
काठमाडौँ– आजबाट नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु भएको छ। अखिल नेपाल फुटबल संघको खेल मैदान सातदोबाटोमा प्रशिक्षण सुरुभएको हो।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए। फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको हो।
नेपाल र मौरिससबीच दशरथ रंगशालामा माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल हुने तालिका रहेको छ। काठमाडौँमा जारी ए डिभिजन लिगको नवौँ चरण सोमबार सकिएको छ। राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छानिएका र जारी लिगमा विभिन्न क्लबमा आवद्ध भएर खेलिरहेका खेलाडीहरु पनि बन्द प्रशिक्षणमा पुगेका छन्।
मुख्य प्रशिक्षण अल्मुताइरीले सहायक प्रशिक्षकका रुपमा संकटा क्लबका मुख्य प्रशिक्षक विष्णु गुरुङलाई बोलाएका छन्। मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि उनलाई अब्दुल्लाहले दोस्रो सहायक प्रशिक्षकका रुपमा टिममा बोलाएका हुन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चारकर्मीहरुसँग कुरागर्दै मुख्य प्रशिक्षक अल्मुताइरीले मौरिससविरुद्ध खेल्न तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएका छन्। यस खेलमा केही नयाँ खेलाडीलाई मौका दिने जानकारी पनि मुख्य प्रशिक्षक अल्मुताइरीले दिए।
यस्तै सहायक प्रशिक्षकको रुपमा जिम्मेवारी पाएका विष्णु गुरुङले आफूले पाएको मौकाको भरपुर सदुपयोग गरेर आफूलाई र खेललाई अझ निखार्ने बताए। यो पटकको प्रशिक्षणमा चोटबाट मुक्त भएर फर्किएका विमल घर्तिमगरसँगै लामो समयदेखि अष्ट्रेलियामा रहेका जगजित श्रेष्ठले पनि कमब्याक गरेका छन्। तर नेपालमा बढ्दै गएको कोरोना संक्रमणका कारण यो खेल हुने नहुने अनिश्चित छ।