काठमाडौँ – नेपालले यूएईमा जारी एसिसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत समूहगत चरणका सबै खेलमा पराजय ब्यहोरेको छ। मंगलबार भएको खेलमा नेपालले कुवेतसँग एक विकेटको हार ब्यहोर्यो। कुवेतका कप्तानसमेत रहेका प्रारम्भिक ब्याट्सम्यान मित भावसर एक्लैले १७५ रन बनाए।
नेपालले दिएको २ सय ४० रनको लक्ष्य कुवेतले ४८ ओभर ५ बलमा ९ विकेट गुमाएर भेट्टायो। भावसरले १४९ बलमा १ छक्का र २४ चौका प्रहार गरे। उनले जुदे सल्दानासँग पहिलो विकेटका लागि एक सय ९ रनको साझेदारी गरे। सल्दानाले २५ रन बनाए। यी दुईबाहेक कुवेतका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर २ सय ३९ रन जोड्यो। नेपालको पालीमा बासिर अहमदले ५६, विवेक मगरले ५० र मोहम्मद अदिल आलमले ४९ रन बनाएका थिए। २७ रन जोड्दा ३ विकेट गुमाएको नेपाललाई बासिर, विवेक र अदिलले सम्हालेका हुन्।
कप्तान देव खनाल ५ र विकेटकिपर अर्जुन साउद १० रन बनाएर आउट भए। प्रारम्भिक ब्याट्सम्यान सन्तोष कार्कीले पनि ५ रन मात्र जोडे। आठौँ नम्बरमा ब्याटिङमा आएका अदिलले ४२ बल खेल्दै ५ छक्का प्रहार गरेका थिए। नेपालले ३९ ओभरमा ९ विकेट गुमाएको थियो। बासिर र विवेकले चौथो विकेटका लागि ९३ रनको साझेदारी गरे।
प्रतियोगितामा सुरुका दुई खेलमा बंगलादेश र श्रीलंकासँग पराजित भएपछि नेपाल पहिलो चरणबाटै बाहिरिने पक्का भइसकेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































