
नेपाली काँग्रेसले आफूभित्रका विवादलाई मिलाएर र आफूबाहिरका विवादलाई चिरेर अगाडि बढेको लामो इतिहास र अनुभव छ। इतिहासको यो चेतना र अनुभवको धरातलमा आजका विवादहरू मिलाउन सकिन्छ। तर काँग्रेसको केन्द्रीय तहमा विद्यमान अस्तब्यस्तता, संगठनमा देखिएको छरपस्टता, अनुशासनहीनता र निर्णयहीनताको खेदजनक परिस्थितिले जिम्मेवार सबै काँग्रेसजनलाई चिन्तित बनाएको अवस्था छ। नीति, नेता र संगठन राजनीतिक प्रक्रियाका विभिन्न तर अभिन्न अङ्ग हुन्।
खुद्रा–मसिना उपलब्धि अर्को पार्टीप्रति जनतामा विरोधी लहर उठेको आत्मरतिमा रमाउने गर्दा सिंगो काँग्रेसको अभिभारा पूरा हुन सक्दैन। नीतिगत अस्पष्टता, नेतृत्वका अनियन्त्रित कमजोरी र पार्टी संगठनमा उत्पन्न हुने अस्तव्यस्तता देशैभरि देखिएका आजका प्रमुख साझा तथा जल्दाबल्दा समस्या हुन् । पार्टीमा विद्यमान समस्या र चुनौतीलाई सबैको निस्वार्थ योगदानद्वारा सँधैको लागि आमूल समाप्त पार्नुछ ।
मैले आवश्यक देखेका निम्न बुँदाहरूलाई काँग्रेस नेतृत्वको मार्गचित्र (Road Map) को रुपमा प्रस्तुत गरेको छु।
पार्टी संगठनको आत्मा भन्नु नै अनुशासन हो । अनुशासनहिनताले अराजकता जन्माउँछ । निर्वाचनमा आफ्नै उम्मेद्वारविरुद्ध अन्तरघात गर्नु अनुशासनहिनताको पराकाष्ठा हो । त्यसैले पार्टीमा अनुशासन हेर्ने निकायले नियमन र निर्णय कार्यान्वयन हेर्ने निकायको रुपमा विकसित गर्नुपर्छ । अनुशासन जति सशक्त र प्रभावकारी हुन्छ, पार्टी संगठन त्यति बलियो, प्रभावकारी र लोकप्रिय हुन्छ । पार्टी अनुशासन कसले मान्नुपर्ने कसले नमाने पनि हुने भन्ने अलगअलग ब्यवहार जन्मिनथाल्यो भने त्यो अर्को खेदजनक स्थिति हुन्छ । एकताबद्ध अल्पमतले असंगठित बहुमतलाई पराजित गर्छ भन्ने मन्त्र सम्झेर पार्टी एकताको लागि अनुशासनको एकदमै जरुरत छ।
पार्टीभित्रको अनेकतालाई बचाउनु पर्छ । कम्युनिस्टको जस्तो रेजिमेन्टेसन र युनिफर्मिटी होइन, तर अनेकतामा एकता (Unity in Diversity) वा विभिन्नतामा अभिन्नता बनाउनु पर्छ । बहसमा विविधता र निर्णयमा एकता नै काँग्रेसको लोकतान्त्रिक संस्कार तथा परम्परालाई हेक्का राखेर काम गर्नु परेको छ ।
पार्टीका विभाग, मातहतका निकाय तथा भातृसंस्थाहरूमा अनावश्यक हस्तक्षेप हुनथाल्यो भने संगठन सुदृढ हुँदैन । भातृसंस्थाहरूको अधिवेशनमा अनावश्यक हस्तक्षेप गर्ने वा गिजोल्ने कार्यले संगठन लथालिङ्ग हुन्छ । नेतृत्व सशक्त र प्रभावकारी हुन कदापि सक्दैन । त्यसैले भातृसंस्थाहरूका गतिशीलतमा कतैबाट पनि अनावश्यक र अनैतिक हस्तक्षेप गर्न दिइने छैन ।
