
काठमाडौँ – अनुशासन कारबाहीमा परेका ज्ञानेन्द्र मल्लसहित चारजना खेलाडीले नेपाल क्रिकेट संघ-क्यानसँग लिखित समझदारी माग गरेपछि सोमबार पनि बन्द प्रशिक्षणमा सबै खेलाडी सहभागी हुने-नहुने निश्चित देखिएको छैन।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले असन्तुष्ट खेलाडीलाई होटल फर्कन सोमबार साँझ ६ बजेसम्मको समय दिइएको बताए।
क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले सोमबारदेखि सुरु भएको बन्द प्रशिक्षणमा २० जना खेलाडी सहभागी भएको बताए।
ज्ञानेन्द्रको समूहमा रहेका विनोद भण्डारी, सुशन भारी, विक्रम सोब र नन्दन यादव आइतबार साँझबाट होटल उपस्थित भएको उनले जानकारी दिए। अब ९ जना खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुन बाँकी छ।
यसअघि आइतबार क्यान, प्रमुख प्रशिक्षक पुबुदु दासानायके र असन्तुष्ट खेलाडीबीच छलफल भएको थियो। छलफलमा कप्तान परिवर्तनबाहेकका सबै कारबाही फिर्ता लिने सहमति भएको थियो। स्रोतका अनुसार उक्त सहमति लिखित रुपमा हुनुपर्ने माग ज्ञानेन्द्र समूहको छ।