
काठमाडौं- अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटको यो सिजन सन्दीप लामिछानेको प्रदर्शन सम्झनलायक रहेको छैन। उनले प्रतियोगिताका पछिल्ला दुई खेलमा विकेट लिन सकेका छैनन्।
शुक्रबार भएको खेलमा उनको टोली होबर्ट हरिकेन्सले मेलबर्न स्टार्सलाई २४ रनले पराजित गरेपनि सन्दीपले विकेट लिन सकेनन्। चार ओभर बलिङ गरेका सन्दीपले ३२ रन खर्चिएका थिए।
अघिल्लो खेलमा पर्थ स्कर्चर्सविरुद्ध पनि सन्दीपले विकेट हात पार्न सकेका थिएनन्। त्यस खेलमा उनले चार ओभरमा ४० रन खर्चिएका थिए।
प्रतियोगितामा हरिकेन्सले ५ खेल खेल्नेक्रममा तीन हार र दुई जितको नतिजासहित १० अंक जोडेको छ। सन्दीपले ५ खेलमा २ विकेट मात्र लिएका छन्। यी खेलमा उनले २० ओभर बलिङ गर्दै एक सय ५१ रन खर्चिएका छन्। उनले पहिलो र तेस्रो खेलमा एक एक विकेट लिएका थिए।
प्रतियोगिताको यो सिजन सर्वाधिक विकेट लिने बलरको सूचीमा ५ खेलबाट १० विकेटसहित एन्ड्रयु टाय शीर्षस्थानमा छन्। पाँच खेलमा हरिकेन्सका टम रोजर्सले ८ र नाथन एलिसले ७ विकेट लिएका छन्। यसैगरि जोएल पेरिसले ३ खेलमा ५ र रिले मेरेडिथले दुई खेलमा ४ विकेट हात पारेका छन्।