भातृसंस्थाहरूको विधानको टुङ्गो लगाई हस्तक्षेप नगरी पूर्ण लोकतान्त्रिक प्रक्रियाद्वारा नेतृत्व निर्वाचित हुने व्यवस्था गर्नुपर्छ ।
भ्रष्टाचारबिरूद्ध सचेतना अभियानका साथै यसबिरूद्ध विभिन्न कार्यक्रम चलाई पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्नुपर्छ । पार्टी राजनीतिमा लागेको, पढालेखा, विचारवान्, निष्ठावान्, गरिव तर पार्टीप्रति निष्ठावान् कार्यकर्ताले धनको तुजुकबिनै कसरी सफलताका सिढी चढ्ने मौका पाउँछ ? अबको नेतृत्वले वैचारिक पुनर्जागरणको दिशामा निष्कर्ष बनाउन सक्नुपर्छ ।
कार्यकर्ताहरूलाई प्रशिक्षण, तालिम, अभिमुखीकरण (Orientation) अवलोकन भ्रमण आदि सचेतनामूलक र विवेकमा आधारित कार्यक्रमले पनि पार्टी संगठन प्रभावकारी बनाउँने हुनाले दक्षताबृद्धि कार्यक्रम लागु गरिने छ ।
नयाँ पुस्तालाई आकर्षण दिने र नेतृत्वको विकास गर्ने अवसर र वातावरण पार्टीभित्र संस्थागत रुपले विकसित गर्नुपर्छ । पद्धति, विचार र आचरणलाई एकीकृत तरिकाबाट प्रोत्साहित गर्नुपर्छ ।
जनतालाई प्रत्यक्ष सेवा प्रदान गर्ने, विपदको बेलामा उद्धार, राहत तथा अन्य सहयोग पुर्याउने र अन्याय भएका मामिलामा संगठित र सामुहिक आवाज वा दबाबमूलक कार्यक्रमद्वारा समाधानको प्रयास गरिने छ । काँग्रेसलाई प्रजातान्त्रिक समाजवादको बाटोबाट अगाडि बढाउनु पर्छ । सामाजिक न्याय, मूल्य, मान्यता हरूलाई समयसापेक्ष परिमार्जन र सुधार गर्दैजानु पर्छ । यसका लागि पार्टीभित्र वैचारिक पुनर्जागरणको जरुरत पूरा गर्ने संयन्त्र विकसित गर्नुपर्छ ।
पार्टी संगठनको आत्मा भन्नु नै अनुशासन हो । अनुशासनहिनताले अराजकता जन्माउँछ । निर्वाचनमा आफ्नै उम्मेद्वारविरुद्ध अन्तरघात गर्नु अनुशासनहिनताको पराकाष्ठा हो । त्यसैले पार्टीमा अनुशासन हेर्ने निकायले नियमन र निर्णय कार्यान्वयन हेर्ने निकायको रुपमा विकसित गर्नुपर्छ । अनुशासन जति सशक्त र प्रभावकारी हुन्छ, पार्टी संगठन त्यति बलियो, प्रभावकारी र लोकप्रिय हुन्छ ।
अन्य जिल्लामा कार्यरत नेपाली काँग्रेसका जिल्ला सभापति, जिल्ला कार्यसमिति र साथीहरूका बीच समन्वय र सामुहिक प्रयासका साथ राष्ट्रिय कार्यक्रम सञ्चालन गर्न काँग्रेसको जिल्ला सभापतिको रुपमा मेरो समर्पित प्रयास रहने छ ।
