
काठमाडौँ – गोकर्णेश्वरमा खुला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। काठमाडौँ गोकर्णेश्वर–४ स्थित अल नेपाल युवा क्लवले माघ १७ देखि १९ गतेसम्म आरुबारीमा खुला नकआउट पुरुष भलिबल प्रतियोगिता गर्ने भएको हो।
अन्तर्राष्ट्रिय भलिबल संघ ‘फिभ्ब’ को नियमानुसार टीटी सिस्टममा प्रतियोगिता हुने आयोजक क्लवले जनाएको छ। क्लवका अनुसार ६ हजार रुपैयाँ शुल्क तिरेर प्रतियोगितामा टीम दर्ता गर्नुपर्नेछ। प्रतियोगितामा भाग लिने टीमले एकजना राष्ट्रिय खेलाडी समावेश गर्न पाउने आयोजक क्लवका अध्यक्ष दोर्ची शेर्पाले जानकारी दिए।
उनका अनुसार प्रतियोगिताको विजेता टीमले नगद एकलाख रुपैयाँ जित्नेछ। त्यस्तै दोस्रो र तेस्रो हुने टीमले क्रमशः ५० र २५ हजार रुपैयाँका साथै कप, मेडल र प्रमाणपत्र हात पार्नेछन्।
त्यस्तै व्यक्तिगत रुपमा अनुशासित खेलाडी, उत्कृष्ट स्पाइकर, डिफेन्डर, लिफ्टर र ब्लकरले पनि ट्रफी, मेडल र प्रमाणपत्र जित्नेछन्।
यसैबीच प्रतियोगिताको लागि नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले क्लवलाई भलिबल र जाली सहयोग हस्तान्तरण गरेका छन्। उपाध्यक्ष सुवेदीले ५ थान भलिबल र २ थान जाली क्लवका अध्यक्ष दोर्ची शेर्पालाई हस्तान्तरण गरेका हुन्।