दसैँमा मासुको जोहो- खसी काटेपछि बल्ल दसैँ आएजस्तो हुन्छ

+
-

काठमाडौँ– दसैँका लागि खसी लिन शनिबार काठमाडौँ तिनकुनेका प्रवेश बुढाथोकी थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी पुगे। उनले त्यहाँ आफ्नो परिवारलाई पुग्ने तौलको खसी खरिद गरे।

उनी हरेक वर्ष खाद्य संस्थानबाटै खसी किन्छन्।

‘बाहिरको तुलनामा यहाँ (खाद्य संस्थान) केही सस्तो हुन्छ जसका कारणले यहाँबाटै किन्छौँ’, उनले भने।

उनका अनुसार बाहिरको तुलनामा खसी प्रतिकेजीमा ८०/९० रुपैयाँ सस्तो हुन्छ। दसैं हिन्दु नेपालीहरुको महान चार्ड भएकाले यसबेला विशेष व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। उनका लागि दसैंमा घरमा खसी ढाल्नु विशेष हुन्छ।

प्रवेश बुढाथोकी।

‘मासु त हामी अक्सर खाइरहेका हुन्छौँ। खसी त जहिले घरमा काटिँदैन’, प्रवेश भन्छन्, ‘घरमै खसी काट्ने, सबै परिवारसँगै भएर दसैं मनाउनुको मजा पनि बेग्लै हुन्छ नि! दसैंमा इष्टमित्र पनि आउँछन्। मासु किनेर पनि पुग्दैन। किनेको मासु महँगो हुन्छ। त्यसैले खसी किनेर काट्ने, मासुको स्वाद पनि बेग्लै हुन्छ।’

प्रवेशको मात्र होइन, ललितपुरका नवीन खनाललाई पनि दसैंमा घरमै खसी काटेर रमाइलो गर्न मन पर्छ। त्यसैले उनी हरेक वर्ष खाद्य संस्थानबाट खसी खरिद गर्छन्। स्वास्थ्य सुरक्षाका हिसाबले खाद्य संस्थान भरपर्दो लाग्छ खनाललाई।

खसीलाई डोर्‍याउँदै गरेका खनालले भने, ‘दसैंको बेला त खसी काटेर खाने हो नि। अनि पो दसैंजस्तो लाग्छ। मासु त हामी जहिले खान्छौँ नि। आफ्नो छोरी चेली, आफन्त, दाजुभाइ बसेर दसैं मनाउनु रमाइलो हुन्छ। सबै भएका बेला खसी त खानै पर्‍यो। मासु पनि स्वादिष्ट हुन्छ।’

उनले थपे, ‘अरु बेला सबै सँगै बस्न कहाँ पाइन्छ। सबै आ–आफ्नो काममा व्यस्त हुन्छ। दसैं त हो परिवारलाई सँगै ल्याउने।’

नवीन खनाल।

उनका अनुसार खाद्य संस्थानमा बजारको तुलनामा सस्तो पनि छ। ‘म सधैँ यहाँ नै आउँछु।’

उनी मात्र होइन, उपत्यका विभिन्न ठाँउबाट मानिसहरु गाडी ल्याएर खसीबोका लिन आउँछन्। भक्तपुर सल्लाघारीका चुडामणि दाहाल पनि छोराका साथ खाद्य संस्थान पुगेका थिए। सरकारी सहुलियतको लाभ उठाउन खाद्य संस्थान पुगेको दाहाल बताउँछन्।

उनले फाममा गएर ७२ किलोको खसी ४६ हजार ८० रुपैयाँमा खरिद गरे। ‘वर्षमा एक खसी राम्रो खाने गर्छु’, दाहालले भने, ‘सबै आफन्त आउँछन्। र म मासु नि राम्रै खाने मान्छे हो। खसी नढाली दसैं रमाइलो नै हुँदैन नि!’

यस्तै उनले खाद्य संस्थानमा सस्तो हुने भएकाले भक्तपुरबाट आएको पनि सुनाए। ‘भक्तपुरमै खसीबोका राम्रो पाइन्छन्। तर धेरै महँगा छन् बाहिर’, उनले भने, ‘यहाँ सस्तो छ। राम्रो पनि छ।’

चुडामणि दाहाल।

तर उनले उपभोक्तालाई खसीबोका खरिदका लागि सहज वातावरण नबनाएको गुनासो गरे। ‘खाद्यले पोहोरभन्दा राम्रो गरेको र राम्रो खसी बोका ल्याएको छ। पोहोरभन्दा भाउ थोरै बढ्नु पर्नेमा एक सय रुपैयाँ बढेछ’, उनले भने, ‘ठिकै छ। तर कम्पनीले उपभोक्ताका लागि २/३ ठाँउमा नापतौलको व्यवस्था गर्नुपर्ने गरेको छैन।’ नापतौल पनि पारदर्शी नभएको उनको गुनासो छ।

