नाटक

को हुँ म ?

को हुँ म ?
+
-

जन्मँदै मान्छेले लिएर आउने पहिचान हो, फलानोको छोरा-छोरी। हुर्किँदै जाँदा उसका सम्बन्ध र परिचयहरु व्यक्तिअनुसारका बन्दै जान्छन्, दाइ-भाइ, दिदी-बहिनी, साथी, प्रेमी, अभिभावक आदि।

जन्म-मृत्युको चक्रमा केही समय बाँचेर मान्छे अनन्तमा विलय हुन्छ। मृत्युपछिको जीवन थाहा नभए पनि विभिन्न अड्कल वा आँकलनहरु गरिन्छन् संस्कारअनुसार। तर सीमित समय जीवित रहँदा उसले भोगेका, बाँचेका सम्बन्धहरुकै आधारमा उसको अस्तित्व निर्धारण गरिन्छ धर्तीमा।

के यही निर्धारित अस्तित्व नै व्यक्तिको परिचय हो त ?

सिनामंगलको ‘पुरानो घर’ नाटकघरमा प्रतिनिधि पात्र ‘म’ ले यही प्रश्नको जवाफ खोजिरहेछ। नाट्यकर्मी सुलक्षण भारतीको एकल प्रस्तुतिमा बनेको प्रयोगात्मक नाटक ‘म’ प्रस्तुत भइरहेको छ। असोज १ देखि प्रदर्शन सुरु भएको नाटक असोज २० गतेसम्म प्रदर्शन हुनेछ।

जीवन जिउने क्रममा हामी एउटा दौडमा हुन्छौँ। जसले मात्र अगाडि बढ्ने बाटो पहिल्याउँछ जहाँबाट हामी पछाडि फर्कन सक्दैनौँ। जीवनको यो यात्रामा भेटिने हरेक पात्रले हाम्रो आकृति कोरिदिन्छन्, तर के त्यो कोरिएको आकृति हाम्रो पहिचान हो त ?

‘मेरो नाम ‘प्रयास’ ले वास्तवमा संसार चलेकै थियो। तर अहँ प्रयास साधारण थिएन, उसले उसको जन्मसँगै उसलाई अपरिवर्तित झ्यालहरुले नियालिरहेको अनुभव गर्न पाएको थियो। अनेक आँखाहरुले भरिएको झ्याल’, कलाकार भारती भन्छन्, ‘हरेक झ्यालमा प्रयासका विभिन्न आकृति कोरिएका थिए। त्यही आकृतिबीच प्रयास उभिएको वर्षौं भयो। प्रयास, प्रयासको शरीर र प्रयासका शरीरभित्र रहेका अनेकौँ ममध्ये एउटा म प्रश्न गर्दैछ।’

भारतीले सरल भाषामा गहन प्रश्न गरिदिन्छन्, अनि दर्शक दिर्घामा बस्ने दर्शक घोत्लिन थाल्छन् आफू हुनुको अस्तित्व अनि आफ्नो पहिचानमाथि।

हुन पनि कुनै व्यक्ति को हो भन्ने कुरा केले निर्धारण गर्ने? ‘म’ पात्र कसैको ज्ञानी सन्तान हुन सक्छ, तर अज्ञानी विद्यार्थी। कसैको लागि दयालु हुन सक्छ, कसैको लागि राक्षस। एकैछिन अगाडि कसैसँग रिसाएको व्यक्ति अर्को व्यक्तिसँग खुलेर हाँस्न सक्छ।

त्यही मानिसले कसैलाई सहज परिस्थितिमा राखिदिन्छ भने अर्को व्यक्तिलाई अफ्ठेरोमा फसाइदिन सक्छ। एउटै मान्छेको यत्तिका गुणहरु हुन्छन्, जो घडीको सुई घुमेर फरक अंकमा पुगेजस्तै गरी बदलिन्छन्।

रंगमञ्चमा भावुक भएर चिच्चाइरहेको ‘म’ पात्रले अगाडि भन्छ, ‘यो विश्व रङ्गमञ्चमा तपाई र म अनेक चरित्र आफूभित्र बोकेर छेपारोले रंग फेरे जसरी मानिस, मानिस र परिस्थितिअनुसार चरित्र बदलिरहेका हुन्छौँ।’