काँग्रेस अहिले पनि जनाधारमा बलियो छ, तर सङ्गठनमा कमजोर छ । नेतृत्वले पार्टीको सारा शक्ति समेटेर संगठित बनाउनु जरुरी छ । यसका लागि सर्वप्रथम नीतिगत स्पष्टता र निर्णयमा दृढता हुनुपर्छ । केन्द्रीय नेतृत्व तहलाई समेत हाम्रो आग्रह छ, भागबण्डाका आधारमा होइन, विधान, विधि, नीति, लोकतान्त्रिक प्रक्रियामा सम्पूर्ण निर्णय गर्ने प्रतिबद्धता हुनुपर्छ ।
जिल्ला कार्यसमितिहरूलाई आफ्नो कार्यक्षेत्रभित्र पूर्ण प्रभावकारी बनाउनु र जिम्मेवारी सुम्पिनु पर्छ । केन्द्रले प्रदेशसँग समन्वय, प्रदेशले जिल्लास्तरसँग र जिल्लाले गाउँ/नगरपालिका तहसँग समन्वय, सञ्चालन र निर्देशनको पूर्ण अधिकारको व्यवस्था गर्नुपर्छ । जिल्ला सभापतिको हैसियतले मेरो कार्यकालमा ‘नेपाली काँग्रेस शुद्धीकरण तथा सुदृढीकरण अभियान’ र ‘जनसम्पर्क अभियान’ नामक दुई कार्यक्रमलाई निरन्तर रुपमा चलाईने छ । चुनाब लड्ने लक्षले मात्र होइन, महाधिवेशनलाई वैचारिक र बहसपूर्ण पनि बनाउनमा रणनीति तय गर्ने काम पनि यो अभियानले गर्नु आवश्यक छ ।
पार्टीमा वैचारिक र नैतिकताको राजनीति मर्दैगएको छ । अग्रज वा संस्थापक नेताहरूले राखेको नैतिक संस्कार मर्दै गएको, नैतिकता बाधक मान्न थालिएको, पार्टीको विधान, आचारसंहिता, घोषणापत्रजस्ता अनिवार्य पालनाका विषयहरू निष्कृय बन्दैगएको हो कि भन्ने भान हुन्छ । यस्ता विकृति र विसंगतिहरूलाई पनि हामीले नै हटाउनु परेको छ । वास्तबमा काँग्रेसको शुद्धीकरण र वैचारिक पुनर्जागरण भनेको नै यही हो । हाम्रो लोकतन्त्रमा पैसाको सर्बोच्चता होइन जनताको चाहनामा आधारित निर्णायक विचार र प्रतिबद्धता नै सर्वेसर्वा होस् ।
आजको नयाँपुस्ता विद्युतीय सामाजिक सन्जालद्वारा ल्याइएका लोकतान्त्रिक वा स्वतन्त्रतावादी आन्दोलनको संवाहक हो । यो सिर्जनशील र शक्तिशाली पुस्ताको सहभागिता नेपाली काँग्रेसलाई चाहिएको छ । पार्टीको सुन्दर इतिहास देखाएर तर पुरानै ढर्रा, बासी विचार र लथालिङ्ग चालाले नयाँ पुस्ताको सहभागिता हुनसक्दैन भन्ने पनि छर्लङ्ग छ । त्यसैले सर्वप्रथम पार्टीमा शुद्धीकरण र संगठन सुदृढीकरण, पूर्णएकता र शक्तिसञ्चयको लागि समेत अनिवार्य छ । फुटेको हाँडी जोडेजस्तो प्राविधिक रूपको वा टालटुले एकताले हुँदैन । काँग्रेसभित्र भावनात्मक तथा भातृत्वपूर्ण एकता बनाउनै पर्छ । फुटपरस्त पार्टीको जनतामा कुनै भाउ छैन भन्ने धरातलीय यथार्थ हामीले नै आत्मसात गरेर समाधानको बाटोमा लाग्न चौधौं महाधिवेशनलाई सदुपयोग गर्नुपरेको छ ।