४९ वर्षमा १२ कक्षा पास गरेपछि करिश्मा मानन्धर भन्छिन्- एमए पनि पास गर्छु (भिडियो)

+
-

पढाइलाई उमेरको बाँधले छेक्दैन भन्ने एक सशक्त उदाहरण हुन् अभिनेत्री करिश्मा मानन्धर। उनले उमेरले ४० वर्ष कटेपछि विद्यालय गई कक्षा १० सम्मको औपचारिक शिक्षा पूरा गरिन्। त्यसपछि प्लस टु अध्ययनका लागि कलेज भर्ना भइन्। गएको मङ्सिर १७ गते प्लस टु परीक्षाको नतिजा सार्वजनिक भयो। देशभरबाट ३ लाख ७४ हजार १५ जना परिक्षार्थी यो नतिजाको पर्खाइमा थिए। यिनैमध्येको एक थिइन्, अभिनेत्री करिश्मा मानन्धर।

लाखौँ विद्यार्थीलाई झै उनलाई पनि कौतुहल थियो, ‘नतिजा कस्तो आउला?’ वर्षभरिको मेहनत ग्रेडमा आउने बेला उत्साह नहुने कुरा थिएन।

उनको २.४१ जिपिए आयो। परीक्षाफल सार्वजनिक हुनेबित्तिकै देशसञ्चारसँग भएको कुराकानीमा उनले औसतको जिपिएसँग आफू सन्तुष्ट भएपनि विषयगत रुपमा आएका ग्रेडले उनलाई केही निराश तुल्याएको सुनाएकी थिइन्।

‘कलेजको आन्तरिक परीक्षामा मेरो मेजर इङ्गलिसमा राम्रो नम्बर आउँथ्यो, तर अन्तिम परीक्षामा यस्तो भयो।’ झण्डै एक सातापछिको भेटमा उनले भनिन्, ‘परीक्षाको दिन पनि मलाई ‘लो’ फिल भएको थियो, प्रश्नहरु नै कहाँबाट आएका हुन् जस्तो भएको थियो।’

मानविकी संकायमा ‘मेजर इङ्गलिस’, समाजशास्त्र र जनसंख्या विषय लिएर अध्ययन गरेकी मानन्धरलाई मेजर इङ्गलिसमा आएको ग्रेड चित्तबुझ्दो लागेन। उनले कलेजका शिक्षकलाई ग्रेड बढाउने बारेमा सल्लाह लिइन्। तर उनको ग्रेड स्नातक अध्ययनको लागि अवरोध दिने तहको थिएन। शिक्षकको सल्लाह उनलाई चित्त बुझ्यो, त्यसैले उनी त्यही कलेजमा अब अंग्रेजी विषय लिएर स्नातक पढ्ने तयारी गरिरहेकी छन्।

४७ वर्षको उमेरमा करिश्मा मानन्धरले नियमित ४ वर्ष विद्यालय गएर एसईई परीक्षा दिइन्। मैतीदेवीको त्रिवेणी पब्लिक हाई स्कूलबाट एसईई दिएकी करिश्मा मानन्धरको ३ जिपिए आएको थियो। त्यसपछि उनी टौखेल, गोदावरीस्थित किटिनी कलेज, जो करिश्माको घर नजिकै पर्छ, त्यहाँ उनी मानविकी अध्ययनका लागि भर्ना भइन्।

उनले आफूलाई मनपर्ने विषय अंग्रेजी रहेको बताउने गर्छिन्। त्यसैले पनि मन परेको विषयमा सोचेभन्दा खराब नतिजा आउँदा मन खिन्न भयो उनको। तर राम्रो नतिजा नआउनुमा अनलाइन कक्षाको बाध्यता पनि एउटा कारक रहेको उनको मान्यता छ। किनकि कक्षा ११ मा काम बाहेकको समय नियमित कलेज गएकी करिश्मा कक्षा १२ मा मुश्किलले १ महिना कलेज पढ्नको लागि गइन्। विश्वलाई दुख दिएको कोरोना भाइरस महामारीले नेपालमा पनि प्रभाव पार्दा लाखौँ विद्यार्थीलाई झै उनलाई पनि अनलाइन कक्षामा नै पढ्न बस्नुपर्‍यो।

