भोग्नुपर्छ।’

त्यसपछि उनले सामाजिक सञ्जालमा लेखिन्,

‘#महिनावारी’

‘यो सुन्न जतिनै सहज छ, भोग्न नि उस्तै गाह्रो छ। म नारी पूर्ण रुपमा नारी भएको दिन आमा बन्ने शौभाग्यको बाटो खुलेको दिन गर्व लाग्छ। म छोरी भएकोमा। सरकार महिनावारीमा चाहिने ह्याजट्गा प्याडमा कर नलाइदेन। बिहान बेलुका मुख जार्ने गाह्रो हुने हामी किसान, मजदूरका छोरीलाई गाह्रो भयो। त्यति महँगो प्याड किनेर लगाउन सकिँदैन। निःशुल्क देऊ भन्दिनँ तर यसमा लाग्ने कर हटाइदेऊ। सम्पूर्ण सर्वसाधारणले उपभोग गर्न सक्ने बनाइदेऊ।’

‘#नारीआवाज #प्याडको मूल्य घटाइदेउ सरकार’

रजिना निरौला

देश सञ्चारसँगको कुराकानीमा उनले थपिन्, ‘त्यो ठाँउमा महिला नेतृत्व भएको भए यस्तो समस्या आउँदैन थियो!’

सरकारमा असल महिला नेतृत्वको खाँचो रहेको उनले आभास गरिन्।

सरकारमा महिला नेतृत्व नभए पनि नेतृत्वमा भएका पुरुष महिलाको समस्या बुझ्दै स्यानेटरी प्याडमा लगाएको कर हटाउन रजिनाले माग गरिन्।

‘प्याड फ्रिमा दिन सक्दैन सरकारले भने सबैले किन्न सक्ने रेट होस्’, रजिनाले भनिन्।

यो माग रजिनाको मात्र होइन, हरेक महिलाको हो। महिलाहरुले स्यानिटरी प्याडमा भएको मूल्य वृद्धिको विरोध गरेका छन्। अझ सामाजिक सञ्जालमा यसको चर्को विरोध भइरहेको छ।

स्यानटरी प्याड निःशुल्क गर्न नसके पनि प्याडमा लाग्ने कर हटाउन उनीहरुको माग छ।

महिलाका लागि प्याड आधारभूत आवश्यकता हो। महिनैपिच्छे महिनावारीका बेला प्याड नभइ हुँदैन। महिलाहरुका लागि प्याड दाल–भात सरह अत्यावश्यक भएको सिविन संस्थाकी मिडिया संयोजक उर्मिला मानन्धर बताउँछिन्।

भन्छिन्, ‘कण्डम निःशुल्क गर्न सकिने तर प्याड निःशुल्क गर्न नसकिने? महिनावारी निकै सेन्सेटिभ कुरा हो। मानौ पुरुषसँग कण्डम छैन। पुरुषले अहिले शारीरिक सम्बन्ध राख्दिन भन्न पाइयो। तर महिलाले मसँग अहिले प्याड छैन, महिनावारी हुँदिन भन्न पाइएन नि।’

‘जस्तो अस्पतालमा जाँदा कण्डम फ्री पाइन्छ। एउटा मात्र होइन मुठीभर। जति लगे पनि हुन्छ’, उर्मिला भन्छिन्, ‘यदी म हस्पिटलमा जाँदा त्यहीँ पिरियड भए भने प्याड खरिद गर्नुपर्छ। अस्पतालमा त उपलब्ध हुन्छ किन्न सकियो। अन्त कतै भयो भने त्यो सम्भव हुँदैन। कस्तो अवस्थामा भइन्छ, केहि थाहा हुन्न।’

महिलाको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले कुनै–कुनै ठाँउमा प्याड निःशुल्क गरिदिनुपर्ने उनको भनाइ छ।

अहिले नेपालमै प्याड बन्ने भएकाले सरकारले केहि ठाँउमा प्याड निःशुल्क गर्न सकिने अवस्था रहेको उनी बताउँछिन्। ‘अहिले हाम्रै देशमा प्याड उत्पादन हुन्छ। प्याड उत्पादन गर्ने उद्योगलाई सरकारले केही प्रोत्साहन गरेर निःशुल्क दिन जरुरी छ’, उनले भनिन्।

