
काठमाडौँ– आयोजक सहारा एकेडेमीलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा विजयी हुँदै एपीएफले अन्तिम आठमा भुटनीज यूथ सकर क्लबसँगको भेट पक्का गरेको हो।
एपीएफको जितमा आभास लामिछाने र प्रदीप लामाले दुवै हाफमा एक एक गोल गरे। खेलको १४औं मिनेटमा आभासले बक्स बाहिरबाट एकल प्रयासमा सुन्दर गोल गरेका थिए।
६०औं मिनेटमा प्रदीपले बक्सभित्र पाएको बललाई नियन्त्रण लिँदै सेकेन्ड बारमा जाली चुमाएका थिए। हारसँगै आयोजक सहारा क्लब प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ।
प्रतियोगिताअन्तर्गत शुक्रबार दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। १५ माघसम्म हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ।