जलवायु परिवर्तनको प्रभाव सगरमाथामा चिन्ताजनक, २ हजार वर्षमा जम्मा भएको हिउँ २५ वर्षमा पग्लियो

जलवायु परिवर्तनको प्रभाव सगरमाथामा चिन्ताजनक, २ हजार वर्षमा जम्मा भएको हिउँ २५ वर्षमा पग्लियो
+
-

काठमाडौँ – विश्वका सर्वोच्च शिखर सगरमाथाको माथिल्लो क्षेत्रबाट मानवीय कारणले भएको जलवायु परिवर्तनको प्रभावका कारण अतितीव्र गतिमा बरफ (जमेको अवस्थामा रहेको पानी) पग्लिँदै गएको पछिल्लो अध्ययनबाट देखिएको छ।

विभिन्न देशका वैज्ञानिक तथा आरोहीहरूले सगरमाथाको माथिल्लो क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको प्रभाव र त्यसले बरफको मात्रा कम हुनुमा कस्तो सहयोग गरेको छ भन्नेबारे अध्ययन गरेका हुन्। सो अध्ययन प्रतिवेदन बिहीबार नेचर जर्नलको क्लाइमेट एन्ड एट्मसफियरिक साइन्समा प्रकाशन भएको हो।

अध्ययन प्रतिवेदनअनुसार विश्वको सर्वोच्च शिखरमा जम्मा हुन दशकौँ लागेको हिम (बरफ) हरेक वर्ष गुमाउँदै गएको र त्यसको कारक मानवीय गतिविधि नै हो।

सगरमाथाको ८ हजार २० मिटर उचाइ र आसपास क्षेत्रमा रहेको साउथकोल हिमनदीमा करिब दुई हजार वर्षको अवधिमा जम्मा भएको हिम (बरफ) पछिल्लो करिब २५ वर्षमा पग्लिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ। साउथकोल हिमनदीमा हिम जम्मा हुन लागेको समयभन्दा पग्लिने समय करिब ८० गुणा तीव्र देखिएको अनुसन्धानकर्ताले बताएका छन्।

आफूहरूको अध्ययनले जलवायु परिवर्तनको प्रभाव माथिल्लो हिमाली क्षेत्रमा आकलन गरिएभन्दा गम्भीर रूपमा पर्ने देखाएको अनुसन्धानकर्ताले बताएका छन्।

सगरमाथासहित माथिल्लो हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावका कारण तीव्र गतिमा हिम पग्लिँदा त्यसको गम्भीर प्रभाव तल्लो तटीय क्षेत्रका बासिन्दा, उनीहरूको जनजीविका तथा खानेपानी, सिँचाइ र जलविद्युत्मा पर्ने देखिएको हो।

हिमालको पाँच हजार मिटरभन्दा माथिका क्षेत्रमा रहेका हिमनदीमा हिमको मात्रा कुन दरमा घटिरहेको छ भन्नेबारे विश्वमा निकै कम अध्ययन भएको र त्यसको फलस्वरुप जानकारी छैन।

यस्तो अवस्थामा आफूहरूले सर्वोच्च शिखर सगरमाथाको ८ हजार मिटर माथि रहेको हिमनदीमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गरेको अनुसन्धानकर्ताले प्रतिवेदनमा उल्लेख गरेका छन्।

सन् २०१९ मा वैज्ञानिक र आरोहीसहितको टोलीले सगरमाथाको माथिल्लो क्षेत्रमा रहेको साउथकोल हिमनदीको स्थलगत अध्ययन गरेका थिए। उनीहरूले त्यो बेला हिमनदीको १० मिटर लामो क्षेत्रबाट नमुना संकलन गरेका थिए। त्यो बेला वैज्ञानिक सहितको टोलीले विश्वकै उच्च स्थानमा दुई स्वचालित मौसमी केन्द्र स्थापित गरेका थिए। संकलित नमुना र स्वचालित मौसमी केन्द्रबाट उपलब्ध भएको तथ्यांकको विश्लेषण गरेर अध्ययन गरिएको उल्लेख छ।

अध्ययनबाट साउथकोल हिमनदीको हिम (बरफ) घट्नुमा मानवीय कारण भएको जलवायु परिवर्तन कारक रहेको स्पष्ट रुपमा देखिएको प्रतिवेदनमा जनाइएको छ। विशेषगरी सन् १९९० को दशकयता हिम पग्लिने क्रम तीव्र भएको देखिएको हो।

मानवीय गतिविधिका कारण भएको जलवायु परिवर्तनको गम्भीर प्रभाव पृथ्वीको सर्वोच्च क्षेत्रमा चिन्ताजनक रूपमा परेको तथा हिउँले ढाकिएको क्षेत्रको सन्तुलनमा समेत असर परेको देखिने प्रतिवेदनमा जनाइएको छ।

पछिल्लो २५ वर्षमा साउथकोल हिमनदीले करिब ५५ मिटर हिम गुमाएको छ। सन् १९५० को दशकदेखि नै हिम गुम्ने क्रम सुरु भए पनि सन् १९९० दशकको पछिल्ला वर्षदेखि तीव्र गतिमा हिम पग्लिएको देखिने अध्ययन प्रतिवेदनमा उल्लेख छ। हिम पग्लिँदै जाँदा सूर्यको विकिरण परावर्तन गर्ने हिमनदीको क्षमता कम हुने र त्यसको फलस्वरुप हिम पग्लिने क्रम अझ तीव्र बन्ने हुन्छ।

अध्ययन टोलीले सन् २०१९ मा साउथकोल हिमनदी (८ हजार २० मिटर उचाइ) बाट हिमको नमुना संकलन गर्नुका साथै ८ हजार ४४० मिटरको उचाइमा माइक्रोप्लास्टिक फेला पारेको थियो।

यस्तै, ७ हजार ९४५ मिटर र ८ हजार ४३० मिटरको उचाइमा मौसमी केन्द्र स्थापना गरेको थियो। त्यसकै आधारमा गरिएको अध्ययनले सगरमाथामा चिन्ताजनक रुपमा जलवायु परिवर्तनको प्रभाव परेको तथा त्यसले गर्दा तीव्र गतिमा हिम पग्लिएको देखाएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?