
काठमाडौँ – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकामा शनिबारदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ।
संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरेका हुन्। अब जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारीसाधनमात्रै गुड्न पाउने छन्।
अत्यावश्यक सेवा क्षेत्रमा भने जोर–बिजोर प्रणाली लागू गरिएको छैन। औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास–पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू नहुने प्रशासनले जनाएको छ।
खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधनमा चालक र सहचालकमात्रै बसेर सञ्चालन गर्न पाइने छ।
यस्तै गरी परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले सवारी चलाउन पाउँछन्। बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीमा पनि जोर–बिजोर प्रणाली लागु हुने छैन।
सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास एवं पत्रकार परिचयपत्रका आधारमा पत्रकार तथा कूटनीतिक नियोगका सवारीसाधनमा पनि जोर–बिजोर प्रणाली लागू नहुने प्रशासनले सूचित गरेको छ।