
काठमाडौँ- नेपाल एपिएफ क्लबका दीक्षा तामाङ र पुलिसका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन्।
दीक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४–२ ले पराजित गर्दै ४० हजार रुपैयाँ पुरस्कार जितिन्। उपविजेतामा सिमित रविनाले २० हजार रुपैयाँ पाइन्। सेमिफाइनलबाटै बाहिरिएका सेनाकी दिया देउला र पुलिसकी मन्जु सुवालले १०/ १० हजार रुपैयाँ पाए।
युथ अफ तुलसीपुर, दाङको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै विनेश खनियालाई ४–२ ले पराजित गर्दै ४० हजार रुपैयाँ पुरस्कार हात पारे। विनेशले २० हजार रुपैयाँमा चित्त बुझाउनु पर्यो। सेमिफाइनलबाटै बाहिरिएका सेनाका दीप साउन र एपिएफका संयोग कपालीले पनि १०/१० हजार रुपैयाँ पाए।
पौष १६ देखि १८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा महिला टिम ईभेन्ट्सको उपाधि नेपाली सेनाले जित्यो। सेनाले एपिएफलाई ३–२ ले हरायो। विजयी सेनाले ३० हजार र उपविजेता बनेको एपिएफले २० हजार रुपैयाँ पाए।
पुरुष टिमतर्फ पुलिस पहिलो, सेना दोश्रो र एपिएफ तेश्रो भए। पुलिसले ३० हजार र सेनाले २० हजार रुपैयाँ पाए।