केस एक
डा.बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सेयर बजारलाई ‘जुवा घर’ संज्ञा दिएका थिए। जसका कारण त्यतिबेला सेयर बजार ओरालो लागेको थियो। उनले भनेका थिए, ‘सेयर बजार भनेको जुवा घर हो, यसलाई बन्द गर्नुपर्छ।’
त्यतिबेला नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा.चिरञ्जीवी नेपाल धितोपत्र बोर्डका अध्यक्ष थिए। माओवादी सरकारको नेतृत्वमा थियो। अर्थमन्त्रीजस्तो व्यक्तिले त्यस्तो अभिव्यक्ति दिएपछि भट्टराई र नेपालबीच केही विवाद पनि भयो। सरकारको नेतृत्वमा माओवादी रहेकोले डा.भट्टराईको अभिव्यक्तिप्रति कसैले टिप्पणी गरेनन्, जसका कारण सेयर बजार ओरालो लाग्दै गयो। धितोपत्र बोर्डबाट डा. नेपाल पनि बाहिरिए।
डा. नेपालले आफ्नो लेखमा लेखेका छन्, ‘अर्थमन्त्री र मेराबीचमा दुई–चार ठाउँमा विवाद पनि भयो। माओवादी नेतृत्वले नै सेयर बजारलाई जुवा घर भनेको र त्यसमा अन्य कोही पनि बोल्न नचाहेको अवस्था देखिएपछि बोर्डबाट बाहिरिनु नै उत्तम ठानेँ।’
केस दुई
केही साता अगाडि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सेयर बजारलाई लिएर विवादास्पद अभिव्यक्ति दिए। उनले माओवादी केन्द्रको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजीबजारमा हुनु सामराज्यवादको विकसित रुप भएको बताएका थिए।
उनले भनेका थिए, ‘पुँजीको लगानी पुँजीमा हुनु सामराज्यवादको विकसित हुनु हो। उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विशेषता भएको छ। अहिले धितोपत्र बोर्ड, सत्ता बजार, आईएमएफ, विश्व बैंक, एसियाली बैंक लगायतमा लगानी हुन्छ। हामीले यी बैंकहरुले पैसा जम्मा गरेर यताउता लगानी गर्दछन् भन्ने गरेका छौँ। तर, त्यस्तो होइन। यसरी सेयर बजारमा लगानी गर्नु साम्राराज्यवादका विकसित रुप हुन्।’
लगातार चार महिनादेखि ओरालो लाग्दै आएको सेयर बजार प्रचण्डको ‘वाणी’ले थप ओरालो लाग्दै गइरहेको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन्।
नीतिगत तहमा बसेका व्यक्तिहरुले यसरी सेयर बजारका बारेमा नबुझी बोल्दा त्यसको असर लगानीकर्ताहरुले भोग्नुपर्ने अध्यक्ष पोखरेलको भनाइ छ।
उनले भनिन्, ‘कहिले अर्थमन्त्रीले बोल्दिने, काहिले नेता पुष्पकमल दाहालले बोल्दिने गर्दा सेयर बजार घटिरहेको छ। उहाँहरु नीतिगत तहमा बस्ने मान्छे हो। अर्थमन्त्री, या पुष्पकमल दाहाल प्रचण्ड भनेको त उहाँहरुले जस्तो नीति लिनुहुन्छ, त्यही अनुसार अर्थमन्त्रीले नीति लिनुहुन्छ। उहाँहरुले बोल्दा किन बजार तलमाथि हुन्छ भने उहाँहरुले बजारप्रति हेर्ने दृष्टिकोण यति नेगेटिभ छ भने बजारमा नीतिगत सुधार कसरी हुन्छ त? बजारलाई कुन रुपमा राम्रो हुन्छ भन्ने हिसाबले बजार घटबढ भएको हो।’
यसरी बोल्दा सेयर बजार घट्छ भन्ने कुरा पनि उनीहरुलाई थाहा भएको उनले बताइन्। ‘विशेषतः सेयर बजारका बारेमा उहाँहरुलाई त्यति थाहा पनि छैन। जो यस सम्बन्धी विज्ञ हुनुहुन्छ, जो उहाँहरुलाई सल्लाह दिनुहुन्छ, उहाँहरुले सेयर बजारका बारेमा अर्थमन्त्री तथा नेता प्रचण्डलाई नभनेको जस्तो लाग्छ। किनभने यदी उहाँहरुले सेयर बजार भनेको सेन्टिमेन्ट हो, जथाभावी बोल्दा सेयर बजारमा धेरै असर गर्छ है भन्दिने हो भने उहाँहरुले चाहिँदो नचाहिँदो कुरा बोल्नुहुन्थेन नि’, उनले भनिन्, ‘ जब बाबुराम भट्टराई अर्थमन्त्री भए, त्यसबेला उनले सेयर बजार जुवा घर हो भन्नुभयो। त्यतिबेला लगानीकर्ताको सम्पत्ति धेरै स्वाहा भयो। सेयर बजार २ सय ९२ सम्म आयो।’
