
भक्तपुर – नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ मा भएको चुनावमा एकपक्षीय मतगणना भएको भन्दै पुनः मतदानको माग गरिएको छ। संस्थापनइतरले प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रीय समितिको निर्वाचनमा संस्थापन समूहले एकपक्षीय रुपमा मतगणना गरेको आरोप लगाएको हो।
विज्ञप्तिमा उल्लेख भएअनुसार पार्टीका जिल्ला सभापति दुर्लभ थापा र बागमती प्रदेश भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेलले मतपत्र नै साटेको आरोप लगाइएको छ। तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थका अनुसार जिल्ला सभापति थापाले चाँगुनारायण प्रदेशसभाका नवनिर्वाचित सभापति जयन्द्र खड्का र रवीन्द्र प्रधानको गलत कामलाई साथ दिएको र क्षेत्रीय अधिवेशनपछि मतगणना सुरु हुँदा पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भँडेलको नेतृत्वमा केही युवाले होहल्ला गरेर मतगणना गर्न दिएका थिएनन्।
जिल्ला सभापति थापा र मन्त्री भँडेल केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवा र कायस्थ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका हुन्। साथै भक्तपुर क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिका उम्मेदवार रहेका उद्धव खड्काले मतगणना बहिष्कार गर्दै पुनः मतदानको माग गरेका छन्।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘मत गणनास्थलमा होहल्ला, नाराबाजी र झडप हुने स्थिति सिर्जना भएपछि भोलिपल्ट बिहान बुधबार पुनः मतगणना गर्न माग गरेका थियौँ। मतदान अधिकृतलाई मौखिक रुपमा आग्रह गरी पछि दर्जनौँ पटक फोन गर्दा पनि सम्पर्कविहीन भएका थिए। पार्टी निर्वाचन निर्देशिका २०७८ को दफा २ (छ) बमोजिम मतगणना गर्दा व्यवस्थित रुपमा सम्बन्धित उम्मेदवार वा निजको वारेसको रोहबरमा गर्नुपर्छ भन्ने स्पष्ट प्रावधान हुँदाहुँदै मतदान अधिकृतले आफूहरुको कुनै वारेस वा उम्मेदवारको रोहवर नराखी एकपक्षीय ढंगबाट मतगणना गरी निर्वाचन परिणाम घोषणा गरिएको भन्ने व्यहाेरा थाहा हुन आएकाेले उक्तमतगणनाकाे परिणाम बदर गरी पुन: मतदान गर्न जाेडदार माग गर्दछाैं।’
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मंगलबार भक्तपुरमा निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि छानिएका छन्। कांग्रेसले दिएको जानकारीअनुसार १ नम्बर क्षेत्रको सभापतिमा जीवन खत्री र २५ जना महाधिवेशन प्रतिनिधि चुनिएका थिए। -न्युज कारखाना