
भक्तपुर – प्रथम बीएसएल जिल्लाव्यापी पावर लिफ्टिङ प्रतियोगिताको उपाधि बेकिन जोशी र तारा खाइजूले कब्जा गरेका छन्। अजिमा फिटनेसका बेकिन पुरुषतर्फ र क्लव डेस्पाराडोकी तारा महिलातर्फ च्याम्पियन भएका हुन्।
भादगाउँ स्पोर्टस् एण्ड लेजर (बीएसएल) को आयोजनामा भएको शारीरिक सुगठनको उक्त प्रतियोगितामा बेकिनले ४६ प्रतियोगीलाई पछि पारेका थिए। उनले प्रतियोगितामा कूल ५६५ केजी तौल उचालेका थिए। प्रतियोगिता तीन विधामध्ये विकेनले बेन्चप्रेसमा १३५ केजी, स्क्वाटमा २१० केजी र डेडलिफ्टमा सर्वाधिक २२० केजी तौल उचालेका थिए।

अजिमा फिटनेसका बेकिन जाेशी।
उनी ६५ केजीमाथिको तौल समूहका विजेतासमेत हुन्। उनको शरीरको तौल भने ७६.४५ केजी रहेको छ।
त्यस्तै महिलातर्फ १४ प्रतियोगीलाई पछि पार्दै ताराले उपाधि जितेकी हुन्। ५५ केजी तौल समूहकी विजेतासमेत रहेकी ताराले कूल २९५ केजी तौल उचालेकी थिइन्। उनले बेञ्चप्रेसमा ५५ केजी, स्क्वाटमा १०६ केजी र डेडलिफ्टमा १३४ केजी तौल उचालेर प्रथम भएकी हुन्। उनको तौल भने ५६.५५ केजी रहेको छ।

क्लव डेस्पाराडोकी तारा खाइजू।
उपाधिसँगै बेकिन र ताराले नगद ६५ हजार रुपैयाँ हात पारेका छन्। तौल समूहको विधागत स्पर्धामा प्रथम भई १५–१५ हजार रुपैयाँ नगद प्राप्त गरेका उनीहरुले ओभरअल फाइनलमा उपाधिसँगै थप ५०–५० हजार रुपैयाँ जितेका हुन्।
भक्तपुर शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिता पाँचवटा तौल समूहमा सञ्चालन गरिएको संयोजक सुरेन्द्र भेलेले जानकारी दिए। उनका अनुसार पुरुषतर्फ ६५ केजी, ६५ केजीमाथि र पुरुष मास्टर समूहमा ४५ वर्षमाथिको उमेर समूहमा स्पर्धा गराइएको थियो।
महिलातर्फ भने ५५ केजी र ५५ केजीमाथि गरी दुई तौल समूहमा स्पर्धा गराएको उनले बताए। भक्तपुरको सूर्यविनायक नपा ८ सिपाडोलस्थित भादगाउँ स्पोर्टस् एण्ड लेजरमा भएको प्रतियोगिताका हरेक इभेन्ट तीन राउन्डमा खेलाइएको थियो।
प्रतियोगिताका विजेताहरुलाई खेलकुदमन्त्री महेश्वरजंग गहतराजले शिल्ड, पदक र प्रमाणपत्रसहित नगद पुरस्कार वितरण गरेका थिए।