उनका अनुसार कामकाजी महिलाहरुले जति महँगो भए पनि आफ्नो सहजताका लागि खरिद गरे पनि सबैका लागि प्याड अति आवश्यक भएकाले सबै वर्गका महिलालाई मध्यनजर गरी उपलब्ध गराउनु पर्छ।

‘कामकाजी महिलाहरुले प्याड जति महँगो भए पनि किन्छन्’, उनले भनिन्, ‘किनभने कामकाजका लागि बाहिर जानै पर्‍यो। कपडाले सहज हुन्न, जोखिम हुन्छ। जति महँगो भए पनि खरिद गछौँ नै। तर सबैका लागि यो सम्भव छैन।’

उनले सबै महिला वर्गले खरिद गर्न सक्ने बनाउनु पर्ने बताइन्। ‘कतिपय ठाँउमा त निःशुल्क नै गर्नुपर्छ’, उनले भनिन्।

नेपालमा उत्पादन हुने प्याड र आयात हुने प्याडको मूल्य उस्तै–उस्तै रहेको गुनासो उनले गरिन्। नेपालमा उत्पादन हुने प्याड आयातित प्याडभन्दा केही सस्तो हुनुपर्ने उनको भनाइ छ।

‘मैले पनि नेपाली प्रडक्ट प्रयोग गर्छु। तर मूल्य सबैको उस्तै छ’, उनले भनिन्, ‘नेपालमा उत्पादन हुने भएपछि अरुभन्दा सस्तो हुनुपर्छ। सबैले किन्न सक्ने हुनुपर्छ। अझै पनि हाम्रो देशका महिलाले टालो नै प्रयोग गर्छन्। त्यसका कारणले महिलाको स्वास्थ्यमा असर गर्छ।’

नबिल बैंकको महाराजगंजको शाखा प्रमुख मोना शर्माले स्यानेटरी प्याड महिलाहरुका लागि अतिआवश्यक वस्तु भएकाले सरकारले कर हटाउनका साथै सबै वर्गका महिलाहरुले खरिद गर्न सक्ने मूल्यमा उपलब्ध गराउने पर्ने बताइन्।

‘सरकारले कम मूल्यमा सजिलै पाउन सक्ने बनाउनु पर्छ। यो महिलाको स्वास्थ्यसँग रिलेटड भयो। यो अत्यावश्यक वस्तु नै भयो। यस्तो चिजलाई सरकारले ट्याक्स लगाउनु हुँदैन। ट्याक्स नलगाएर सरकारले सुपथ मूल्यमा जसले पनि किन्न सक्ने गरेर उपलब्ध गराइदिनु पर्‍यो।’

सरकारले यस विषयलाई गम्भीरतापूर्वक हेर्नपर्ने उनको भनाइ छ।

महिनावारी र स्वास्थ्य


महिलाहरुले महिनावारी भएका बेला सफा कपडा प्रयोग गरेमा कुनै पनि प्रकारको रोग नलाग्ने प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर जागेश्वर गौतम बताउँछन्।

उनले भने, ‘सफा भन्नाले प्रयोग गरिसकेको धोएर घाममा सुकाएको कपडा प्रयोग गर्‍यो भने केही पनि हुँदैन। तर चिसो कपडा, घाममा नसुकाएको कपडा लगायो भने इन्फेक्शन हुन्छ।’

