
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतका सरकारी भौतिक सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन्।
मन्त्री पौडेलले आइतबार केशर महलको निरीक्षण गर्दै महल परिसरमा रहेको जमीन निजी क्षेत्रलाई प्रयोजनको लागि नदिने बताएका हुन्।
उनले विभिन्न सञ्चारमाध्यमहरुमा केशर महल बाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचार प्रकाशित भएको भन्दै महलको निरीक्षण गरेको बताए।
उनले सरकारी संरचनाहरु नियमविपरीत निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि बताए।
‘केशर महल ऐतिहासिक स्थान हो, जतिबेला नेपालमा शिक्षाको विकास शुरुवात भयो त्यति बेला नै केशर महल शिक्षासँग सम्बन्धित भवनको रुपमा छ। यहाँ निकै ऐतिहासिक पुराना पुरातात्विकसँग सम्बन्धित विषयहरुको संग्रह गरेर राखिएको छ। भूकम्पबाट क्षति भइसकेपछि यो भवन बन्ने प्रक्रियामा छ’, मन्त्री पौडेलले भने, ‘यसको बाहिरतिर जमीनको कुरा पनि केही सामाजिक सञ्जाल, पत्रिकाहरुमा प्रकाशित भएको पनि जानकारी प्राप्त गर्यौं। कतै शिक्षा मन्त्रालय मातहतका निकायहरुले निजी क्षेत्रलाई निजी प्रयोजनको निम्ति बाहिरपट्टिको जमीन दिन खोजेको हो कि भन्ने आशयका कुराहरु आएको हुँदा शिक्षा मन्त्रालय र मेरो आफ्नो पनि ध्यानाकर्षण भएको छ। कुनै पनि प्रकारको निजी क्षेत्रलाई शिक्षा मन्त्रालय मातहतका यसप्रकारको भौतिक सम्पत्ति प्रयोग गर्न दिइनेछैन, दिइँदैन। कहीँकतै भए गरेको प्राप्त भएमा हामी राज्यको मातहतमा ल्याउने गरेर अघि बढ्छौं।’
उनले महलको पुनर्निर्माणमा ढिलाइ हुँदा मन्त्रालयसँग सम्बन्धित कतिपय काम व्यवस्थित गर्नको निम्ति भौतिक ठाउँहरुको अभाव भएकोसमेत बताए । अबको ६ महिनाभित्रमा केशर महलको काम सक्नेगरी लाग्न उनले निर्माण व्यवसायीलाई निर्देशन दिए।
विसं २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महलको पुनर्निर्माणको काम जारी रहेको छ। केशर महलको पुनर्निर्माणपछि त्यहाँको संरचनालाई कसरी प्रयोग गर्ने भन्नेबारेमा सुझाव दिन गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन प्रारुपबारेको छलफलमा स्वप्न बगैँचा विकास समितिलाई केशर महल विकास समिति बनाएर भौतिक संरचनालाई व्यापारिक कार्यमा प्रयोग गर्ने प्रतिवेदनको मस्यौदामा समावेश गरिएको बताइएको छ। केशर महल ३४ रोपनी दुई आना एक पैसा तीन दाम क्षेत्रफलमा फैलिएको छ भने त्यहाँस्थित स्वप्न बगैँचा आठ रोपनी क्षेत्रफलमा रहेको छ।