
काठमाडौँ– आइतबार रातिदेखिको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ।
मनसुन बाहिरिँदै गर्दा बंगालको खाडीमा उत्पन्न भएको न्यून चापिय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमी क्षेत्रमा बढी परेको हो।
नेपालको पश्चिम क्षेत्रमा यसवर्ष बढी वर्षा हुनुको साथै हावा हुरी पनि आएको छ। वर्षाले थन्काउने बेलाको धान नै पानीले डुबाएको छ।
एकदुई दिनमै धान भित्र्याउने बेलामा वर्षाले धानबाली नष्ट गरेपछि किसानहरु वर्ष दिनसम्म के खाने भन्ने चिन्तामा डुबेका छन्। उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले देशका सुदूरपश्चिम, कर्णाली र गण्डकीमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

म्याग्दीको बेनी नगरपालिका-२, रत्नेचौरस्थित फाँटमा आइतबार रातिदेखि निरन्तर परेको पानीसँगैको हावाहुरीले ढालेको धानबाली। तस्बिरः ध्रुवसागर शर्मा/रासस
काठमाडौँ उपत्यकामा आइतबार रातिदेखि नै मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ। यो क्रम मंगलबारसम्म पनि जारी रहने महाशाखाले जनाएको छ।
मनसुन सकिने बेला बाढीपहिरो आउने गरी वर्षा हुनुलाई विज्ञहरुले जलवायु परिवर्तनको असर भनेका छन्। मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने विज्ञहरुले बताएका छन्।
जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले मनसुनपछि हुने वर्षाले धेरै क्षति गर्ने बताए। उनले भने, ‘यो खतरनाक किन हुन्छ भने मान्छेले मनसुन गइसक्यो भनेर बुझ्छ। अनि मुभमेण्ट बढाउँछ। त्यो मुभमेण्ट बढ्दा यस्तो नयाँ सिस्टम विकसित हुन्छ। त्यो नयाँ सिस्टमको प्रभाव मान्छेको आँकलनभन्दा बाहिर गएर आउने भएकाले हानी नोक्सानी बढी गर्ने र बढी गरिरहेको अवस्था पनि छ।’

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ स्थित चेथरीमा आइतबारदेखि निरन्तर परेको पानी र हावाले ढालेको धानबाली। तस्बिरः युवराज पाण्डे/रासस
यसवर्षको मनसुन जुन ११ मा सुरु भएर अक्टोबर ११ मा बाहिरिएको थियो। सेप्टेक्बर २३ मा मनसुन बाहिरीनु पर्ने भएपनि केही वर्षदेखि सिप्ट भइरहेकाले नेपालले अक्टोबर २ लाई मनसुन बाहिरिने मिति तोकेको छ।
तर एक साता बढी ढिला गरी नेपालबाट मनसुन बाहिरिएको थियो। मनसुन बाहिरिने प्रक्रियासँगै बंगालको खाडीमा न्यून चापिय अवस्था सिर्जना हुनु र अफगानिस्तानमा विकसित पश्चिमी वायुको प्रभावका कारण मनसुन सकिएपछि पनि वर्षा भएको विज्ञ उप्रेतीले बताए।
छिमेकी राष्ट्र भारतले उत्तरप्रदेश र उत्तराखण्ड राज्यमा रेड अर्लट जारी गरिसकेको छ। त्यहाँ दुई सय मिलिमिटरभन्दा बढी वर्षा हुने आँकल गरिएको छ।
यस्तै नेपालको पश्चिम क्षेत्र डडेल्धुरामा गत २४ घण्टामा १ सय ७९ लिटर मिलिमिटर वर्षा भइसकेको छ। यो भारतको आँकडासँग मिल्दोजुल्दो छ। यो अवस्था जलवायु परिवर्तनको असरसँग जोडिने विज्ञ उप्रेतीले बताए।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिक–१, वन्साहमा लगातारको वर्षाले बगाएको धानबाल । खेतमा काटेको धानबाली पानीले बगाउँदा किसानले क्षति व्यहोरेका छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
नेपाल सरकारसँग मौसम जन्य विपद्को पूर्वसूचना चुस्तदुरुस्त नभएका कारण यस्ता वेमौसमी वर्षा लगायतका विपद्को क्षति न्यूनिकरण गर्न नसकिएको उनले बताए। उनले सूचना प्रणालीलाई सरकारले नै उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
जलवायुजन्य विपद्का घटना र पूर्वतयारी तथा क्षति न्यूनिकरणका लागि अपनाउनुपर्ने सर्तकता लगायत विषयमा अन्तरदेशीय सूचना सञ्चार बढी प्रभावकारी हुने गरेको उनले उल्लेख गरे। तर अन्तरदेशीय सूचना सञ्चार प्रभावकारी हुन नसक्दा पनि विपद्पूर्वको सूचना प्राप्ति चुनौतिपूर्ण बनेको उनले बताए।
डाक्टर उप्रेती अन्तरदेशीय सूचना सञ्चारमाथिको पहुँच विस्तारमा राजनीतिक तहमा नै प्रयास गरिनुपर्ने तर्क गर्छन्।
उनले भने, ‘भोटेकोशीको माथि जलाधार क्षेत्रमा बाढी आयो भने चाइनाले एउटा चिठी दिन्छ। यहाँ धेरै पानी परेको छ। तपाईंहरु सर्तक रहनुहोस्। भारतमा एकदमै कम्प्रिहेन्सीप सिस्टम छ। अहिलेको वर्षाबारे भारतले विभिन्न क्षेत्रमा रेड अर्लड नै जारी गर्यो। तर त्यो सूचना नेपालले पाएको अवस्था छैन। त्यो सूचना नेपालले पनि पाएको भए नेपालले आफ्नो समुदायमा सञ्चार तथा परिचालन गर्न सक्थ्यो। त्यो चुनौती हामीकहाँ छ। त्यसैले नेपालले भारत र चीनसँग अहिले राख्नुपर्ने विषय भनेको नै अन्तरदेशीय सूचना कसरी पाउने भन्ने नै हो। यो राजनीतिक तहबाटै गरिनुपर्छ।’