‘मैले अनलाइन पढ्नुपर्ने भएपछि बिनोदजीलाई इन्टरनेटको स्पिड बढाउन लगाए। तर म कमै समयमा मात्र अनलाइन कक्षामा भएँ। हाम्रो कक्षाको रजिस्टरमा ७० जना विद्यार्थीको नाम थियो तर अनलाइन कक्षामा जम्मा ४, ५ जनामात्र उपस्थित हुन्थे,’ उनले भनिन्, ‘विद्यार्थीको केही समस्या थिए होला, फेरि सर म्यामकहाँ नै कहिलेकाहिँ बत्ती गइदिन्थ्यो।’

उमेर र व्यवहारले पाको भइसकेकी करिश्माले अनलाइन कक्षाभन्दा भौतिक कक्षा प्रभावकारी भेटिन्। किनभने व्यवस्थापनले मुख्य भूमिका खेल्छ भन्ने उनलाई लाग्छ। विद्यार्थी शिक्षकबीच हुनुपर्ने सञ्चार – मौखिक होस् अथवा इशारा, भौतिक रुपमा उपस्थित भएको जस्तो अनलाइन कक्षामा उनलाई अनुभूत भएन।

‘फिल नै फरक हुने रहेछ,’ उनले भनिन्, ‘अनलाइन हुँदै हुँदैन भन्ने चाहिँ हैन, कतिपय मुलुकमा यही माध्यमबाट प्रभावकारी ढंगले पढाइ भइरहेको छ। कुनै दिन नेपालमा पनि प्रणालीगत रुपमा विकास हुन्छ होला।’

४९ वर्ष उमेरमा प्लस टु सकेकी करिश्मा आशावादी सुनिन्छिन्। अहिले पनि अनलाइन कक्षामा पढ्न बस्दा सबै कुराको बेफाइदा मात्रै भएन, ‘मलाई चिसोको एलर्जी छ, बिहान चाँडै कलेजको लागि भनेर जानु परेन।’ स्वास्थ्यको झमेला झेल्नु नपरेपछि उनले यसलाई जीवनमा लिनुपर्ने अनुभवको हिस्सा भनेर व्याख्या गरिन्।

पढाइलाई निरन्तरता दिने योजना

परीक्षाको नतिजा सार्वजनिक भएपछि कलेजमा बधाई कार्यक्रम आयोजना भएको थियो। उनी उत्साहित भएर पढाइलाई निरन्तरता दिने सोचमा पुगिन्। विद्यालयपछि उनी केही प्रोजेक्टहरुसँग पनि आवद्ध छिन्। उनले नियमित सहकार्य गरेको कार्यक्रम, मुन्द्रेको कमेडी क्लब तत्कालको लागि बन्द भएको छ। त्यसपछि उनी विभिन्न प्रोजेक्टहरुसँग आवद्ध भइरहेकी छन्।

‘मेरो लागि मुख्य चुनौती भनेको समय व्यवस्थापन हो, त्यसपछि मेरो क्षमता पनि आउँछ। म के पढ्न सक्नु भन्ने कुरा मैले ख्याल गर्नुपर्‍यो,’ उनले सुझाव पनि दिइन्, ‘काम गरेर पढ्नुपर्ने विद्यार्थीले आफूलाई हरेक तरिकाले सहज हुने कलेजमा पढ्नुपर्छ। हामी आफैँले मेहनत गर्ने हो, राम्रो कलेज भन्दैमा राम्रो नम्बर आउँछ भन्ने पनि छैन।’

पढाइमा मेहनत आफ्नै हो, बुझ्नुपर्ने आफैले हो भनेर उनले विद्यालय सक्किने बित्तिकै बुझेकी हुन्। स्कूल पढ्दा उनका कक्षाका साथीहरुले जसरी मेहनत गर्थे, कलेजमा पुगेपछि त्यस्तै व्यवहार रहेन। ‘अलि स्वतन्त्र भएको जस्तो, उहाँहरुको उमेर नै यस्तै हो। बोलीदेखि बाहिरी व्यवहार नै फरक हुन्छ’, उनले भनिन्, ‘तर केही विद्यार्थीको डिग्निटीले मलाई मेरो बच्चाहरु पनि यस्तै भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ। उहाँहरु १७, १८ वर्षको उमेरमा नै आफैँ कमाएर पढ्नु हुन्छ।’

पढेर के बन्न चाहन्छिन् करिश्मा?

