
बुटवल– नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले सत्ता गठबन्धनले एमसीसीलाई अनावश्यक रुपमा गिजोल्ने काम गरेको आरोप लगाएका छन्।
सरकारले संसद्मा प्रक्रिया अघि नबढाएर नेपाली जनतालाई गुमराहमा राखेको उनको आरोप छ।
प्रेस चौतारी नेपाल, रूपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता ज्ञवालीले सरकारमा संलग्न पार्टीकै नेताले अमेरिकासँग एकथरी र नेपालभित्र अर्कोथरी कुरा गरेर दोहोरो चरित्र देखाएको दाबी गरे।
‘सरकारले जनतालाई एमसिसीबारे अब धेरै गुमराहमा नराखी स्पष्ट पार्नुपर्छ, अमेरिकामा एउटा कुरा नेपालतर्फ फर्किँदा अर्को कुरा गर्नु हुँदैन,’ ज्ञवालीले भने।
उनले एमालेलाई सत्ता गठबन्धनप्रति कुनै चासो नभएको बताउँदै सरकारले स्थानीय तहको चुनाव छल्न अनेक बहाना गरिरहेको दाबी गरे।
‘गठबन्धनप्रति एमालेलाई कुनै टाउको दुखाइ छैन,’ ज्ञवालीले भने, ‘छालाका जुत्ता पानी देखेर डराएजस्तै कांग्रेस र माओवादीसहितको गठबन्धन चुनावसँग डराएको छ।’