
उदयपुर – सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट जलजले खण्डमा सवारी दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा विपरीत दिसाबाट आएको टिपर र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाईघाट बजारबाट जलजलेतर्फ जाँदै गरेको प्र २–०१ प ८४९१ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आएको स१ख ७२१ नम्बरको टिपर एक आपसमा ठोकिएको जनाएको छ।
दुर्घटनामा त्रियुगा नगरपालिका–५ देउरीका ३१ वर्षीय दिलीप दुलालको उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार दुलालको विराटनगरस्थित न्युरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक त्रियुगा नगरपालिका–५ देउरीका ३२ वर्षीय प्रभुनारायण चौधरीको न्युरो हस्पिटल विराटनगरमा उपचार भइरहेको जनाएका छन्। त्रियुगा नगरपालिका वडा नम्बर ६ लालपत्ताका ३६ वर्षीय चालक मेखबहादुर राउतलाई सवारी साधनसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।