
लमजुङ – लमजुङको घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको ओइरो लागेको छ। बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेसीसहरलगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओइरो लागेको हो।
वर्षाका कारण लमजुङका सबैजसो अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ। हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेको छ। कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका पर्यटकीय गन्तव्यहरूमा पर्यटक बढेसँगै स्थानीय पर्यटन व्यवसायी खुसी भएका छन्।
हिमपातसँगै चिसो अत्यधिक बढेको र चिसोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएको घलेगाउँका विष्णुमाया घले बताउँछिन्। तर, अहिलेको हिमपात र बालीनाली सप्रिने भएकाले किसानहरू भने खुसी भएका छन्। सुख्खा जमिनमा हिमवर्षा हुँदा सिंचाइ पुग्नुका साथै जडिबुटीसमेत उम्रने स्थानीय गमला बिकको भनाइ छ।
घलेगाउँसँगै मर्स्याङ्दीको सिउरुङ, हर्सिङडाँडा, बेसीसहर नजिकैको वन क्षेत्र, दूधपोखरी, दोर्दीको माथिल्लो भेगलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ। बाक्लो हिमपातका कारण हरियो जंगल र काला पहाड पुरै सेताम्मे देखिएका छन्।