
आफ्नो भुँडी चर्के पछि खाउ भन्ने आए
खाए पछि उस्कै भजन गाउ भन्ने आए।।
आफ्नाले घुच्चा हाने कोखा दुख्यो अरे
कलेजोमा पार्यो ठूलो घाउ भन्ने आए।।
अर्काको पिठिउँ चढी माथि माथि पुग्दा
मौकामा लगाउँ जुँगामा ताउ भन्ने आए।।
बन्द व्यापार केही छैन नत बाउको धन
कालो दामको पोको पार्दै साहु भन्ने आए।।
बादल फाटे घाम लाग्लान् बेला बखतमा
च्याँखे थाप्दै बस्दा लाग्छ दाउ भन्ने आए।।
घिरिक घिरिक हुँदामा साथ मिलेन किन
बाटो तताइ भित्ता तिर जाउ भन्ने आए।।
नाता गोता पनि हैन गोरु बेच्या साइनो
अंश पाउने आसले गर्दा बाउ भन्ने आए।।
शान्तिसँग बसेकालाई तितर वितर पार्न
ख्याक जस्ता अनुहारका राहु भन्ने आए।।