
लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत पर्ने डुम्रे–बेसीसहर सडक दुई लेनको बनाउन थालिएको छ। मनाङ र लमजुङलाई राजधानी काठमाडौँ तथा विभिन्न ठूला सहरसम्म जोड्ने बेसीसहर–डुम्रे सडक एकमात्रै सडक हो।
४२ किलोमिटर डुम्रे–बेसीसहर सडकखण्डमा दैनिक ५ सयको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्दछन्। तर, सडकको उचित मर्मत र विस्तार नहुँदा यात्रु निकै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तले बताए। उनका अनुसार २ लेनको सडक निर्माण कार्य ३० महिनामा सक्ने गरी सम्झौता भएको छ।
पन्तका अनुसार डुम्रे बजारबाट दुई सय २० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो। यसअघि ३ दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) अa ७ मिटरको हुनेछ।
दायाँबायाँ १-१ मिटरको ‘सोल्जर’ हुने उक्त सडकमा आवश्यकताअनुसार १-१ मिटरको नाली निर्माण हुनेछ। पृथ्वी राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइट अफ वे’ सहित १५-१५ मिटरको हुने भएको छ। अहिले सडकको नाली बनाउने, चौडाइ पुर्याउन कटिङ गर्ने, पर्खाल उठाउनेलगायत निर्माण कार्य भइरहेको छ। आठ दशमलव आठ किलोमिटर सडक २०८० साल कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो।
उक्त सडकका लागि भ्याट र पीएसबाहेक ७५ करोड ९४ लाख ९७ हजार रुपैयाँको लागत अनुमान गरिएकोमा आशिष अनेस्ट जेभीले ३८ करोड ९ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। पृथ्वी राजमार्गअन्तर्गत पर्ने डुम्रे–बेसीसहर सडक मर्मत नहुँदा यात्रु कष्टकर यात्रा गर्न बाध्य थिए। -न्युज कारखाना