
काठमाडौँ- यूएईमा जारी एसिसी यू-१९ एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ सय ९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले खराब ब्याटिङ गरिरहेको छ। नेपालले २५ ओभरमा ४ विकेट गुमाएर केवल ६४ रन जोडेको छ।
नेपालका प्रारम्भिक ब्याट्सम्यानद्धय अर्जुन कुमाल ५ तथा कप्तान समेत रहेका देव खनालले १२ रन जोडे। सन्तोष कार्की ३ र विकेटकिपरसमेत रहेका अर्जुन साउद १५ रनमा आउट भए। विवेक मगर २४ रनमा खेल्दैछन्।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन जोड्यो। बंगलादेशका प्रान्तिक नरोज नाबिल एक्लैले एक सय २७ रन जोडे। विकेटकिपर मोहम्मद फाहिमले पनि ५८ रन बनाए।
बंगलादेशले चौथो विकेटका लागि एक सय ७९ रनको साझेदारी गरेको थियो। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नाबिलले एक सय १२ बलमा एक छक्का र ११ चौका प्रहार गरे।
नेपालका गुल्सन झा, तिलक भण्डारी र मोहम्मद अदिल खानले एक एक विकेट लिए। नेपाल रहेको समूह बीमा श्रीलंका र कुवेत पनि रहेका छन्।