
सिन्धुली – राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिन डाइभर्सनको निर्माण कार्य रोकिएको छ। आयोजनामा काम गर्दै आएका मजदुरहरूले जिल्ला दररेटभन्दा कम पारिश्रमिक दिएकाले विरोध गर्दै शुक्रबारबाट निर्माण कार्य रोकेका हुन्।
आयोजना निर्माणको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले जिल्ला दररेटभन्दा कम पारिश्रमिक दिएकाले विरोध गर्दै मजदुरले सम्पूर्ण काम अनिश्चितकालका लागि ठप्प गरेका छन्। मजदुरहरूले आयोजनाले दिएको तलब, सेवा–सुविधा अत्यन्तै न्यून रहेकाले उक्त तलबले आफू र परिवार धान्न कठिन भएको भन्दै जिल्ला दररेटअनुसार पारिश्रमिक दिन माग गरेका छन्।
आन्दोलित मजदुरहरूले शनिबार आयोजनाको निर्माण कम्पनीलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला दररेट कायम हुनुपर्ने, ओभर टाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने, शनिबार पनि ओभर टाइम हुनुपर्ने, चाडपर्व, सरकारी बिदाको ओभर टाइम हुनुपर्ने, दसैं बोनस पाउनुपर्ने, बिरामी हुँदा उपचारसहित नर्मल हाजिरी हुनुपर्नेलगायतका माग गरेका छन्। आफूहरुको माग पूरा नभएसम्म आयोजनाको सम्पूर्ण काम बन्द गरिने उनीहरुको अडान छ।
सुनकोसी मरिन डाइभर्सनमा काम गर्दै आएका लेबरले अहिले ८ घण्टा समय काम गरेबापत दैनिक सुख्खा ५८० रुपैयाँ र मिस्त्रीले ७३५ रुपैयाँका दरले पाउँदै आएको एक मजदुरले बताए। आयोजनामा अहिले लेबर ११० जना, मिस्त्री ५० जना, मेकानिक ८ जना, अपरेटर २० जना, वेल्डर ७ जना, दोभासे ४ जना, कार्यालयका अन्य कामदार र ड्राइभर गरी ३२० जना मजदुर कार्यरत रहेको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीका प्रशासन प्रमुख मिस्टर लूले जानकारी दिए। सुनकोसी मरिन डाइभर्सन अन्तर्राष्ट्रिय आयोजना भएकाले केन्द्रीय सरकारको दररेटअनुसार मजदुरहरूलाई ज्याला दिँदै आएको उनको भनाइ छ।
सरकारले सुनकोसी मरिन डाइभर्सन परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङलाई दिएको छ। यो आयोजनाका लागि सुनकोसीबाट कमलामाई नगरपालिका २ कुसुमटारसम्म १३ दशमलव ३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ।
तामाकोसी र सुनकोसी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोसीको पानी सुरुङमार्फत मरिन खोलामा खसालिने छ। मरिनको पानी बागमतीमा पुग्नेछ र बागमती सिँचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुर्याउन सकिने छ।
मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिने छ। मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ। आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। यो आयोजना बनेपछि सुनकोसीको ६४ क्युबिक मिटर प्रतिसेकेन्ड पानी मरिनमा झर्नेछ। –न्युज कारखाना