
लन्डन – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी गर्न अत्यन्तै राम्रो वातावरण रहेको बताएका छन्। विशेषगरी क्लिन इनर्जीको क्षेत्रमा लगानी गर्नका लागि नेपाल सबैभन्दा राम्रो गन्तव्य रहेको उनको भनाइ छ।
स्कटल्यान्डको ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप–२६) मा सहभागी हुन बेलायत आएका प्रधानमन्त्रीले लन्डनमा पत्रकारसँग नेपालको लगानीमैत्री वातावरणबारे प्रस्ट्याएका हुन्।
वातावरणमैत्री हाइड्रोपावरमा लगानी गर्न नेपाल सबैभन्दा उचित स्थान भएको जानकारी दिँदै उनले गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्तासमक्ष निश्चिन्त भएर लगानी गर्न आह्वान पनि गरेका थिए।
पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जलविद्युत्लगायत क्लिन इनर्जीको प्रयोग गरेर दिगो विकासमा टेवा पुर्याउनुपर्ने पनि उनले बताए।
‘इच्छुक लगानीकर्ताका लागि नेपालमा लगानीको वातावरण अत्यन्तै राम्रो छ। जलविद्युत्को उत्पादन तथा प्रयोग बढाउँदै अब ऊर्जाका लागि क्लिन इनर्जीको प्रयोग गर्नुपर्छ। इलेक्ट्रिक कारको प्रयोगलाई प्रोत्साहन गर्छाैं, खाना पकाउनका लागि पनि ग्यासको सट्टा बिजुलीकै प्रयोग गर्दै जानुपर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा हाइड्रोपावरमा लगानी गर्न सबैलाई स्वागत छ। एनआरएन वा विदेशी लगानीकर्ता जो आउनुभए पनि लगानीको सुरक्षाको सुनिश्चित गर्ने प्रतिबद्धता गर्दछु।’
देशमा स्थायी सरकार नहुँदा लगानीकर्ता निश्चिन्त भएर लगानी गर्न नसकेको भन्ने जिज्ञासामा प्रधानमन्त्री देउवाले लगानीको सुरक्षाको सुनिश्चितता सरकारले नभएर कानुनले गर्ने बताएका थिए।
‘गैरआवासीय नेपाली वा वैदेशिक लगानीकर्ता जोसुकै नेपालमा लगानी गर्न आउनुस्, सुरक्षाको ग्यारेन्टी हुनेछ। लगानीको सुरक्षा हुने वातावरण सरकारले होइन, कानुनले बनाउने हो। लगानीकर्ता निश्चिन्त हुन सक्ने बलियो कानुन हामीले बनाएका छौं। जुनसुकै सरकार रहोस् लगानीको सुरक्षा हुने ग्यारेन्टी त्यही कानुनले गर्छ,’ देउवाले भने।
लन्डनस्थित नेपाली दूतावासमा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकारसँग प्रधानमन्त्री देउवाले आन्दोलनरत गोर्खा सैनिकप्रति सद्भाव पनि व्यक्त गरेका थिए।
विश्वयुद्धमा शत्रुसँग लडेका गोर्खा सैनिक हाल आफ्नै अधिकारका लागि लडिरहनुपरेकोमा खेद व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आन्दोलनमा ऐक्यबद्धता पनि प्रकट गरेका थिए।
यस्तै, विदेशमा बसेर पनि गैरआवासीय नेपालीले नेपालप्रति देखाएको असीम मायाका लागि प्रधानमन्त्री देउवाले आभारसमेत व्यक्त गरेका छन्। साथै, नेपालको नागरिकता लिन चाहने गैरआवासीय नेपालीलाई सहजीकरण गर्ने पनि उनले बताए।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल कोप–२६ सम्मेलनमा सहभागी भएर कात्तिक १७ गते नेपाल फर्कने कार्यक्रम छ।