
अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटमा सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्सले चार खेल खेल्नेक्रममा तेस्रो हार ब्यहोरेको छ। हरिकेन्स सोमबार भएको खेलमा पर्थ स्कर्चर्ससँग ४२ रनले पराजित भयो।
एक सय ६८ रनको लक्ष्य पाएको हरिकेन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २५ रन मात्र जोड्न सक्यो। स्कर्चर्सका आन्द्रे टायले चार ओभरमा १९ रन खर्चिएर ३ विकेट लिए। एस्टन अगर र पिटर हेजग्लुले २/२ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कर्चर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ६७ रन जोडेको थियो। एक विकेट पनि लिन नसकेका सन्दीप महँगो सावित भए। उनले चार ओभरमा ४० रन खर्चिए।
राष्ट्रिय टोलीको कप्तानी गर्ने जिम्मेवारी उनलाई दिने निर्णयपछि सन्दीपको बिग बासमा पहिलो खेल थियो। सन्दीपले पहिलो ओभरमै १४ रन ब्यहोरेका थिए।
प्रतियोगितामा ४ खेलबाट ६ अंक भएको हरिकेन्स तालिकाको छैटौँ स्थानमा रहेको छ। उसले ३ हार र एक जितको नतिजा निकालेको छ। चार खेलमा शतप्रतिशत जितको नतिजा निकालेको स्कर्चर्स शीर्षस्थानमा छ।
प्रतियोगिताको जारी संस्करण सन्दीपले चार खेलमा केवल २ विकेट लिएका छन् भने एक सय २० रन खर्चिएका छन्।