
काठमाडौं- त्रिभुवन आर्मी क्लब एएफसी कप छनोट खेल्ने होडबाट बाहिरिएको छ। शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार भएको खेलमा थ्रीस्टारसँग गोलरहित बराबरीमा रोकिएपछि आर्मी छनोट हुने होडबाट बाहिरिएको हो।
६ खेलबाट १० अंक भएको आर्मी तालिकाको चौथो स्थानमा रहेको छ। शीर्षस्थानमा रहेको मच्छिन्द्रको ६ खेलबाट १४ अंक छ। समान खेलबाट १३ अंक भएको मनाङ मर्स्याङ्दी दोस्रो र १२ अंक भएको संकटा तेस्रो स्थानमा छ।
अखिल नेपाल फुटबल संघ-एन्फाले सुरुको सात चरणको समाप्तीमा शीर्षस्थानमा रहने एएफसी क्लब लाइसेन्स प्राप्त टोलीलाई एएफसी कप छनोटका लागि छनोट गर्ने निर्णय गरेपछि मनाङ, मच्छिन्द्र र आर्मी होडमा देखिएका थिए।
एएफसी क्लब लाइसेन्स पाएको अर्को टोली एपीएफको प्रदर्शन भने यो सिजन कमजोर रहेको छ। आर्मीले लगातार दोस्रो खेल बराबरी खेलेको हो। यसअघि शनिबार भएको खेलमा मनाङलाई पराजित गर्दै मच्छिन्द्र शीर्षस्थानमा उक्लिएको थियो।
सातौँ चरणको खेलमा मनाङले ब्रिगेड ब्वाइज र मच्छिन्द्रले नेपाल पुलिससँग प्रतिस्पर्धा गर्ने छ।
यता थ्रीस्टारको लगातार कमजोर प्रदर्शन कायमै रहेको छ। उसले ६ खेलबाट ७ अंक जोडेको छ। थ्रीस्टारले चार बराबरी तथा एक जित तथा एक हारको नतिजा निकालेको हो। प्रतियोगितामा १४ टोली सहभागी रहेकामा हरेकले १३ खेल खेल्नेछन्।