
गलेश्वर – आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण बेनी–जोमसोमलगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध भएका छन्। वर्षाका कारण पहिरो र हिलोले बेनी–जोमसोम सडकखण्डको काभ्रेभीरमा सवारी साधन वारपार गर्न नसक्दा मुस्ताङ भ्रमणमा जान लागेका र मुस्ताङबाट फर्कंदै गरेका यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
म्याग्दीलगायत धौलागिरि क्षेत्रमा अहिलेसम्म पनि भीषण वर्षा भइरहेको छ। वर्षासँगैको हुरी बतासले यस क्षेत्रमा लगाइएको धानबाली, तरकारी र फलफूलबालीमा समेत क्षति पुर्याएपछि कृषकसमेत चिन्तित बनेका छन्।
त्यसैगरी, ग्रामीण सडक अवरुद्ध हुँदा दसैँ मनाएर आफ्नो कार्यक्षेत्रमा फर्कँदै गरेका मानिस ठूलो समस्यामा परेका छन्। गाडी गुड्ने सडकमा खोला बगेको छ। बेनी–बगरफाँट–भकिम्ली सडकको बांगेघरा क्षेत्रमा सडकमै पोखरी बनेपछि साना सवारी साधनसमेत चल्न नसकेको स्थानीय राजकुमार सुवेदीले जानकारी दिए।
पहिरो र हिलोेका कारण बेनी–दरवाङ, बेनी–मालढुंगा, बेनी–बागलुङ सडकखण्डमा पनि सवारी चलाउन कठिन भएको बेनी–दरवाङ सडकखण्डका सवारी चालक सूर्यबहादुर हुमेनले बताए।
‘ठूला सवारी साधन बल्लबल्ल तातोपानी कटेका छन्, ट्याक्सी जान नसेकेका कारण सिंगाबाट फर्काएर बेनी ल्याएँ,’ उनले भने। यसैगरी, म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात हुन थालेको छ। म्याग्दीको गुर्जा, सोलेको धुरी, रुम, घोडेपानीलगायत क्षेत्रमा हिमपात सुरु भएको स्थानीयले बताएका छन्।
जिल्लाको उपल्लो भेगमा अचानक जाडो बढेपछि वृद्धवृद्धा र पशुचौपायालाई समस्या उत्पन्न भएको छ। ज्येष्ठ नागरिक घरबाट बाहिर निस्कन सकेका छैनन्। उनीहरू घरभित्रै आगो बालेर बसेका रुमका टेकबहादुर घर्तीले जानकारी दिए। जिल्लाका तल्लो भेगमा लगाइएको धानबाली वर्षासँगैको हुरी बतासले ढालेर कामै नलाग्ने बनाइदिएपछि कृषक चिन्तित भएका छन्।