भन्न त हामी अरुलाई नचिने पनि ‘आफूलाई चिन्छु’ भन्छौं। नाटकले भने आफू आफैसँग अपरिचित रहेको देखाउँछ।

अपरिचित ‘म’ लाई चिनाउनका लागि कलाकार भारतीले विभिन्न कथाहरुको टुक्रालाई जोड्दै सवा १ घन्टाको यात्रामा लैजान्छन्। ती हरेक कथाका पात्रहरुले दुई चरित्र बोकेका हुन्छन्।

चाहे त्यो सत्यमोहन जोशी लिखित सुनकेशरीका पात्र विक्रम शाही होस् या अदालतमा बहस गर्दै गरेको वकिल। विक्रम शाही जसले अपहरित प्रेमिका फिर्ता ल्याउन महायुद्ध लड्छ र कुरुप देखेर उनलाई तिरस्कार गर्छ। अनि वकिल जो मुद्दा जित्नको लागि विपक्षीलाई चरित्रहीनको संज्ञा दिन्छ।

यस्तै अरु कथाका पात्रहरु छन्, गन्तव्यमा पुग्न साथै हिँडेकी श्रीमतीको पीडा देख्न नसकी हत्या गर्ने श्रीमान्। समलिङ्गी पुरुषलाई गरिएको क्रूरतापूर्ण व्यवहार र उनको मृत्युले भावविह्वल भएका अस्पतालका सिइओ, महाकवि लक्ष्मीप्रसाद देवकोटा लिखित पागल कविता, अनि क्रान्तिकारी नेता जो क्रान्तिको भाषण गर्दागर्दै आफ्नै प्राणको आहुति दिएर जान्छ।

यी पात्र फरक फरक पात्र बाँचेको कलाकार सोचाईको गोलो घेराभित्र बन्द हुन्छ। जहाँ उसले कसैलाई ऊ को हो भनेर ‘अभिनय’ गर्नुपर्ने छैन।

उसको लागि त्यो गाेलार्द्ध कहिले छटपटीको केन्द्र हुन्छ तर कहिले सन्तुष्टि दिने ठाउँ। उसले त्यहाँ सन्तुलन पाउँछ। आफ्नो सहजताको घेरामा बसेको पात्रले बारम्बार सोच्छ,

म हो हुँ ?
म के हुँ?

सुलक्षण भारतीको लेखन र निर्देशनमा बनेको यो नाटक आफूले आफैलाई गरिने खोजी हो, जहाँ जटिल समाज अनि त्यसभित्रको व्यवहारका बीच रुमल्लिएको पात्र उभिएको छ।

त्यो पात्र तपाईं, म जो पनि हुन सक्छ। उसको आफैलाई खोज्ने यो व्यवहार र हाउभाउमा सामाजिक र भावनात्मक कारकतत्वहरु छन्। धेरै प्रयत्न गर्दा उसले आफैलाई चिन्न सकेको छैन, थाहा छैन चिन्छ कि चिन्दैन पनि। जीवन पनि यस्तै हो, खोजेको चिज पाउने नपाउने टुंगाे हुँदैन।

भारतीले आफूले गरेको विभिन्न नाटकका टुक्रे पात्रलाई ‘म’ मा उतारेका छन्। भिन्नभिन्न पात्रको सशक्त अभिनयले १ घण्टा १५ मिनेटको समयलाई बाँधेर राख्छ।

नाटकको सेट एकदमै मेहनत गरेर बनाइएको छ, यहाँ भिन्न भिन्न पात्रलाई देखाउन प्रयोग हुने कपडालाई सजावट र समयअनुसार कलाकारको अगाडि ल्याइन्छ। यो प्रयोग पनि राम्रो देखिएको छ। जीवन र मृत्यु नियाल्ने अपरिवर्तित झ्याल र हामीलाई हामी को हो भनेर चिनाउने समाजका पात्रका रुपमा ऐनालाई देखाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?