काठमाडौँ– आज माघे (मकर) संक्रान्ति पर्व। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति पनि भनिन्छ।
माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। माघे संक्रान्तिबाट पृथ्वीको उत्तरी गोलार्धमा दिनहरु घमाइलो हुँदै जाने संस्कृतविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ बताउँछन्।
उनी भन्छन्, ‘दिन घमाइलो हुनु भनेको मन रमाइलो हुनु हो। दिनहरु घमाइलो हुँदै जाने हुनाले जाडोमा कठ्याग्रिएर नुहाउनुभन्दा माघे संक्रान्ति पर्वका दिन नुहाउने प्रचलन रहेको हो।’
माघे संक्रान्तिका दिन खाइने विभिन्न परिकारहरु जाडोबाट शरीरलाई जोगाउनका लागि खाने प्रचलन रहेको गुरुङको तर्क छ।
‘नेपालीहरुको हरेक चार्डपर्वमा केही न केही परिकार खाने प्रचलन रहेको छ। सोहीअनुसार जाडोमा घ्यू, चाकु, कन्दमुलहरु, अदुवा, चिउरा लगायतका परिकार खाने परम्परा रहेको हो,’ उनी भन्छन्, ‘जाडोमा खाइने यस्ता परिकारहरु कठ्याग्रिएको शरीरलाई तङ्ग्र्याउनको लागि खाने गरिएको हो।’
यो पर्व कुनै जाति वा वर्ग विशेषको नभइ सबैको रहेको उनी बताउँछन् । नेपालीहरुको चार्ड पर्वको तिथिमिति एउटै हुने तर मनाउने तरिकामा मात्र फरक रहेको उनको भनाइ छ।
माघे संक्रान्ति पर्व कहिलेबाट मनाउन सुरु गरियो भन्ने कुनै आधार नरहेको संस्कृतविद गुरुङ बताउँछन्। मानिसहरुले खाने कुरा खान जानेदेखि नै यो परम्परा चल्दै आएको उनी बताउँछन्।
उनी भन्छन्, ‘जुन समयदेखि धर्ति आकाशको सृष्टि भयो, त्यस समयदेखि नै यो पर्व मनाउँदै आइएको हो।’