
गण्डकी– गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरु गर्ने भएको छ। विश्वविद्यालयले आइतबारदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको हो।
नेपालमै पहिलोपटक खेलकुद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) र ब्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी (बिआइटी) विषयको पढाइ सुरु गर्नुअघि विश्वविद्यालयले पहिलो सत्रमा भर्ना भएका विद्यार्थीलाई उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रम शुभारम्भ गर्दै विश्वविद्यालय न्यायिक परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान सक्ने गरी जनशक्ति उत्पादन गरिने धारणा राखे।
‘नेपालको इतिहासमा पहिलोपटक विश्वविद्यालयमा यति ठूलो आकर्षण देखिनु हामी सबैका लागि गौरवको विषय हो’, उनले भने, ‘गण्डकी प्रदेशको विशिष्टतालाई ध्यान दिँदै कुनकुन मोडलमा अध्यापन गराउन सकिन्छ त्यसबारे विश्वविद्यालय गम्भीर भएर अगाडि बढ्नेछ।’
शिक्षाका माध्यमबाट मुलुकलाई नै परिवर्तन गर्न सकिने बताउँदै यसका लागि गण्डकी प्रदेश सरकारसँग अझै छलफल गरेर अघि बढ्ने अध्यक्ष देवकोटाको भनाइ थियो।
गण्डकी प्रदेशका मुख्य सचिव डा दामोदर रेग्मीले विश्वविद्यालय स्थापनाको सुरुवातमै स्नातक तहमा खेलकुद व्यवस्थापनको अध्ययन सुरु हुनु खुसीको विषय भएको बताए।
प्रदेशमा खेलकुद पर्यटनको सम्भावना रहेकाले पनि यो विषयमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्दै उनले प्रमाणपत्र भएकाभन्दा पनि व्यावसायिक जनशक्तिको आवश्यकता औंल्याए।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले प्रदेशको विशिष्टितालाई आत्मसात गर्दै प्रदेशको समृद्धिका लागि विश्वविद्यालयले आफ्ना योजना अघि बढाउने बताए।
हालका लागि दुई विषयमा अध्ययन शुरु गरिए पनि चाँडै नै बिफर्माको अध्यापन सुरु गरिने जानकारी दिँदै उपकुलपति प्रा डा नवराज देवकोटाले युरोप तथा अमेरिकाका ख्यातिप्राप्त विश्वविद्यालयसँग सम्झौता गरी विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको अध्ययन अध्यापनमा जोड्ने तयारी गरिरहेको बताए।
उक्त विश्वविद्यालयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ मा १६, व्याचलर्स इन इन्फरमेशन टेक्नोलोजीमा ३१ र विफर्मामा २० गरी ६७ विद्यार्थी भर्ना भएका छन्।