अभिनयकलाले दर्शकको मन जितेकी करिश्माले नेपाली चलचित्र क्षेत्रमा ३ दशक बिताइसकेकी छन्। चलचित्र नगरीमा उनलाई सदाबहार नायिका, महानायिकाको ताज पनि दिइन्छ। व्यवसायी बिनोद मानन्धरसँगको घरजम र सफल कलाकारिता जीवनले उनलाई आर्थिक अभाव कहिले पनि झेल्न परेन। उनकी सन्तान आफै व्यवसायमा लागिसकेकी छन्। औसत महिलाले चाहने सम्पन्नता उनको छ।

‘यो उमेरमा आएर किन पढाइ?’ उनलाई लाखौँपल्ट सोधिएको प्रश्न थियो यो। ‘बिनोदले पनि विश्वास गर्ने थिएनन्, मैले ८ कक्षा सक्काएपछि मात्रै सकारात्मक भएको पाएँ, उनले भनिन्, ‘श्रीमानश्रीमती भएपछि कमजोरी थाहा हुन्छ, मलाई उसले जहिले पनि ‘स्टुपिड बच्चा’ जस्तो देख्छ, मैले पढाइको तह उक्लनु उसको लागि चकित पार्ने विषय हो। बल्ल बल्ल ‘अब चाहिँ गर्छ है!’ भन्नेसम्ममा आएको छ।’

उनलाई त्यो बेला धेरैले ‘पब्लिसिटी स्टन्ट’ भनेर गिज्याउने गर्थे। उनले आँटेको काम साधारण थिएन, त्यसैले उनले साथीजस्ती आमालाई पनि पढाइको कुरा सल्लाह गरिनन्। ‘घरका ठूला व्यक्तिहरु सल्लाहकार नभएको जस्तो अनुभव भयो मलाई म मेरी आमासम्म कुरा फिल्टर गरेर मात्रै पुर्‍याउँछु । धेरै सल्लाह नजिकका साथीहरुसँग हुने गर्छ।’ उनकी आमाले पनि धेरै कुरा अरुले भनेपछि मात्र थाहा पाउने गर्छिन्।

‘मैले सक्रिय भएर काम गर्ने समयमा पनि आमालाई विद्यालय जान पाए हुन्थ्यो भनेर सुनाउँथे, बाध्यता थियो र आमाले सम्झाउनु हुन्थ्यो, ‘जे काम गरिरहेकी छौ, त्यसमा राम्रो गर।’ बारम्बार उनले आमाले विद्यालय जाने रहर सुनाउँदा यस्तो प्रतिक्रिया आउँथ्यो। उमेर ४० कटेपछि विद्यालय जान उनले सल्लाह गरिनन्।

विद्यालय जान थालेपछि उनको कदमलाई साथ दिने भन्दा आलोचना गर्ने धेरै निस्किएका थिए। जब करिश्माले अरु विद्यार्थी जसरी नै स्कूलमा गएर पढिन्, परीक्षा हलमा गएर एसईईको परिक्षा दिइन् त्यसपछि धेरैको मुखमा बिर्को लाग्यो।

करिश्माको विद्यालयको पढाई असाधारण सावित भयो। त्यसपछि उनले के गर्छिन् भन्ने प्रश्न उठ्थ्यो। करिश्माले एसईईको नतिजा सार्वजनिक भएको केही दिनमा नै आफू प्लस टु पढ्ने जानकारी दिइन्। प्लस टुको परिक्षाफल आउँदा उनको नतिजालाई लिएर धेरै टिकाटिप्पणी भए। सामाजिक सञ्जालमा कतिपयले उनले ए प्लस ल्याएको भन्दै शुभकामना दिएका थिए तर उनले आफूले २ विषयमा मात्रै ए प्लस ल्याएको जानकारी दिइन्।

