
सौराह – पदाधिकारीको सूचीमा नाम छुटाइएका नेता भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। उनले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।
सर्वसम्मत नेतृत्व चयन गर्न सकसपूर्ण अवस्थाले महाधिवेशन लम्ब्याएरै भए पनि एमालेले आज निर्वाचन प्रक्रियालाई अघि बढाएको छ। महाधिवेशनको बन्दसत्रले अध्यक्ष ओलीलाई नयाँ नेतृत्व चयन गर्ने सर्वाधिकार दिँदा पनि उनले घोषणा गरेको पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम सर्वसम्मत हुन सकेन। जसले गर्दा उनले घोषणा गरेका पदाधिकारीहरुले उम्मेदवारी मनोनयन गर्नुपर्ने भएको छ। सोहीअनुसार अध्यक्षमा रावलले उम्मेदवारी दर्ता गराइसकेका छन्।
त्यस्तै उपाध्यक्षमा युवराज ज्ञवाली, उपमहासचिवमा विष्णु रिमाल र प्रदीप ज्ञवालीले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराइसकेका छन्। अन्य पदाधिकारीहरुमा उम्मेदवारी दिने क्रम जारी रहेको छ।
ओलीले पदाधिकारीमा १० बुँदे सहमतिपछि एमालेमा फर्किएका १० नेतामध्ये रावल र घनश्याम भुसाल समेटेका छैनन्। रावलले महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने अडान लिँदै आएका थिए। सोहीअनुसार अध्यक्षमा उम्मेदवारी दर्ता गरे पनि उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भुसालले अहिलेसम्म आफ्नो मनोनयनपत्र दर्ता गरेका छैनन्।
ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन्। वरिष्ठ उपाध्यक्षमा दावी गर्ने सुवास नेम्बाङ र महासचिवमा दावी गर्ने विष्णु पौडेललाई ओलीले उपाध्यक्षमा प्रस्तावित गरेका छन्। नेम्बाङ र पौडेलले ओलीले प्रस्ताव गरेकै पदाधिकारीमा उम्मेदवारी मनोनयन गर्छन् कि आआफ्नो दावी गरेअनुसारको पदमा उम्मेदवारी दिन्छन्? सबैले चासो व्यक्त गरेका छन्।