
अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटअन्तर्गत सोमबार भएको खेलमा सन्दीप लामिछाने आबद्ध होबर्ट हुरिकेन्सले एडिलेड स्ट्राइकर्सलाई ७ विकेटले हराएको छ।
स्ट्राइकर्सले दिएको एक सय ७६ रनको लक्ष्य हुरिकेन्सले ९ बल बाँकी छँदा तीन विकेट गुमाएर पुरा गर्यो। विजयी टोलीका प्रारम्भिक ब्याट्सम्यान बेन म्याकडरमेट एक्लैले एक सय १० रन बनाए। अविजित रहेका म्याकडरमेटले ६० बलमा ५ छक्का र १२ चौका प्रहार गरेका थिए।
डीआर्की सर्टले पनि ३७ रन जोडे।
त्यसअघि पहिला ब्याटिङ गरेको स्ट्राइकर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ७५ रन जोडेको थियो। रिली मेरेडिथ एक्लैले ३ विकेट लिए। सन्दीप भने लगातार तेस्रो खेलमा विकेटबिहिन बने। उनले यसपटक चार ओभरमा ३१ रन खर्चिए।
हरिकेन्सले लगातार दोस्रो जित हात पारेको हो। ६ खेलबाट १४ अंक भएको हरिकेन्स तालिकाको तेस्रो स्थानमा छ। समान खेलपछि २१ अंक भएको पर्थ स्कर्चर्सको २१ र सिड्नी सिक्सर्सको १८ अंक छ।