नीतिगत तहका व्यक्तिहरुको सेयर बजारलाई हेर्ने दृष्ट्रिकोण एकदमै नकरात्मक रहेको पनि उनको भनाइ छ। यस्तै पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले पनि ‘सेयर बजार उत्पादनमूक होइन’ भनेका थिए। त्यसले पनि सेयर बजारमा नकरात्मक प्रभाव परेको उनले बताइन्।
उनीहरुलाई कसरी बुझाउने भन्ने प्रश्नमा उनले भनिन्, ‘उहाँहरुलाई बुझाउँदै जाने कुरा पनि भएन। पुँजी बजार भनेको के हो? पुँजी बजारबारे हामीले बोल्दिँदा के हुन्छ? लगायतका बारेमा सोच्नु पर्छ। हामीले त बजार बढाइदिनु भनेकै छैन। मात्र बजारमा हुने बिसंगतिलाई निर्मुल गर्नु पर्यो यो। त्यो सँगसँगै नीतिगत तहमा सुधार गर्नु पर्नेछ, त्यसलाई सुधार गर्नुपर्यो। यतिकै जथाभावी रुपमा बोल्नु भएन। उहाँहरुको बोलीले बजारमा धेरै असर गर्छ।’
पछिल्लो समय नीतिगत तहमा बस्ने व्यक्तिहरुले दिएको टिप्पणीका कारण घटबढ हुने कुरा त भयो नै। यससँगै कोरोना महामारीको पनि यसमा ठूलो भूमिका रहेको उनको भनाइ छ।
कसरी?
कोरोना भाइरसको संक्रमण नेपालमा देखिएपछि सरकारले त्यसको रोकथामका लागि लकडाउन गरेको थियो। लकडाउनका कारण सबै क्षेत्र बन्द भए। लगानीकर्ताको व्यापार व्यवसाय सबै ठप्प भए। अन्य क्षेत्रमा लगानी गर्ने ठाउँमा नभएपछि सेयर बजार खुला भएका कारण लगानीकर्ता सेयर बजारतिर लागेको अध्यक्ष पोखरेल बताउँछिन्।
‘लगानीकर्ताको व्यापार व्यवसाय बन्द भए। अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ नभएपछि सेयर बजार खुला भएका कारण लगानी गर्न थाले भने कोही छिमेकीहरुले आफ्नाले गरेको देखेर यसतर्फ लागे। पुँजी बजारमा पैसा धेरै जम्मा भयो। त्यसले गर्दा १९ लाख लगानीकर्ता रहेको सेयर बजारमा अहिले लगानीकर्ता ४९ लाख पुगे’, उनले भनिन्, ‘पहिले एक दुई लाख मात्र प्रयोगकर्ता थिए भने अहिले १० औं लाख भइसके। जुन ब्रोकरका हातमा मात्र सेयर बजार थियो भने अनलाइन पूर्ण रुपमा चलेपछि लगानीकर्ताले सर्वसुलभ तरिकाले आफै लगानी गर्न सक्ने भए। त्यसले गर्दा लगानीकर्ता बढ्दै जाने र अन्य सेक्टरमा पुँजी पनि नजाने। र बैंकमा पैसा पर्याप्त रुपमा हुँदा लगानीकर्ताको लगानीयोग्य रकम सेयर बजारमा आयो। त्यसले गर्दा लगानी बढ्दै गयो। सेयर बजारमा पनि बढ्दै गयो।’
पछिल्लो समय आर्थिक क्रियाकलाप हुने क्षेत्र पनि खुल्दै गए र पुँजी बजारमा भएको पैसा अन्य क्षेत्रमा गएको उनले बताइन्। यसरी पुँजी अन्य सेक्टरमा जाँदै गर्दा १८ सय ८१ को सेयर बजार बढेर ३२ सय पुग्यो र कारोबार रकम एक दुई अर्बको कारोबार रकम २२ अर्बसम्म पुग्न थालेको थियो।
यसरी रकम बढ्दै गर्दा नियामक निकायले भने सेयर बजार धेरै बढेपछि १८ वटा कम्पनी नराम्रो भनेर ‘हिष्ट्री’ ल्याएको पनि उनले बताइन्। त्यसपछि सेयर बजार क्रमशः रुपमा बढ्दै गएको पनि उनले बताइन्।
पहिले सेयर धितो राखेर जति पनि ऋण लिन पाइन्थ्यो तर राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा ४ देखि १२ करोडसम्म मात्र ऋण लिन पाउने सीमा तोकेको छ।
यति मात्र होइन, ओरालो लागिरहेकै बेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्यायो। ‘त्यसमा जुन सेयर धितो राखेर ऋण लिन्थ्यौँ, त्यसमा राष्ट्र बैंकले ४–१२ भनेर क्याप लगाइदियो। जसले गर्दा सेयर बजार क्रमिक रुपमा घट्दै गयो’, उनले भनिन्।
उनका अनुसार २०३३ सालदेखि सुरु भएको पुँजी बजार अहिले पनि ढुंगे युगमा नै छ। अहिले पनि सेयर बजार सिंहदरबार वरपर मात्र चलेको उनले बताइन्।
कसरी सेयर बजार अगाडि बढ्छ?
