
बाक्लो कुहिरो थियो
म बाटोमा थिएँ
बाटो साँगुरो थियो
डिलबाट झन्डै
नखसेको हिजो
बाटोको डिल जस्तै
साँगुरो भएको भए यो दिल
सायद म हिजो खस्ने थिएँ
नखसेर नै आज
डिल र दिल नाप्ने
एउटा मापनको
फित्ता खोजिरैछु
कुनै दिन भेटियो भने
डिल र दिल नाप्ने फित्ता
हेर डिल तेरो चौडाइ नापेर
मेरो दिलजस्तै
फराकिलो बनाइदिन्छु
फोरेर त्यो डिल
बाटो बनाइदिन्छु
कुहिरो आयो भने
अनि म लड्ने छैन
त्यो डिलबाट लड्ने छैन