
बलेवा – कहिले कालिगण्डकी किनारमा माछाको खोजी त कहिले मजदुरीका लागि भौँतारिने गुमा माझीले शुक्रबार आफ्नै आँगनमा बाख्राको पाठी प्राप्त गरिन्।
माझी पोसाकमा सजिएकी उनको पोसाक र अनुहारमा चमक थियो। गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले उन्नत जातको बाख्राको पाठी बाँधेको दाम्लो गुमाको हातमा थमाउँदा उनी हर्षविभोर थिइन्। सबै चाँजोपाँजो मिलाएको थियो ‘लायन्स क्लब डिस्टिक ३२५ ‘बि वन’ले।
माछाको खोजी र मजदुरी गर्दाका जोखिम छलेर बाख्रापालन गर्ने गुमाको सोच छ। आम्दानीको स्रोत परिवर्तन गर्न पाउँदा उनी दंग छन्। अब उनका घरमा मात्रै होइन, बागलुङ नगरपालिका–१ कालिगण्डकी किनारमा रहेको माझी समुदाय सबै घरमा बाख्राका पाठी हुर्किनेछन्। बगाल बढ्नेछ, बागलुङ बजारले माझी बस्तीमा हुर्किएका खसीबोकाको स्वाद पाउनेछ।
कालिगण्डकी किनारका माझी सबैको पुख्र्याैली पेसा कालिगण्डकीको माछा मार्ने, बालुवामा सुन चाल्ने र मजदुरी गर्ने हो। यहाँका ती समुदाय अब उत्पादनसँग जोडिनेछन्। सत्र परिवार माझी कसैले मौरी पाल्ने त कसैले बाख्रा पाल्ने सोच बनाएका छन्। कुखुरा पाल्ने र तरकारी खेतीमा समेत माझी समुदाय लागेको स्थानीय कृष्ण माझीले जानकारी दिए।
सीप सिकेकालाई सिलाइकटाइको व्यवस्था हुनेछ। ‘लायन्सले नमुना गाउँ घोषणा गरेर सबै उद्यमका लागि सामग्री दिएको छ’, उनले भने, ‘यो हाम्रो समुदायका लागि सुखद सन्देश हो।’
लायन्स क्लब डिस्टिक ३२५ ‘बि वन’ले देशभरिका १४ गाउँलाई नमुना गाउँ घोषणा गर्दा यहाँको माझी बस्ती छनोट भएको थियो। उद्यम गाउँ बनाउने गरी माझी बस्तीको मागअनुसारका सामग्री, उपकरण र बीउ पुँजी उपलब्ध गराएको ‘माझी बस्ती नमुना गाउँ’ कार्यक्रमका संयोजक कुलचन्द्र शर्माले बताए। ‘अब माझीको संस्कृति र उत्पादनले बजार लिन्छ, यहाँ घरबास बन्छ, पर्यटकीय गाउँ बनाउँछौँ,’ शर्माले भने, ‘यो सुरुआत हो, नमुना गाउँ कार्यक्रमलाई स्थानीय र प्रदेश सरकारले पनि सहयोग गर्नेछन्।’
नमुना गाउँको गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले उद्घाटन गरे। ‘उद्यम गर्न इच्छा गर्नेलाई हामी सीप सिकाउँछौँ, तालिम दिन्छौँ, यो मेरो वाचा भयो,’ उनले भने, ‘बस्तीको योजना बनाउँदा लामो समय टिक्ने योजना बनाउनुपर्छ।’
उनले प्रदेश सरकारसँग स्रोत अभाव भएकाले सोचेजस्तो काम गर्न नसकेको बताए। ‘हिजो प्रतिपक्षमा रहँदा मैले नै अलोचना गरेको याद छ, योजनाअनुसार काम भएनन् भनेर, उनले भने, ‘हामी विकास गर्ने सोच बनाउँछौँ, ब्युरोक्रेसीको रुल फलो गर्दा कतिपय हामीले भनेका कामका लागि स्रोत नै नपुग्ने रहेछ।’
सबै परिवारका लागि मौरीका घार, १० परिवारका लागि बाख्राका पाठी, खुकुराका चल्ला, चार वटा सिलाइकटाइ मेसिन, पानी छान्ने फिल्टर, सरसफाइका सामग्री, बालबालिकाका लागि विद्यालय पोसाक, तरकारीखेतीका लागि यान्त्रिक हलो, सामूहिक कार्यका लागि भाँडावर्तन ‘लायन्स क्लब डिस्टिक ३२५ ‘बि वन’ले उपलब्ध गराएको छ।
आवश्यकताअनुसारका पूर्वाधार र उपकरण तथा सीप सहयोग गर्ने ‘लायन्स क्लब डिस्टिक ३२५ ‘बि वन’का अध्यक्ष विश्वेश्वर रेग्मीले बताए। पोखरा बागलुङ सडक निर्माणका क्रममा ०४८ सालमा विस्थापित भएका यहाँका माझी समुदायले तीन वर्षपहिले घर पाएका थिए।
बागलुङ नगरपालिकाले एकीकृत बस्ती निर्माण गरेर उनीहरूलाई घर उपलब्ध गराएको थियो। नगर प्रमुख जनकराज पौडेलले माझी समुदायको आर्थिक विकासका लागि नगरले पहल गर्ने जानकारी दिए।
ती समुदायले नमुना गाउँ घोषणा भएपछि दैनिकी बदलिने आशा व्यक्त गरेका छन्। उनीहरूले खोलामा माछा मार्ने पुख्र्याैली पेसालाई विकसित गर्न माछा पोखरी निर्माण गरिदिन सरोकार वालासँग मागसमेत गर्ने गरेका छन्।