
बुटवल– नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबार रुपन्देहीमा भएको गाउँनगर अधिवेशनमा कांग्रेसको संस्थापन पक्ष बलियो देखिएको छ।
रुपन्देहीका १६ पालिकामध्ये संस्थापन पक्षले ४ वटा नगरपालिकामा जीत हासिल गरेको छ। पौडेल पक्षले दुई वटा नपामा नेतृत्व जितेको छ। यहाँ ६ वटा नगरपालिका रहेका छन्।
जिल्ला सदरमुकाम भैरहवाको सिद्धार्थनगर नगरपालिका, गृहमन्त्री बालकृष्ण खाणको गृह नगर तिलोत्तमा, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकाको नेतृत्व संस्थापन पक्षले जितेको छ। लुम्बिनी प्रदेशको मुकाम बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा पौडेल पक्षले नेतृत्व जितेको छ।
बुटवल उपमहानगरमा पौडेल पक्षका खेलराज पाण्डेको प्यानलबाट एक सहसचिवबाहेक सबैले जीत हासिल गरेका छन्। देवदहमा पौडेल पक्षकै गुणखर भुर्तेलले नगर सभापति जिते। संस्थापन पक्षबाट तिलोत्तमामा हरिलाल पाण्डे, सिद्धार्थनगरमा कोसिस खड्का र सैनामैनामा रणबहादुर खनालको प्यानलले जितेको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा संस्थापन पक्षका मोहम्मह सइद खाँको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए।
मायादेवी गाउँपालिकामा भएको निर्वाचनमा पदम भण्डारीको प्यालन विजयी भएको छ। कञ्चन गाउँपालिकामा भएको निर्वाचनमा देवीराम रेग्मीको प्यानलले जीत हासिल गरेको छ। रोहिणी गाउँपालिकामा तारकनाथ योगीको प्यानल विजयी भयो। शुद्धोधन गाउँपालिकामा भएको निर्वाचनमा दामोदर पौडेल विजयी भए। उनीहरू सबै संस्थापन निकट हुन्।
गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतिया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरीसहित सबै टिम निर्विरोध निर्वाचित भए।
समरीमई गाउँपालिकामा आइतबार नेतृत्व चयन हुने काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए।