
काठमाडौँ – वैदेशिक रोजगारीका लागि हाल १७२ देशमा नेपाली पुगेको पाइएको छ। सरकारले विभिन्न ११० मुलुकमा जान अनुमति दिएको भए पनि अवैध तरीकाबाट प्रतिबन्धित देशमा नेपाली कामदार पुगेका छन्।
रोटरी क्लब अफ काठमाडौँ वेस्टले आइतबार यहाँ आयोजना गरेको ‘जनगणनासम्बन्धी सचेतना कार्यक्रम’ मा लैंगिक समानता तथा समावेशीकरणविद् सरु जोशीले गैरकानुनी रुपमा विदेश पुगेका नेपालीलाई पनि जनगणनामा छुटाउन नहुने बताइन्।
मुलुकको पुनर्संरचनापछि हुन लागेको जनगणनामा सत्यतथ्यसहितको सूचना उपलब्ध गराउन सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाबीच आपसी समन्वय नभएमा तथ्याङ्क हराउनसक्ने बताउँदै अधिकारकर्मी जोशीले गैरसरकारी सङ्घ–संस्थाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
समाजवादी प्रेस सङ्गठनका संयोजक शम्भु श्रेष्ठले गणनामा मुलुकमा भएका सबै पक्षको सही सूचना प्राप्त हुनसकेमा त्यसका आधारमा राष्ट्र निर्माणमा नीति नियम तर्जुमा गर्न सहयोग पुग्नेमा जोड दिए।
रोजगारीका सिलसिलामा भारतमा गएका नेपालीको सही तथ्याङ्क प्राप्त हुन नसकेकाले त्यसलाई कसरी गणनामा समावेश गर्ने, आत्महत्या गर्ने समूह र दुर्घटनामा परेकाको तथ्याङ्क पनि गणनामा छुटाउन नहुने सुझाव सहभागीले दिएका थिए।
नेपाली पोलिसी इन्स्टिच्युटको बोर्ड सदस्यसमेत रहेकी अधिकारकर्मी जोशीले यस किसिमको सचेतना कार्यक्रमअन्तर्गत विभिन्न २० स्थानमा प्रस्तुति गरेकी छन्। उक्त इन्स्टिच्युटले सरकारी प्रतिनिधि, केन्द्रीय तथ्याङ्क विभागसहित सरोकारवाला पक्षसँग समेत छलफल गर्ने कार्यक्रम छ। जन्म दर्ता, मातृमृत्युदरलगायत विषय यसपटक गणनामा संलग्न गराउन लागिएको बताइएको छ।