
नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री सवार सरकारी गाडीलाई बाँके राष्ट्रिय निकुञ्जमा खटिएका सुरक्षाकर्मीले २० मिनेट रोके। हतारमा रहेकी उपाध्यक्ष खत्रीले गाडी छोड्न आग्रह गरिन्। सुरक्षाकर्मीले मानेन।
उपाध्यक्षको गाडी निकुञ्ज क्षेत्रभित्र तीव्रगतिमा चलाएको कारण कारबाहीस्वरुप रोकिएको थियो। गत १४ गते १ बजेको घटना थियो यो। उपाध्यक्ष खत्रीले निकुञ्जका प्रमुख, निकुञ्जमा खटिएको नेपाली सेनाका अधिकारीलाई फोन गरिन्। कतैबाट सुनुवाइ भएन।
सबैका लागि बनाएको नियम कसैको आदेशमा तोडिनेवाला थिएन। तोकिएको समयभन्दा अघि पुगेकाले उपाध्यक्ष खत्री सवार गाडीलाई रोकिएको थियो।
बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा भेइकल ट्राकिङ एण्ड रिकग्नाइजेसन सिस्टम (भीटीआरएस) जडान गरेपछि तीव्रगतिमा गुड्ने सवारीसाधन धमाधम कारबाहीमा पर्दै आएका छन्। बाँके राष्ट्रिय निकुञ्ज पूर्व पश्चिम राजमार्गको ७२ किलोमिटरमा फैलिएको छ। निकुञ्ज समेटिएको खण्डमा तीव्र गतिमा गुड्ने सवारीसाधनले संरक्षित जनावरलाई ठक्कर दिने भएकाले भीटीआरएस प्रविधि जडान गरिएको हो।
निकुञ्जले पश्चिममा प्रगतिनगर र पूर्वमा शिवखोलामा क्यामेरा राखेको छ। पश्चिमबाट जाने गाडीलाई प्रगतिनगरमा रहेको क्यामेराले क्याप्चर गर्छ। शिवखोलामा खटिएको सुरक्षाकर्मीकहाँ म्यासेज जान्छ। निकुञ्जभित्रको राजमार्ग क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्ने नियम बनाइएको छ।
राजमार्ग भएको र टाढा जानु पर्ने भएकाले प्रतिघण्टा ६० किलोमिटरको गतिसम्मलाई व्यवहारिक रुपमा हेर्ने गरिएको छ। प्रतिघण्टा ६० किलोमिटरभन्दा तीव्र गतिमा गुडेका सवारीसाधनलाई ठाउँको ठाउँ कारबाही हुने गरेको छ। प्रगतिनगरबाट प्रवेश गरेका गाडीलाई शिवखोला र शिवखोलाबाट प्रवेश गरेका गाडीलाई प्रगतिनगरमा रोकेर कारबाही गर्ने गरिएको छ।
भीटीआरएस प्रविधि जडान गरेपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले गाडी नम्बर टिप्नुपर्ने झन्झटबाट मुक्ति पाएको छ। गाडी इन्ट्री गर्दा हुने भीडको समस्या हटेको छ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले भीटीआरएस प्रविधि जडान गरेको एक महिना नपुग्दै धेरै सवारीसाधन कारबाहीमा परेको बताए। पूर्व पश्चिम राजमार्गको उत्तरतर्फ निकुञ्ज पर्छ । दक्षिणतिर सामुदायिक वनजंगल छ। उत्तरको निकुञ्जमा रहेका जनावर दक्षिणी जंगलमा जान्छन्। दक्षिणबाट उत्तरतिर जान्छन्। त्यसक्रममा राजमार्गमा गाडीले ठक्कर दिने गर्दछ।
बाँके राष्ट्रिय निकुञ्जमा बाघ, चौकालगायत संरक्षित जनावर छन्। यी जनावरसमेत दुर्घटनामा पर्ने भएकाले सवारीसाधनको गतिलाई ‘कन्ट्रोल’ गरिएको छ। वार्डेन शाहले वन्यजन्तुलाई बचाउन भीटीआरएस प्रविधि जडान गरिएको बताए।
भीटीआरएस नयाँ प्रविधि हो। सबै निकुञ्जमा यो लागू गरिएको छैन। बाँके राष्ट्रिय निकुञ्ज पहिलोमध्येमा पर्छ। यो प्रविधिले सुरक्षामा खटिएको नेपाली सेना, सवारीसाधन चालक दुवैलाई फाइदा पु¥याएको छ। निकुञ्ज क्षेत्रमा कही पनि गाडी रोक्नु पर्दैन। आफ्नै गतिमा गुड्छ। क्यामेराले आफै काम गर्छ। पूर्व र पश्चिमको दुई वटा प्रवेशद्वारमा रहेको क्यामेराले गाडी नम्बर क्याप्चर गर्ने र त्यसलाई अर्को पोष्टमा हेर्न सकिन्छ।
तोकिएकोभन्दा तीव्र गतिमा गाडी गुडेको छ भने त्यसलाई कारबाही गरिन्छ। यो कारबाहीमा केही भीभीआईपी पनि परेको स्रोतले बताएको छ।