
जनकपुरधाम – प्रदेश २ सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको छ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले कृषि विश्वविद्यालयसम्बन्धी अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको उपसभामुख उपमादेवले घोषणा गरेकी छन्।
यसअघि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय २०७८ अस्वीकार गर्न पेस गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
छलफलका क्रममा सत्तारुढ दल कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले अध्यादेश ल्याउने तरिका गलत भए पति विधेयक नै रद्द गर्नुपर्ने आवश्यकता नरहेको बताए।
यद्यपि, उनले विश्वविद्यालयको नाममा आपत्ति जनाए। उनले भने, ‘विश्वविद्यालय विश्वभरिका व्यक्ति आएर पढ्ने ठाउँ हो, यसमा प्रदेशको टोपी लगाइदिने? सुन्नुभएछ यस्तो नाम कहिल्यै?’ उनले विश्वविद्यालयमा प्रदेश थपेपछि त्यसको महत्व घट्ने बताए।
यस्तै, प्रमुख प्रतिपक्षी दल लोसपाका सांसद जानकीशरण साहले प्रदेश सरकारले ल्याएको अध्यादेशमा आफ्नो विरोध रहेको बताए। सामान्य स्थितिमा समेत अध्यादेश ल्याउनु खेदजनक रहेको उनको भनाइ छ।