लामो समय इन्फेक्शन भएमा महिलामा विभिन्न समस्या देखिने उनले बताए।

डाक्टर जागेश्वर गौतम

‘कपडाकै कारणले बिरामी भएको देखिँदैन। तर कपडा प्रयोग गर्ने मान्छेहरु प्याड किन्न नसक्ने हुन्छन्। जसले प्याड किन्न सक्दैन, उनीहरुको अरु पनि कारण हुन्छन्। जस्तो हाइजिनको प्रोब्लम, स्वास्थ्यको बारेमा धेरै ख्याल नगर्ने, सफा नगर्ने, व्यक्तिगत हाइजिनको ख्याल नगर्ने, अन्डरगार्मेटहरु समयमा चेन्ज नगर्ने कारणले इन्फेक्शन हुन्छ,’ डा. गौतमले भने, ‘यसैले (कपडा) हो भने ठ्याक्कै भन्न सकिँदैन। इन्फेक्शन खासमा गुप्ताङ्ग र भल्भमा हुन्छ। इन्फेक्शन भइराख्यो भने नलीहरु बन्द भएर बच्चा नहुने यदी बच्चा बस्यो भने एक चोटी प्रेगेन्सी हुने, बच्चा बस्न गाह्रो हुने, र तल्लो पेट धेरै दुख्ने समस्याहरु हुन्छन्।’

अझै पनि आर्थिक अवस्था कमजोर भएका महिलाहरुले स्यानेटरी प्याड प्रयोग गर्न पाएका छैनन्। तर प्याडको मूल्य भने बढिरहेको छ।

प्याडको मूल्यबारे के भन्छन् अभियन्ता?


नेपालमा उत्पादन हुने स्यानेटरी प्याड र आयातित प्याडको मूल्य उस्तै–उस्तै हुने गरेको सिविनकी मिडिया संयोजक मानन्धर बताउँछिन्। अहिले बजारमा १० रुपैयाँदेखि २० रुपैयाँसम्म स्यानेटरी प्याडको मूल्य बढेको छ।

अहिले स्यानेटरी प्याडको मूल्य बढेको कुपोण्डोलकी व्यापारी सुभद्रा सुवेदीले बताइन्। स्यानेटरी प्याडमा लगाएको कर पूर्ण रुपमा हटाउनु पर्ने मागसहित करिब एक महिनाअघि श्रीना नेपाल र अभ्युदया भेटवालले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उनीहरुले स्यानिटरी प्याडलाई लक्जरी वस्तुअन्तर्गत कर लगाइएकाले त्यसलाई खारेज गर्नुपर्ने उनीहरुको माग थियो।

सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर तथा भन्सार महसुल लगाउने निर्णय गरेको र उक्त निर्णयले सम्पूर्ण महिलालाई संविधानद्वारा प्रदत्त मौलिक हक र सार्वभौम मानव अधिकारको हनन गरेको उनीहरुको भनाइ थियो।

छिमेकी राष्ट्र भारतले पनि स्यानेटरी प्याडमा लगाउँदै आएको १२ प्रतिशत कर हटाइसकेको छ। तर नेपालमा पनि कर हटाउनु पर्ने आवाज उठ्दै आएको छ।

प्रदेशअनुसार प्याड प्रयोगकर्ताको तथ्यांक


नेपालमा पनि पहिलेको तुलनामा स्यानेटरी प्रयोगकर्ता बढेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र वल्ड भिजनको संयुक्त सहकार्यमा तयार पारिएको अध्ययन अनुसार महिनावारीका बेला प्रदेश १ मा ६१ प्रतिशतले डिस्पोजेवल स्यानेटरी प्याड प्रयोग गर्छन् भने रियुजेबल स्यानेटरी प्याड २९, नयाँ कपडा ३१ प्रतिशत, पुरानो कपडा ११.१, कटन उल १.८ प्रयोग गरेको देखिएको छ।

प्रदेश २ मा डिस्पोजेवल स्यानेटरी प्याड ३२.२ प्रतिशत, रियुजेबल स्यानेटरी प्याड ४८.२ प्रतिशत, नयाँ कपडा २७.८ प्रतिशत पुरानो कपडा १५.८ प्रतिशत, कटन उल १.५ प्रतिशत प्रयोग गर्छन्।

यस्तै बागमती प्रदेशमा डिस्पोजेवल प्याड ४५.८ प्रतिशत, रियुजेबल प्याड ५१.५ प्रतिशत, नयाँ कपडा ३२.६ प्रतिशत, पुरानो कपडा ११.५ प्रतिशत, कटन उल ३.३ प्रतिशतले प्रयोग गर्छन् भने गण्डकी प्रदेशमा डिस्पोजेवल प्याड ७८.० प्रतिशत, रियुजेबल प्याड २२.० प्रतिशत, नयाँ कपडा १५.३ प्रतिशत, पुरानो कपडा २०.७ प्रतिशत र कटन उल ५.० प्रतिशतले प्रयोग गर्छन्।

