
प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । उनको आइतबार बिहानमा मुम्बइमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्वर कोकिलाका नामले समेत पुकारिने लताको ९२ वर्षको उमेरमा निधन भएको हो । समाचार संस्था पिटिआइका अनुसार झण्डै ८ दशक लामो गायन यात्रामा ३६ भाषामा हजारौँ गीत गायकी लताको मुम्बई स्थित अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । उनलाई हालैका दिनमा फेरि भेन्टिलेटरमा राखिएको थियो ।
मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा लता मंगेशकरको उपचार भइरहेको थियो । उनलाई कोरोना संक्रमणसँगै निमोनिया भएको थियो। संक्रमण पुष्टि भएपश्चात जनवरी ८ मा उनी अस्पताल भर्ना भएकी थिइन् ।
भारत रत्नबाट सम्मानित मंगेशकरले भारतीय चलचित्रमा धेरै कालजयी गीत गायकी छन् ।
महान पार्श्वगायिका लता मंगेशकरले चलचित्र संगीतलाई नयाँ परिभाषा प्रदान गरेको मानिन्छ । उनले ३० हजार भन्दा बढी गीत गायकी छन् ।
लताको जन्म सन् १९२९ को सेप्टेम्बर २८ मा भारतको इन्दौरमा भएको थियो । उनका पिता पण्डित दीनानाथ मंगेशकर पनि गायक थिए । उनी रंगमञ्च कलाकार पनि हुन् । उनी पाँच सन्तान मध्ये जेठी हुन् ।
उनले चलचित्रमा अभियन पनि गरेकी छन् । आर्थिक अवस्था सुधारका लागि उनले अभिनय गरेको एक अन्तर्वार्तामा बताएकी थिइन् । उनले मराठी र हिन्दी गरी ८ चलचित्रमा काम गरेकी छन् ।
उनले सन् १९४९ को चलचित्र महलका लागि पहिलो हिन्दी चलचित्रका लागि गीत गाएकी थिइन् । त्यसपछिका चार दशक उनले हिन्दी चलचित्रमा हजारौँ गीत गाइन् ।
पाकिजा, मजबूर, आवारा, मुगल–ए–आजम, श्री ४२०, अराधना, दिलवाले दुल्हनिया ले जाएंगेसहितका चलचित्रमा उनले गीत गाएकी छन् ।
सन् १९६२ मा चीनसँगको युद्धमा शहीद भएको भारतीय सैनिकको सम्मानमा उनले ऐ मेरे वतन के लोगोँ गीत गाएकी थिइन्, सो गीत सुनेर भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहर लाल नेहरु रोएका थिए ।