‘५८ वटा बुँदा छन्, जुन पूर्व अर्थमन्त्री युवराज खतिवडाले बनाएर दिनुभएको थियो। बजारका समस्या के–के छन्, ती दिनु भन्ने क्रममा हामीले ५८ वटा बुँदा दियौँ। त्यो अहिलेसम्म पनि कार्यान्वयन हुनसकेको छैन। कार्यान्वयन हुने चरणमै छ। यी बुँदा कार्यान्वयन गर्नतिर लाग्नुभयो भने बजारका विसंगति टर्नेछन्,’ उनले भनिन्।
यस्तै नेतृत्वविहीन रहेको धितोपत्र बोर्ड र नेप्सेमा छिट्टै निष्पक्ष तरिकाले अध्यक्ष नियुक्त हुनुपर्ने उनको भनाइ छ।
‘त्यहाँ के छ भने जसले बेसी पैसा बुझाउन सक्छ उहाँ मात्र त्यहाँको नेतृत्व गर्न सक्नुहुन्छ भन्ने कुरा बजारमा आइरहेको छ। यदि राम्रो मान्छे प्रतिस्पर्धामा लगेर नेतृत्वमा लग्ने हो भने पक्कै पनि बजारको विसंगति हट्छ नि’, उनले भनिन्, ‘अहिले नेतृत्व गर्ने मान्छे ४/५ करोड तिरेर जानुहुन्छ र उहाँहरुले लगानीकर्ताको हकमा काम कसरी गर्न सक्छन्? पहिला सेयर बजारलाई आफ्नो लयमा डोर्याउन धितोपत्र बोर्ड र नेप्सेमा नियुक्ति हुनुपर्यो।’
आफूहरुले दिएका बुँदाहरु कार्यान्वयन भयो भने पनि बजार लयमा फर्कने उनले बताइन्। ‘जुन राष्ट्र बैंकले लगाएको सेयर धितो राखेर ऋण लिँदा ४/१२ को क्याप छ, यो अनावश्यक हो। यसलाई खारेज गर्नुपर्यो। यो सँगै मार्जिनको कुरा छ। ब्रोकरसँगै हामीले मार्जिक लिन सक्यौँ भने पनि राम्रो हुन्छ। यस्ता कामहरु बाँकी नै छन्।’, उनले भनिन्।
ट्र्याकमा कसरी आउँछ?
उनका अनुसार बजारको ड्यूटी नै हो घटबढ त हुनुपर्छ। घटबढ नभई अर्को व्यक्तिले कमाउन नसक्ने पनि उनले बताइन्।
‘बजार आफ्नो लयमा चल्नुपर्छ। कसैको बोलीले सय अंकले बढ्ने र कसैको बोलीले सय अंकले घट्ने हुनु हुँदैन। विश्वमा सेयर बजार हेर्दा, जस्तो छिमेकी राष्ट्र भारतमा सेयर बजार बढ्दा त्यहाँका प्रधानमन्त्री उनीहरुसँग खुसीयाली मनाउने गर्छन्’, उनले भनिन्, ‘तर नेपालमा सेयर बजार बढ्यो भने लगाम लगाउने प्रवृति छ। यसलाई पहिले रोक्नु पर्छ। सेयर बजार भनेको अर्थतन्त्रको मेरुदण्ड हो। विदेशीले पनि हाम्रो नेपालको अर्थतन्त्र कस्तो छ भनेर हेर्ने सूचक भनेकै सेयर बजार हो। सेयर बजार सही लयमा आयो भने विदेशीले पनि लगानी गर्न सक्छन्। पहिलो कुरा सेयर बजारलाई सही लयमा ल्याउन नीतिगत तहमा बस्नेहरुको दृष्ट्रिकोण एकदमै स्पष्ट हुनुपर्छ।’
उनले ढुंगे युगबाट सेयर बजारलाई आधुनिकतातर्फ ल्याउन पहिले बैंकलाई ब्रोकर दिनुपर्ने बताइन्। ‘किनभने बैंक ७७ जिलामा पुगेको छ। बैंकले ब्रोकर पायो भने सबैतिरका लगानीकर्ता सम्पर्कमा आउँछन्। बैंकलाई अहिले तत्काल दिन सकिँदैन भने जुन ५१ वटा ब्रोकरहरुलाई हरेक ठाँउमा पुग्न सहज वातावरण बनाइ दिनुपर्छ’, उनले भनिन्।