प्रदेश ५ मा डिस्पोजेवल प्याड ६४.६ प्रतिशत, रियुजेबल प्याड २७.१, नयाँ कपडा २१.९ प्रतिशत, पुरानो कपडा २.६, तामपोन्स ०.४ प्रतिशत, ट्वाइलेट पेपर ०.२ प्रतिशत र ‘अर्डरवेयर’ मात्र ०.१ प्रतिशतले प्रयोग गर्छन्।

कर्णाली प्रदेशमा डिस्पोजल प्याड ३१.७ प्रतिशशत, रियुजेबल स्यानेटरी प्याड ४५.१ प्रतिशत, नयाँ कपडा २२.७, पुरानो कपडा २१.२, कटन उल ५.१ प्रतिशतले प्रयोग गर्छन्।

सुदुरपश्चिम प्रदेशमा स्पिोजेबल स्यानेटरी प्याड ३९.९ प्रतिशत, रियुजेबल ५४.१ प्रतिशत, नयाँ कपडा २९.१ प्रतिशत, पुराना कपडा ६.२ प्रतिशत, कटन उल ६.२ प्रतिशत तामपोन्स ०.१, ट्वाइलेट पेपर ०.५ र अर्डरवेयर मात्र ०.६ प्रतिशतले प्रयोग गर्छन्।

यस्तै परिषद्को तथ्यांक अनुसार प्रदेश १ का ६२.८ प्रतिशत महिलाहरुले महिनावारी भएका बेला प्रयोग गर्दै आएको वस्तुमा नै खुसी रहेको देखाएको छ भने १०.५ प्रतिशतले भने अन्य विकल्पका बारेमा थाहा नभएकाले सुरुदेखि नै प्रयोग गर्दै आएको वस्तु प्रयोग गर्छन्। २६.७ प्रतिशतले भने अन्य विकल्प रोजेको तथ्यांकमा उल्लेख छ।

प्रदेश २ मा ७३.६ प्रतिशत महिलाहरु आफूले महिनावारी भएका बेला प्रयोग गर्दै आएको वस्तुमा खुसी छन् भने १६.२ प्रतिशतलाई अन्य विकल्पका बारेमा थाहा नभएर पुरानै विकल्प रोजेको तथ्यांकमा देखिन्छ। र १०.२ प्रतिशतले अन्य विकल्प रोजेका छन्।

बागमती प्रदेशमा पनि ७२.५ प्रतिशत महिलाहरु प्रयोग गर्दै आएको विकल्पमा खुसी छन् भने ८.१ प्रतिशत महिलालाई अन्य विकल्प थाहा नभएकाले प्रयोग गर्दै आएको विकल्प रोजेका छन् र १९.४ प्रतिशतले अन्य विकल्प रोजेको तथ्यांकमा उल्लेख छ।

गण्डकी प्रदेशमा ८० प्रतिशत महिलाहरु प्रयोग गर्दै आएको विकल्पमा खुसी छन् भने १२.७ प्रतिशतलाई अन्य विकल्पका बारेमा थाहा छैन। जसका कारणले प्रयोग गर्दै आएको विकल्प रोजेका छन्। ६.५ प्रतिशतले भने अन्य विकल्प रोजेका छन्।

प्रदेश ५ मा ६५ प्रतिशत महिलाहरुले प्रयोग गर्दै आएका वस्तुमा खुसी छन् भने १२.७ प्रतिशत अन्य विकल्पका बारेमा थाहा नभएर पुरानै विकल्प रोजेको र २१.८ प्रतिशतले अन्य विकल्प रोजेका छन्।

