वर्षाले नौ करोड काँचो इँटा नष्ट

वर्षाले नौ करोड काँचो इँटा नष्ट
+
-

भक्तपुर – बुधबारको अविरल वर्षाले भक्तपुरमा मात्रै नौ करोड काँचो इँटा नष्ट भएको छ। वर्षाले चाङ लगाएको र खलामै रहेका काँचो इँटा नष्ट गरेको हो।

वर्षाले खलामा भएका इँटा माटोमै परिणत भएका छन्। त्यस्तै इँटाका चाङ लडेर माटोमै मिसिएका छन्। खलाभरि पानी जम्दा वर्षा रोकिए पनि मजदुरले काम सुरु गर्न सकेका छैनन्। वर्षाले मजदुरहरु बस्दै आएका केही झ्याउलीमा समेत क्षति पुर्‍याएकाे छ।

वर्षाले भक्तपुरका इँटा उद्योगीको करिब ८० प्रतिशत काँचो इँटा नष्ट गरेको भक्तपुर इँटा उद्योगी व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बाले जानकारी दिए। उनका अनुसार प्रतिइँटाभट्टा करिब १५ लाख काँचो इँटा नष्ट भएको छ।

अध्यक्ष ह्योम्बाले क्षतिको पूर्ण विवरण आउन भने बाँकी रहेको बताए। ‘क्षति संकलन हुँदैछ’, उनले भने, ‘सबै इँटाभट्टाबाट क्षतिको विवरण मगाइरहेका छौं।’

रातको समयमा वर्षा हुँदा खलाको इँटासमेत चाङ लगाउन नपाएको मजदुरहरुले बताएका छन्। उनीहरुले अघिल्लो दिन घाम नलागे पनि पानी पर्ने अनुमान नै नगरिएको सुनाए।

‘पुसमा पानी पर्ने अनुमान नै गरेका थिएनौं’, एक मजदुरले भने, ‘फेरि रातिदेखि पानी पर्दा खलामा रहेको इँटा चाङ लगाउन पाइएन।’
वर्षाको पानी खलामा जमेकाले अझै ३–४ दिन काम नहुने उनले दुःखेसो पोखे।

भक्तपुरमा ६० वटा इँटाभट्टा सञ्चालन भएका छन्। गत वर्ष कोरोना भाइरस महामारीले उद्योग बन्द गरेका व्यवसायीले यस वर्ष वर्षाको कारण क्षति भोगेका छन्।

उद्योगले खलामा रहेको इँटाको क्षतिपूर्ति दिँदैन तर चाङ लगाएको इँटाको भने क्षतिको पचास प्रतिशत दिने संघका अध्यक्ष ह्योम्बाले बताए।
‘राति वर्षा हुँदा मजदुरले खलाको इँटासमेत उठाउन भ्याएननन्’, उनले भने, ‘उद्योगले खलाको इँटाको मूल्य दिँदैन।’

उद्योगले मजदुरलाई प्रतिहजार काँचो इँटाको एकहजार ३०० रुपैयाँ भुक्तानी दिनेछ। भक्तपुरमा उद्योग आफैले काँचो माटो मेसिनले मुछेर मजदुरको खलाखलासम्म पुर्‍याइदिने गर्दै आएको छ। यसले गर्दा मजदुरहरुले धमाधम इँटा तयार गरेर चाङ लगाए पुग्छ। एउटा मजदुरको परिवारले दिनमा एकहजार ५०० देखि २ हजार गोटा काँचो इँटा तयार गर्नसक्छ। चाङ लगाएर सुकेको इँटा उद्योग आफैले उठाएर लगी भट्टीमा पोल्ने गर्छ।

उद्योगी केशव चवालले बुधबार परेको वर्षाले कोरोना भाइरसले जत्तिकै इँटा उद्योगमा क्षति पुर्‍याएको बताए। उनले आफ्नो उद्योगको करिब १८ लाख काँचो तयारी इँटा वर्षाले नष्ट गरेको सुनाए।

वर्षाले भएको जति काँचो इँटा नष्ट गरेकाले यस वर्ष नयाँ इँटा बजारमा आउन समय लाग्ने उनले सुनाए।

देशभर २० प्रतिशत नष्ट

वर्षाले देशभर करिब २० प्रतिशत काँचो इँटा नष्ट गरेको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले जानकारी दिए। उनले बुधबार देशभर पानी नपरेकाे तर काठमाडौँ उपत्यकामा परेकाे पानीले बढी क्षति पुर्‍याएको बताए।

‘पूर्वी तराईमा वर्षा भएको खबर आएको छैन’, अध्यक्ष चित्रकारले भने, ‘पश्चिममा कममात्रै वर्षा भएकाले इँटामा क्षति पुगेको जानकारी आएको छैन।’

उनले वर्षाले पुर्‍याएको क्षतिको संकलन कार्य भइरहेको जानकारी दिँदै दुईतीन दिनमा पूर्ण विवरण आउने जानकारी दिए।

महासंघका अनुसार देशभर एकहजार २५८ वटा इँटाभट्टा रहेका छन्। त्यसमध्ये काठमाडौँ उपत्यकामा ११२ वटा इँटाभट्टा रहेका छन्।
अध्यक्ष चित्रकारले कोरोना भाइरस महामारीपछि बन्द भएका केही इँटा उद्योग अझै सञ्चालनमा आउन नसकिएको बताए।

भक्तपुरमै कोरोना भाइरस महामारीका कारण ४ वटा इँटाभट्टा बन्द भएको महासंघले जनाएको छ। यहाँ ६४ वटा इँटाभट्टा रहेकोमा यसवर्ष ६० वटामात्रै सञ्चालनमा आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?