
काठमाडौँ- शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार भएको खेलमा त्रिभुवन आर्मी क्लब, सातदोबाटो युथ क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको छ।
दशरथ रंगशालामा भएको खेलमा आर्मीले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन। १० औँ मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गरेका थिए। ६ मिनेटलगत्तै मार्टिन अजयीले गोल गर्दै खेल बराबरीमा ल्याए।
५ खेलबाट ९ अंक भएको आर्मी तालिकाको तेस्रो स्थानमा छ। ४ खेलपछि मच्छिन्द्र र मनाङ मर्स्याङ्दीको समान १० अंक छ। सातदोबाटोको ५ खेलबाट ८ अंक छ।
लिगको सात चरणको समाप्तीपछि शीर्षस्थानमा रहने एएफसी क्लब लाइसेन्स होल्डर टिम एएफसी कप छनोटका लागि छानिने भएकाले आर्मीलाई पछिल्लो नतिजाले केही धक्का पुगेको छ। तालिकाको शीर्ष तीन स्थानमा रहेका टोलीबाहेक एपीएफ पनि एएफसी क्लब लाइसेन्स पाएको टोली हो।