कर्णाली प्रदेशका ५९.३ प्रतिशत महिला प्योग गर्दै आएको विकल्पमा खुसी छन् भने १४.१ प्रतिशत अन्य विकल्पका बारेमा जानकारी नभएर पुरानै विकल्प रोजेका छन्। २६.६ प्रतिशतले अन्य विकल्प रोजेका छन्।

यस्तै सुदूरपश्चिमा ५०.९ प्रतिशत महिला प्रयोग गर्दै आएको विकल्पमा खुसी छन् भने २०.९ प्रतिशत प्रतिशतलाई अन्य विकल्पका बारेमा जानकारी नभएर प्रयोग गर्दै आएको विकल्प रोजेका छन्। २८.२ प्रतिशतले अन्य विकल्प रोजका छन्।

परिषद्ले अध्ययन गरे अनुसार महिनावारीका बेला प्रदेश १ का ४३.९ प्रतिशत महिलाहरुले डिस्पोजेवल स्यानेटरी प्याड प्रयोग गर्न रुची राख्छन् भने ३५.४ प्रतिशतले रियुजेबल, १२.१ प्रतिशतले नयाँ कपडा, ६.८ प्रतिशतले पुरानो कपडा र १.८ प्रतिशतले टामपोन्स प्रयोग गर्न रुचाउँछन्।

प्रदेश २ मा २५.७ प्रतिशतले डिस्पोजेवल प्याड, ४५.७ प्रतिशतले रियुजेबल प्याड, २०.४ प्रतिशतले नयाँ कपडा, ८.२ प्रतिशतले कटन उल प्रयोग गर्न रुचाउँछन्।

बागमती प्रदेशमा ३७.९ प्रतिशतले डिस्पोजेवल स्यानेटरी प्याड, २८.९ रियुजेबल स्यानेटरी प्याड, २२.४ प्रतिशतले नयाँ कपडा, ७.३ प्रतिशतले कटन उल, २.६ प्रतिशतले तामपोन्स रोजेका छन्।

गण्डकी प्रदेशमा ४५.८ प्रतिशतले डिस्पोजेवल प्याड, ४५.८ प्रतिशतले रियुजेबल प्याड, १.४ प्रतिशतले नयाँ कपडा, ६.९ प्रतिशतले पुरानो कपडा रोजेका छन्।

प्रदेश ५ मा ३५ प्रतिशतले डिस्पोजेवल प्याड, ३१.३ प्रतिशतले रियुजेबल प्याड, ५.९ प्रतिशतले नयाँ कपढडा, ५.१ प्रतिशतले पुरानो कपडा, ०.३ प्रतिशतले कटन उल, १४.२ प्रतिशतले तामपोन्स, रोजेका छन्।

कर्णाली प्रदेशमा २७ प्रतिशतले डिस्पोजेवल स्यानेटरी प्याड, ४९.२ प्रतिशतलले रियुजेबल स्यानेटरी प्याड, १९.८ प्रतिशतले नयाँ कपडा, २.३ प्रतिशतले पुरानो कपडा, १.२ प्रतिशतले कटन उल, ०.५ प्रतिशतले तामपोन्स रोजेका छन्।

सुदूरपश्चिम प्रदेशमा ३८.७ प्रतिशतले डिस्पोजेवल स्यानेटरी प्याड, ४०.५ प्रतिशतले रियुजेबल स्यानेटरी प्याड, १२.७ प्रतिशतले नयाँ कपडा, १ प्रतिशतले पुरानो कपडा, ५.३ प्रतिशतले रोजेका छन्।

स्यानेटरी प्याड नेपाल उत्पादन भए तापनि त्यसका लागि चाहिने कच्चा पदार्थ बाहिरबाटै आयात गर्नुपर्छ। र अधिकांश स्यानेटरी प्याड देशबाहिरबाट आयात हुन्छ। भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष प्याड बनाउन चाहिने १६ लाख ९४ हजार ९ सय ४२ कच्चा पदार्थ आयात भएको छ।

आर्थिक वर्ष २०७७/७८ मा ३ करोड ३१ लाख १९ हजार ५ सय ९८ थान प्याड, टेम्पोन, मिन्सुरल कप लगायतका सामाग्री आयात गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?