
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपालले हालसम्म खरिद र विभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको बताएका छन्।
शुक्रबार मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गर्दै उनले उक्त जानकारी दिएका हुन्।
प्राप्त गरिएकामध्ये ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकिएको उनले जनाए।
‘२०७८ आश्विनसम्म लक्षित जनसंख्याको एकतिहाइलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको छ’, मन्त्री खतिवडाले भने, ‘२०७८ माघ २७ गतेसम्म १२ वर्षभन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको छ।’
२०७९ बैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको उनले बताए। यसको लागि आवश्यक पर्ने खोपको मौज्दात सुनिश्चित गरिसकिएको र हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष्य तोकिएको मितिभन्दा अगावै प्राप्त हुने दाबी उनले गरे।