‘सार्वजनिक व्यक्तित्व भएपछि हाम्रो क्रियाकलापमा धेरैको ध्यान जानु स्वाभाविक हो, मैले यसलाई सामान्य रुपमा लिएकी छु।’ सामाजिक सञ्जालमा हुने कुराकानीले केही फरक पर्दैन भन्ने प्रश्नमा उनले उत्तर दिइन्, ‘म मैले के गर्ने विषयमा एकदमै स्पष्ट छु। बाँकी कुरा हुँदै गर्छन्।’

काम अनि सबै व्यवहारलाई साथ लिँदै करिश्मा स्नातक अनि स्नातकोत्तर सम्म अध्ययन गर्ने योजनामा छिन्। धेरैले उनलाई सोध्छन् ‘पढेर के गर्ने ?’ उनी उत्तर फर्काउछिन्, ‘पढ्नु भनेको सिक्नु हो, सिक्ने काम कहिले पनि सकिदैन। मेरो औपचारिक शिक्षालाई पूरा गर्ने उद्देश्य हो।’ उनले पढाई आफ्नो रहन नभएको स्पस्ट पारिन्, ‘म सानैमा काम गर्न बाध्य भएँ, जीवनमा अन्य शिक्षा हासिल भयो तर औपचारिक शिक्षा जो अत्यन्तै आवश्यक छ, उहाँहरुलाई बुझाउन पनि मैले पढेको हुँ।’

नेपालमा शिक्षा जरुरी भएको उनी औल्याउछिन् । नेपालमा भएका विभिन्न समस्याको जड अशिक्षाले गर्दा हो भन्ने उनको मान्यता छ। महिला हिंसा, कुरीति जस्ता कुराहरु यदि सबै शिक्षित भए आपसेआप हटेर जान्छ। विकसित देशहरु अगाडि छन्, किनभने त्यहाँ ‘सिस्टम’ छ, र सिस्टम राम्रो हुनको लागि शिक्षा आवश्यक रहेको उनको बुझाइ छ।

‘हुन त पढ्नलाई विद्यालय, विश्वविद्यालय जानु पर्दैन्, तर स्कूल कलेजमा जसरी तहगत अध्ययन गराइन्छ, त्यसले हामीमा पढ्ने सीपको विकास गर्छ।’ उनले भनिन्, ‘त्यसैले किन पढ्नुपर्‍यो भन्दा पनि अझै पढ्नुपर्‍यो भन्नुपर्छ। मलाई हामी नेपाली ‘एभव एभरेज’ भएको हेर्न मन छ।’

‘कलेजका पुस्तक त मोटा हुन्छन्, अनि पढ्न गारो हुँदैन त ?’

उनले सरल उत्तर दिइन्, ‘सबैभन्दा ठूलो कुरा मानिसको इच्छाशक्ति हो। म अहिले काम अनि पढाई साथ साथ अगाडि लगिरहेकी छु। अनि पुस्तकको कुरा गर्ने हो भने, विद्यालयमा ८ ओटा विषय थियो, अहिले जम्मा ५ ओटा छन्। समयले सबै उपलब्ध गराउँछ, पहिलाको करिश्मा मानन्धर भएको भए मैले विद्यालयमा पढाई पूरा गर्न पनि त भ्याउने थिइन नि।’

लामो समयको ग्यापपछि विद्यालयको औपचारिक शिक्षा लिँदा उनलाई म्याथ र साइन्समा गारो परेको थियो। त्यो बेलामा उनले ट्युसन कक्षा लिएकी थिइन्।

अहिले पनि उनले भ्यूजिक भिडियो काम गर्छिन्, ब्राण्ड एम्बासिडर पनि छन्। उनले समय व्यवस्थापन गरेर पढ्नलाई जोड दिन छुटाउन्नन्। स्नातक तह अध्ययन गर्दा गारो भयो भने फेरी ट्युसन टिचर राख्ने उनको सोच छ।

‘पढाइ नोक्सान हैन, त्यसले मिल्दा सम्म पढ्नुपर्छ।’ करिश्मा यही सोचलाई अघि सार्दै भन्छिन्, ‘जीवन अनिश्चित छ, तर जबसम्म पढ्न मिल्छ तबसम्म पढ्छु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?