
बलेवा– रोजगारीका लागि आएका दोलखाका कवि न्यौपाने दसैँ मान्न यो वर्ष काठमाडौँ जाँदै छन्। सिवाइसी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका न्यौपानेले दसैँ मान्न घर जानेबेला बाबुलाई सोध्नुभयो, ‘कोसेली के ल्याउँ बुबा?’ न्यौपानको प्रश्नमा बाबुको जवाफ आयो, ‘शालिग्राम पाइन्छ भने ल्याउनू, भाँगो र डल्ले खुर्सानी नभुल्नू है!’
बागलुङमा उत्पादन हुने भाँगोको अचार खाएका जो–कोही कोसेलीमा भाँगोकै आस गर्छन्। परिवारकै सल्लाहअनुसार कविले एक वर्षका लागि पुग्ने भाँगो खरिद गरेर झोलामा राखेको बताए। झोला भरिने गरी भाँगो र खुर्सानी कविले राखेका छन्।
‘बुबाको इच्छानुसार शालिग्राम खोज्न त भ्याइन तर कोसेलीमा भाँगो र डल्ले खुर्सानी लैजाँदै छु,’ न्यौपानेले भने, ‘यहाँको लोकल केरा पनि हामीले लैजान योग्य छ। काठमाडौँमा लोकल केरा देख्नै पाइँदैन।’
उनले बागलुङको ताराखोला र ढोरपाटनमा फलेको आलु पनि कोसेली हुन सक्ने बताए। ‘हाम्रो घरमा दोलखाको आलु आउने भएकाले मैले नलाने भएँ तर यहाँको अर्गानिक आलु कोसेली गज्जब हुन्छ,’ उनले भने, ‘डल्ले खुर्सानी अन्तको पनि खाएको छु तर यहाँको स्वाद बिर्सिन नसक्नु भएर ३ किलो हिँडाए।’
चार दिनको कामका लागि बागलुङ आएका चितवनका प्रेमनाथ वाग्लेलाई परिवारले घरबाट निस्कने बेला बागलुङको भाँगो ल्याउनू भनेका थिए। शनिबार काम सकेर घर फर्किंदै गरेका वाग्लेले पनि कोसेलीमा भाँगो र स्थानीय जातको केरा तयार पारेको बताए।
‘अरु त यहाँको अर्गानिक जे पाइन्छ त्यही लैजाने हो, दसैँको बेला छ भाँगो र केरा त तयार गरिसकेँ,’ उनले भने, ‘केन्द्रीय बचत तथा ऋण सहकारी संघका वरिष्ठ कार्यक्रम अधिकृत वाग्ले बेला–बेलामा बागलुङ आउँदा कोसेलीमा भाँगो लैजान छुटाउनुहुन्न।’
आलु र खुर्सानी पनि वाग्लेको झोलामा प्याक भइसके। ‘यहाँ आएर फर्किंदा बागलुङमै फलेको खानेकुरा कोसेली आओस् भन्ने परिवारको आस हुन्छ, बजारमा सजिलै पाइने वस्तु नै हामीले लाने हो’, वाग्लले भने।
मुस्ताङको सिमीको दाल पनि बागलुङबाट बाहिरिनेको कोसेली हुने गरेको छ। सीप विकास तालिम केन्द्र पर्वतमा काम गर्ने बीना शर्मा दसैँ मान्न काठमाडाँै जाँदै छिन्। वर्षमा एकपटक घर जाँदा शर्माले कोसेली लैजाने भाँगो बागलुङबाट पर्वत मगाएकी छन्। उनले ताराखोले आलु र मुस्ताङको स्याउ कोसेलीमा लैजाँदै छिन्। दसैँ सुरु भएयता बागलुङ बजारमा भाँगो, केरा, आलु र खुर्सानी खोज्ने धेरै देखिन थालेका छन्।
‘पहिलेभन्दा बढी भाँगोको खोजी भइरहेको छ, मेरो पसलमा राखेको दुई बोरा भाँगो सकियो, ताराखोलाको आलु त पु¥याउनै सकिएन,’ आचार्य किरानाका सञ्चालक टंक आचार्यले भने, ‘जिल्ला बाहिर जाने धेरैले गाउँमा फलेको के छ भनेर सोध्छन्।’
बागलुङ बजारमा भाँगो प्रतिकिलो ४ सय रुपैयाँमा बिक्री हुने गर्छ। स्थानीय जातको केरा १२० रुपैयाँ दर्जन, हरियो डल्ले खुर्सानी सय रुपैयाँ किलो र ताराखोला, ढोरपाटनको आलु ७५ देखि सय रुपैयाँसम्म पर्छ।
बागलुङमा यी उत्पादनको लेबल भने बनेको छैन। त्यसैले उपभोक्ताले खुला रूपमै लैजाने गरेका छन्। जाने–बुझेकाले खुला लैजान मन पराए पनि सबैलाई चिनाउन भने प्याकिङ आकर्षक चाहिने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए।
‘हामीले पनि चासो राखेकै छौँ तर आकर्षक प्याक र लेबलका लागि घरेलुलगायत संस्थाले तालिम दिन सके राम्रो हुन्थ्यो’, उनले भने। लेबल बनाएमा किसानले उत्पादन गरेका सामान मूल्य अझै बढाएर बेच्न सक्ने उनको भनाइ छ। मूल्यमा एकरुपता र बागलुङको चिनारी आवश्यक रहेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए।