
काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्।
पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार भर्चुअल्ली शुभारम्भ गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र संघीय तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका हुन्।
उनले सत्तारुढ गठबन्धनलाई बत्ति निभाएर वा मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि चेतावनी दिए। आफ्नो पार्टीले निर्वाचनबाट कसैलाई पनि भाग्न नदिने अध्यक्ष ओलीको भनाइ थियो।
उनले देश, जनता, पार्टी र आन्दोलनविरुद्ध षड्यन्त्र गरेर पार्टी विभाजन गर्नेको भ्रममा नपरी पार्टीमा फर्किन पनि स्थानीय तहका जनप्रतिनिधिलाई आह्वान गरे।
अध्यक्ष ओलीले आफ्नो पार्टीबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिले जनताको पक्षमा असाधारण काम गरेको दाबीसमेत गरे।
उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नगरी एक्लै चुनाव लडने बताए।
उनले भने, ‘आउँदो निर्वाचनमा हामी बहुमत जित्छौं, के गर्छन् होला बिचराहरू। म भनिदिन चाहन्छु–भाग्ने, उम्कने ठाउँ छ भने खोजे हुन्छ। संघीय र प्रदेशमा पनि हामीले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेछौं। यो गठबन्धन तोडेर होइन, गठबन्धन कायमै राखेर, गठबन्धनसँग लडेर हामी बहुमत प्राप्त गर्छांै भन्नेकुरा म अहिले नै भन्दिन चाहन्छु। फेरि पनि कुनै उपाय छ भने। तर, हामी निर्वाचनबाट कसैलाई भाग्न पनि दिँदैनौं। र अवका निर्वाचन बत्ति निभाएर जित्ने, मतपत्र च्यातेर जित्ने सपना नदेखे हुन्छ। कल्पना कसैले नगरे हुन्छ। त्यो पनि भनिदिन चाहन्छु। षड्यन्त्रपूर्ण ढंगले पार्टी विभाजन गर्दा पनि स्थानीय तहमा पार्टीको पक्षमा आम रूपमा पार्टी नेता, कार्यकर्ता, जनप्रतिनिधि दृढतापूर्वक उभिनुभयो। र, विभाजनको असर दुई डिजिटलमा पु¥याउन कसैले सकेन। म हाम्रो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। केही–केही साथी अलमलमा परेर षड्यन्त्रकारी तत्वहरूको पछाडि भ्रमवश जानुभएको हुन सक्छ। म अहिले पनि उहाँहरूलाई त्यस्ता भ्रममा परेर देशविरुद्ध, जनताविरुद्ध पार्टी, आन्दोलन र लोकतन्त्रविरुद्ध क्रियाकलापमा सरिक नहुन र पार्टीमा फिर्ता आउन हार्दिक आग्रह पनि गर्न चाहन्छु। सबै साथीहरू अलमलमा नपरौं। हाम्रो पार्टीबाट निर्वाचित हुनुभएका साथीहरूले असाधारण राम्रो काम गर्नुभएको छ।’
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भीर खेलबाड गरेको आरोप लगाए।
उनले सभामुख अग्निप्रसाद सापकोटाले अनधिकृत ढंगले संसदमा निर्णयार्थ पेस गरिएको एमसीसी सम्झौता अघि बढ्न नदिएको भन्दै आपत्तिसमेत जनाए।
सभामुख सापकोटाका यस्ता खालका पदीय मर्यादाविपरीतका गतिविधिलाई सत्तारुढ गठबन्धनका केही नेताले प्रशंसा गरेकोमा आफूलाई सरम लागेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्ता गतिविधि हुन नदिन सरकारलाई सचेत गराए।
उनले भने, ‘अर्को कुरा अध्यक्षको हैसियतले लेखेको भनेर अनि कुन पार्टीको प्रमुख हुन र एमसीसीको प्रमुख ? अर्को कुन–कुन पार्टीको अध्यक्षले लेख्नुपथ्र्याे ? गठबन्धनभित्र पनि दुइटा अध्यक्षले लेख्ने कुरा। अरु अध्यक्षलाई थाहा छ कि छैन ? थाहा भए पनि नभए पनि उहाँहरूको बाध्यता छ, त्यो गठबन्धनमा लाग्नुपर्ने। तर देश त गम्भिर खेलवाड, खेलाँची, गैर जिम्मेवारपनको सिकार भइराखेको छ। यस कुराप्रति हामी गम्भीर छौं। र म के भन्न चाहन्छु भने–सभामुखले सरकारले निर्णयार्थ संसद्मा दर्ता गरेको चिजलाई रोक्ने अधिकार सभामुखलाई छैन। कर्तव्य होइन। र उनले त्यो अनधिकृत ढंगले बल मिच्याइँ गरेका छन्। यस्तो कुरा यो गठबन्धनको निरीहता हो। पदलोलुपता हो। सत्तामोह हो। गठबन्धन जसरी पनि कायम राखेर सरकारमा बस्नुपर्छ भन्ने कुरा हो। र, यस्तो कुरामा पनि सत्ता गठबन्धन चुइँक्क बोल्न सक्दैन। को अधिकारको सीमाभन्दा बाहिर गइराखेको छ ? अघिल्लो सभामुखले त्यस्तै ढंगले अनधिकृत क्रियाकलाप गरेकै हो। र, अहिलेको सभामुखले त्यही कुरालाई जारी राखेका छन्। र, अनधिकृत क्रियाकलाप गरिराख्या छ। संसद्ले के गर्छ, त्यो आफ्नो ठाउँमा होला। संसदलाई निर्णयार्थ दिनुप¥यो अधिकार। तर, संसदलाई नदिएर रोक्ने कुरा उनको अधिकारभित्रको कुरा होइन। अनि त्यस्तो अनधिकृत काम गर्ने सभामुख कहाँ प्रशंसाका लागि केही मान्छे पुग्छन रे भनेको सुन्दा सरम लाग्छ। यो गैरजिम्मेवार कुरा हो। यसमा सरकार गम्भीर होस् म दोहो¥याउन चाहन्छु।’
अध्यक्ष ओलीले चुच्चे नक्शा प्रयोग गर्ने काम सरकार र सत्तारुढ दलले नगरेर देश र मुलुकको भौगोलिक अखण्डतामाथि खेलबाड गरिरहेको आरोप पनि लगाए।