तर खाद्य संस्थानका प्रादेशिक प्रमुख ज्ञानु थापाले आफूहरुले उपभोक्तालाई सहज वातावरण बनाउने सक्दो प्रयास गरेको दावी गरिन्। उनले भनिन्, ‘हामीले कोरोनालाई मध्यनजर गरेर सामाजिक दूरी, उपभोक्तामैत्री बनाउने भीडभाड नियन्त्रण गरिरहेका छौँ। तर यो दसैंको माहोलमा ध्यान दिँदादिँदै पनि भीडभाड हुन्छ। पोहोरभन्दा उपभोक्ताहरु पनि बढी छन्। खाद्य कम्पनीमा उपभोक्ताले गरेको विश्वासले हामीहरु खुसी पनि छौँ।’

उपभोक्ताहरुले डिजिटल व्यवस्था हुनुपर्ने पनि माग गरेका थिए। डिजिटल नापतौलको व्यवस्था पनि गरिएको उनले बताइन्। ‘डिजिटल तराजुमा खसीबोका राख्न मिलेन। राख्दा खसीबोका हल्लिने भएकाले तौलको मापन सही आएन’, उनले भनिन्, ‘यसको बेफाइदा पनि उपभोक्तालाई नै हुने भएकाले काटा नै प्रयोग गरिएको हो। हामीले बजारमा पनि अनुसन्धान गर्‍यौँ। हरेक ठाँउ काटा नै प्रयोग गरिएको छ।’

ज्ञानु थापा।

आफूहरुको चाहना पनि उपभोक्ता सन्तुष्ट भएर जाउन् भन्ने रहेको उनले बताइन्।

गत वर्ष कम्पनीले टोकन ‘सिस्टम’ बनाएको थियो। तर यसवर्ष भने देखिएन। थापाका अनुसार उपभोक्ताले आफूलाई मन पर्ने खसीबोका छानी–छानी लैजान सकुन् भनेर टोकन ‘सिस्टम’ नराखेको हो।

शनिबारबाट खाद्य संस्थानले खसीबोका बिक्री सुरु गरेको छ। ८ बजेदेखि बिक्री सुरु भएको ४ घण्टामा कम्पनीले ४ सय गोटा खसीबोका बिक्री गरिसकेको पनि उनले जानकारी दिइन्।

‘बिहानदेखि ११ बजेसम्म ४ सय गोटा बिक्री भइसकेको छ। दोस्रो सिफ्टमा पनि बेलुका ५ बजेसम्म काउन्टर सञ्चालन गरेर बिक्री गर्छौँ’, उनले भनिन्, ‘दिउँसो बिहानजस्तो बिक्री नहुन पनि सक्छ। उपभोक्तको चाप देख्दा ८ सयसम्म बिक्री हुन्छ जस्तो छ।’

आज बिहान हेटौँडा र दाङबाट एक हजार ५४ वटा खसीबोका आएका पनि उनले जानकारी दिइन्। अझै खसीबोका आइरहेको पनि उनले बताइन्।

खाद्य संस्थानले आजदेखि (शनिबार) देखि सुरु गरेर अष्टमीसम्म खसीबोका बिक्री गर्नेछ। तर यसवर्ष कम्पनीले च्याङग्रा बिक्री गरेको छैन। च्याङ्ग्रा महँगो भएकाले आफूहरुले नल्याएको पनि थापाले बताइन्।

यसपाली खाद्य संस्थानले खसीबोका प्रतिकेजी ६ सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ। खरिद गर्ने बेला नै महँगो भएकाले ६ सय ५० मूल्य निर्धारण गरिएको थापाले बताइन्।

‘पोहोर हामीले प्रतिकेजी ५ सय ५० रुपैयाँमा उपभोक्तालाई खसीबोका बिक्री गरेका थियौँ। यसपाली महँगो नै छ’, उनले भनिन्, ‘जसका कारण हामीले ६ सय ५० सम्म बिक्री गरिरहेका छौँ। त्यसमा १० रुपैयाँ छुट दिएर ६ सय ४० मा बिक्री गरिरहेका छौँ।’

यो मूल्य निर्धारण पनि बजारको एक हप्ता अनुगमन गरेर गरिएको पनि उनले बताइन्। बजारमा खसीबोका प्रतिकेजी ७ सय रुपैययाँ रहेको छ।
महँगीको मात्र होइन, खाद्य संस्थानले गुणस्तरको पनि ध्यान दिन्छ। देशका विभिन्न ठाँउबाट चौपाया आयात गर्दा कम्पनीले खरिद गर्ने ठाँउमै परीक्षण गरेरमात्र उपत्यका भित्र पठाउने थापाले बताइन्।

‘हामीले जुन कार्यालयमा पनि खरिद गछौँ। त्यहाँ प्राथमिक खरिद समिति हुन्छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समितिको बैठक हुन्छ। उहाँहरुले मूल्य निर्धारण हुन्छ। किसानलाई उचित मूल्य कायम गरेर खरिद कार्य सञ्चालन गछौँ’, उनले भनिन्, ‘त्यहाँ पशु चिकित्सकले चेक गरेर मात्र खरिद गछौँ। खरिद गरेको खसी बोकालाई पुनः पशु चिकित्सालयबाट चेकजाँद गरेपछि मात्र बिक्री गछौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?