
भक्तपुर – नेपाली कांग्रेस भक्तपुरको क्षेत्र नं २ को सभापतिमा भेषबहादुर कार्की विजयी भएका छन्। कांग्रेस संस्थापनइतरका कार्कीले संस्थापनका उम्मेदवार विदुरमानसिंह बस्नेतलाई हराउँदै क्षेत्रीय सभापति निर्वाचित भएका हुन्। बुधबार बिहान सकिएको मत परिणामअनुसार विजयी कार्कीले ३६० मत ल्याउँदा उनका प्रतिस्पर्धी बस्नेतले २३८ मत पाए।
क्षेत्र नं २ मा एकजना कार्यसमिति सदस्य विजेन्द्र प्रजापतिबाहेक सबै कार्की प्यानलबाट विजयी भएका छन्। अजसअनुसार क्षेत्रीय सचिवमा ईश्वर खड्का र सविन ढुङ्गेल, सहसचिवमा सुसन प्रजापति र मीना चित्रकार श्रेष्ठ विजयी भएका छन्।
सदस्यमा रीना महर्जन, बाबुकाजी डङ्गोल, वीरजी श्रेष्ठ, धर्मभक्त श्रेष्ठ, मधु श्रेष्ठ, हरिभक्त हेक्का, दुर्गा न्यौपाने, प्रल्हाद कार्की र अचुत केसी विजयी भएका छन्।
महाधिवेशन प्रतिनिधिमा मिश्रित परिणाम
क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचनमा भने मिश्रित परिणाम आएको छ। महाधिवेशन प्रतिनिधिमध्ये क्षेत्रीय सभापति जितेको संस्थापनइतर पक्षबाट बहुमत निर्वाचित हुँदा संस्थापन पक्षका ५ जना चुनिए। संस्थापन पक्षबाट वर्तमान जिल्ला सभापति दुलर्भ थापासँगै कांग्रेस केन्द्रीय सदस्य रमा कोइराला पौडेल, निवर्तमान क्षेत्रीय सभापति नारायणभक्त खायमली, मध्यपुर थिमि नपाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठ र पूर्वउपप्रमुख मुरारीप्रसाद आचार्य र सूर्यविनायक नपाका मेयर उम्मेदवार विष्णुराज कार्की निर्वाचित भए।
कांग्रेस पूर्वकेन्द्रीय सदस्य भट्टराई र वरिष्ठ पत्रकार राणा महाधिवेशन प्रतिनिधि बन्न सकेनन्
संस्थापन पक्षबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका पूर्वकेन्द्रीय सदस्य मनमोहन भट्टराई र कांग्रेस समर्थित पत्रिका देशान्तरका प्रधान सम्पादक वरिष्ठ पत्रकार कविर राणा र अर्का वरिष्ठ पत्रकार माधवरसिंह बस्नेत पराजित भएका छन्। वरिष्ठ पत्रकार राणा क्षेत्रीय अधिवेशनअगाडिसम्म संस्थापनइतर पक्षमा थिए।
पालिका अधिवेशनअन्तर्गत सूर्यविनायक नपाको सभापतिमा भाइ रवि राणालाई हराएको रिसमा उनले क्षेत्रीय अधिवेशनको पूर्वसन्ध्यामा क्याम्प चेञ्ज गरेका थिए। संस्थापनइतरको नयाँ समीकरण बनाउन भूमिका खेलेका राणाले क्याम्प चेञ्ज गरेर क्षेत्र नं २ मा आफ्नो पक्षीय विदुरमानसिंह बस्नेतलाई उम्मेदवारी दिलाउन सफल भएका थिए तर दुर्भाग्य सूर्यविनायक नगर अधिवेशनमा भाइ पराजित भएजस्तै क्षेत्रीय अधिवेशनमा पनि उनी पक्षीय उम्मेदवार पछि परे। साथै क्षेत्रीय अधिवशेनबाट महाधिवेशन प्रतिनिधिमा आफूसमेत पराजित भए वरिष्ठ पत्रकार राणा। उनी जिल्ला सभापतिका आकांक्षीसमेत थिए।
क्षेत्र नं २ को अधिवेशनबाट संस्थापनइतरका पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, जिल्ला सभापति उम्मेदवार अष्टकुमार कवे, जिल्ला सचिव उद्धव सिलवाल, राजनकाजी त्वाती, सन्तोष भट्टराई, मध्यपुर थिमि नपाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य र कमला कर्माचार्य विजयी भएका छन्।
त्यस्तै ज्ञानदास प्रजापति, दिलकृष्ण प्रजापति, रामकाजी चक्रधर, सङ्गीता थापा, सुमित्रा सापकोटा, अचुतप्रसाद मिश्र, लछुराम न्यौपाने, उमेश खड्का पूर्ण नेपाली बिसुङ्के, कसबहादुर कोजु, नारायणदेवी जाकिबञ्जार, मिठाराम न्यौपाने, मनिराज थापा, हीरा श्रेष्ठ, राजभक्त श्रेष्ठ तथा राजेश श्रेष्ठ महाधिवेशनमा निर्वाचित भएका छन्।
संस्थापनइतर पक्षबाट पूर्वजिल्ला सभापति महेश श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा पराजित भए।
भक्तपुर क्षेत्र नं १ मा भने पार्टी सभापति शेरबहादुर देउवा पक्षीय जीवन खत्री निर्वाचित भएका छन्। यससँगै भक्तपुरमा संस्थापन पक्ष र संस्थापनइतर पक्षले पालिका, प्रदेश र क्षेत्रमा आधाआधा शक्ति देखाएका छन्।