
काठमाडौँ – साविक उपविजेता नेपाल बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिपको फाइनल नपुग्ने सम्भावना बलियो बनेको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा आइतबार भारतसँग १-० गोलले पराजित भएपछि नेपाल पहिलो चरणबाटै बाहिरिने सम्भावना बलियो भएको हो।नेपालले यो खेल बराबरी खेले मात्र पनि फाइनल पुग्ने थियो।
४ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको भारत फाइनल पुगेको छ।
नेपाल चार खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको बंगलादेशको पनि ३ खेलबाट ७ अंक छ। भारतसँग खेल्नुअघि नेपाल शीर्षस्थानमा थियो। आइतबार साँझ ७ बजे सुरु हुने खेलमा बंगलादेशले श्रीलंकालाई बराबरीमा रोके मात्र पनि नेपाल बाहिरिने छ। तर साविक विजेतासमेत रहेको बंगलादेश पराजित भएमा भने नेपाल फाइनल पुग्ने छ।
तर श्रीलंका प्रतियोगिताकै कमजोर टोलीका रुपमा देखिएको छ। उसले तीन खेलमा सबैमा पराजय ब्यहोरेको छ भने यी खेलमा १६ गोल खाएको छ। एक गोल पनि गर्न सकेको छैन।
लिग चरणपछि तालिकाका शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६-० र तेस्रो खेलमा भुटानलाई ४-० गोलले हराएको थियो।
पहिलो खेलमा श्रीलंकालाई ५-० गोलले हराएको भारतले दोस्रो खेलमा भुटानलाई ३-० गोलले हराएको थियो। तेस्रो खेलमा भने बंगलादेशसँग १-० गोलले पराजित भएको थियो।