
पोखरा– कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा आन्तरिक पर्यटकले चहलपहल बढेको छ।
सरकारले निषेधाज्ञा खुला गरेसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो। पोखराको मौसम पनि यतिबेला निकै खुलेको छ।
माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमशृंखलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाएका छन्।
दसँै–तिहारका बेला प्रायः भरिभराउ हुने लेकसाइड र आसपासका क्षेत्रमा लामो समयपछि आन्तरिक पर्यटकको चलहपहल देखिन थालेको पोखरा जाभा कफी हाउसका सञ्चालक एकराज न्यौपानेले बताए।
‘लामो समयपछि दसैँ तिहारको समयमा लेकसाइडको सडकमा चहलपहल देखिएको छ। विदेशी पाहुना नदेखिए पनि आन्तरिक पाहुनाको आगमनले केही उत्साह थपेको छ,’ उनले भने, ‘पर्यटन पुनरुत्थानका लागि सरकारले ल्याएको कर्मचारी लक्षित ‘पेड होलिडे’लाई पूर्णरुपमा कार्यान्वयन गर्न सके आन्तरिक पर्यटनबाट पनि पर्यटन क्षेत्रले गति लिन सक्छ।’
लेकसाइड हल्लनचोकमा वन स्टप ट्रेकिङ इक्विपमेन्ट सपका सञ्चालक प्रमोद भण्डारीले पनि सुस्ताएको व्यवसायमा आन्तरिक पर्यटकको आगमनले केही आशा पलाएको प्रतिक्रिया दिए। ‘हामीले विदेशी ग्राहक नदेखेको लामो समय भयो यतिबेला ट्रेकिङ जाने आन्तरिक पर्यटकका कारण पनि केही राहत मिलेको छ,’ उनले भने।
हल्लनचोकस्थित होटेल दिदीका सञ्चालका विष्णु गुरुङले पोखरा आसपास र पदयात्रामा जाने आन्तरिक पाहुनाको आगमन राम्रो भएको बताए। पछिल्लो समय नेपालीहरूमा पनि घुम्ने, डुल्ने संस्कृति विकास हुँदै गएको उनको भनाइ छ।
उनका अनुसार अधिकांश पाहुना पोखराको प्रमुख पर्यटकीय गन्तव्यसँगै घान्द्रुक, मर्दी ट्रेक, अन्नपूर्ण बेसक्याम्प, अस्ट्रेलियन क्याम्पतिर छोटो तथा लामो दूरीका पाहुनाको आगमन भएको जानकारी दिए। मोटरेबल बाटोले प्रसिद्ध पदमार्ग विस्थापित हुँदै गएको र पदयात्रामा आउने पर्यटकको बसाइ छोटिँदै गएको प्रति उनले चिन्ता व्यक्त गरे।
होटल भिजिटर्स इनका सञ्चालक शर्मिला न्यौपानेले पनि कोभिड–१९ विरुद्ध खोपको सहजता र निषेधाज्ञा खुकुलोसँग यतिबेला लेकसाइडमा पाहुनाको चहलपहल राम्रो रहेको बताए। ‘पर्यटकका लागि यो उपयुक्त सिजन हो, दसैँ तिहारको समयमा आन्तरिक पाहुनाको आगमन कोभिडअगाडि पनि राम्रै हुने गर्थ्यो तर, कोभिडपछि भने अहिले राम्रो देखिएको छ,’ उनले भने, ‘दसैँलगत्तै परेको झरीले गर्दा मुस्ताङ जाने पर्यटक भने केही घटेका छन्।’
सरकारले विदेशी पर्यटकका लागि आगमन सहज गराएसँगै विस्तारै बाह्य पर्यटकको पनि आगमन बढ्ने सक्ने उनको विश्वास छ।
पश्चिमाञ्चल होटल एसोसिएसन (हान)का केन्द्रीय सदस्य भरत पराजुलीका अनुसार अहिले पोखरामा सात सय पर्यटकीय होटल सञ्चालनमा छन्। कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा गति लिन अझै केही वर्ष लाग्ने भए पनि आन्तरिक पर्यटकको आगमनले यस क्षेत्रलाई केही राहत मिलेको उनको भनाइ छ।
‘करोडौँको लगानी छ, तसर्थ बाह्य पर्यटक नआएसम्म व्यावसायिक गति लिन गाह्रै होला तर अहिले सुनसान रहेको अवस्थामा आन्तरिक पर्यटकको आगमनले भने पक्कै उत्साह थपेको छ’, उनले भने, ‘पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र व्यवसायीलाई पूर्ण खोपको सुनिश्चितताको आवश्यकता छ।’ पर्यटन क्षेत्रको विकासका लागि राज्यस्तरबाटै नीतिगत रूपमै पर्यटन पुनरुत्थानका विशेष कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी पर्यटन क्षेत्रले कोभिडका कारण निकै कठिन समय गुजारिसकेको जनाउँदै अब विस्तारै लयमा आउने विश्वास व्यक्त गरे। उनले भने, ‘हालै पोखरामा ११ देशका कूटनीतिज्ञको भ्रमणले पोखराको पर्यटनमा सकारात्मक सन्देश गएको छ। अब पर्यटन पुनरुत्थाको कार्यक्रममा जोड दिनुपर्छ।’
खोपको सहजतासँगै अब मानिसले ‘रिफ्रेसमेन्ट’ खोजिरहेको जनाउँदै उनले पर्यटकीय गतिविधिले पर्यटन क्षेत्रलाई विस्तारै चलायमान बनाउँदै लैजाने बताए।
उनले पोखरामा फेवाताललगायत आसपासका पर्यटकीय गाउँ र ट्रेकिङ क्षेत्रमा आन्तरिक पाहुनाको आगमन राम्रो भएको उल्लेख गरे।
पर्यटकको आगमनसँगै पोखराको फेवातालमा डुंगा शयर गरी बाराही मन्दिर दर्शन गर्नेको संख्या पनि बढेको डुंगा सञ्चालक समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए।
उनका अनुसार अहिले दैनिक डेढ सयदेखि दुई सय डुंगा चलिरहेका छन्। फेवातालमा सात सय ७५ वटा डुंगा छन्।
त्यसैगरी, साहसिक खेलका रूपमा रहेको प्याराग्लाइडिङ, बञ्जी जम्प, जिप प्लायर, अल्ट्रालाइड उडानमा पनि आन्तरिक पाहुना रमाइरहेको पाइन्छ।
पोखराका पर्यटन सम्बद्ध संघसंस्थाले पनि आन्तरिक पर्यटन पुनरुत्थानका लागि सरोकारवालासँग अन्तरक्रिया एवं अन्तरप्रदेश भ्रमणका कार्यक्रमलाई पनि जोड दिँदै आएका छन्। –जमुना वर्षा शर्मा/रासस