डा. सुन्दरी पोखरेल

गठबन्धन र संयुक्त सरकार नेपालमा फाप्दैन

गठबन्धन र संयुक्त सरकार नेपालमा फाप्दैन
+
-

ठण्डा दिमागले सोचेर नेपालको संविधान बनाइएको थिएन। ठूलो अस्थिरता, अराजकता र अशान्तिबीच संविधान बनाइएको थियो। अशान्ति र तनावबीच कुनै पनि ठूलो निर्णय गर्न हुँदैन भन्ने सर्वमान्य मान्यताविपरीत संविधान लेखनको काम गरिएको थियो।

शान्त र एकान्त वातावरणमा संविधान बनाइनुपर्ने थियो। त्यसो नगरेर कोलाहल र अशान्तिबीच बनाइयो। जसकारण संविधानमा कैयन त्रुटि भएको छ, त्रुटि गराइएको छ।

१. बहुमत नहुने अवस्था

वर्तमान संविधानमा नेपाललाई अशान्त र अस्थिर बनाइराख्ने कतिपय प्रावधान जानाजान घुसाइएको छ। संविधानले देशमा राजनीतिक स्थिरता होस् भन्ने परिकल्पना गरेको हुनुपर्छ। तर, त्यसविपरीत राजनीतिक स्थिरता नहोस्, जहिले पनि विग्रह भइरहोस्, बहुमतको सरकार नबनोस् भन्ने आधारमा संविधान निर्माण गरिएको देखिन्छ। प्रतिनिधि सभामा ६० प्रतिशत प्रत्यक्ष निर्वाचित हुने र ४० प्रतिशत समानुपातिक निर्वाचित हुने व्यवस्था नै अस्थिरताको मुहान भएको देखिन्छ। यसो गर्दा प्रतिनिधि सभामा कुनै एक दलको बहुमत हुन करिब असम्भव नै हुन जान्छ।

पहिलो हुनेले जित्ने प्रणालीबाट कुनै एक दलको बहुमत आउने सम्भावना प्रबल रहन्छ। ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट कसैको पनि बहुमत आउने अवस्था हुँदैन। यी दुई प्रणाली मिसाउँदा प्रतिनिधि सभामा कुनै एक दलको बहुमत नआउने अवस्था हुन्छ।

लोकतन्त्र भनेको बहुमतको सरकार हो। कुनै एउटा दलको बहुमतले मात्र प्रभावशाली सरकार बन्न सक्छ, सरकारले काम गर्न सक्छ। कुनै एउटा पार्टीको बहुमतको सरकार नबन्ने अवस्थाले कस्तो विकृति ल्याएको छ भन्ने अहिलेको अवस्थामा पनि हेर्न सकिन्छ। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार कठिन ढंगले चलिरहेको छ। साना पार्टीका मन्त्री अनुशासनमा बसेको देखिँदैन। प्रधानमन्त्री देउवालाई साना पार्टीका नेताले ब्ल्याकमेलिङ गरिरहेको देख्न सकिन्छ।  कसैको बहुमत नआउने निर्वाचन प्रणालीको कारणले यस्तो अवस्था आएको हो।

२. विकृत गठबन्धन

कुनै एक पार्टीको बहुमत नहुने चुनाव प्रणालीले दललाई गठबन्धन गर्न बाध्य बनाउँछ। ठूला पार्टीलाई चुनावमा साना पार्टीसँग निर्भर हुन बाध्य बनाउँछ। आमचुनावमा धेरै मत र धेरै सिट ल्याउने ठूला पार्टीलाई साना पार्टीले आफ्नो अधीनमा राख्ने विकृत राजनीतिक अवस्था सिर्जना हुन्छ। अहिले नेपालमा त्यही भइरहेको छ।

भारतमा लामो समय संयुक्त सरकार रह्यो। चुनावमा गठबन्धन गरेरै संयुक्त सरकार बनाइएको थियो। नरेन्द्र मोदीभन्दा पहिलेका प्रधानमन्त्री मनमोहन सिंहको सरकार गठबन्धनमा निर्भर थियो। मोदीको सरकार पनि गठबन्धनमै आधारित हो तर मोदीले नेतृत्व गरेको भारतीय जनता पार्टी एक्लैको बहुमत पनि छ। यसकारण भारतमा अहिले संयुक्त सरकारको विकृतपूर्ण अवस्था छैन। अघिल्लो मनमोहन सिंह सरकार प्रभावकारी नहुनु, त्यसले डेलिभरी दिन नसक्नुको मुख्य कारण संयुक्त सरकार थियो।

कुनै निश्चित उद्देश्य हासिल गर्न संक्रमणकालमा बन्ने संयुक्त सरकार भने नेपालमा प्रभावकारी सावित भएको छ। ०४७ सालमा कांग्रेस र कम्युनिष्टको संयुक्त सरकारले नयाँ संविधान बनायो, चुनाव गरायो। ०६३ मा बनेको सात दलको सरकारले संविधानसभा चुनाव गरायो, अन्तरिम संविधान बनायो।

नियमित काम गर्नुपर्ने सरकार गठबन्धनबाट बनेको अवस्थामा प्रभावकारी हुन सकेको देखिँदैन। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ०५२ सालमा संयुक्त सरकार बनेको थियो। त्यो सरकारको पालामा नेपालमा धेरै खालको राजनीतिक विकृति थालनी भएको थियो। त्यसपछि बनेका संयुक्त सरकार सबै विकृतिको मुहान बनेका थिए। अहिले देउवा सरकारको अवस्था पनि त्यस्तै छ।

नियमित काम गर्नुपर्ने सरकार गठबन्धनबाट बनेको अवस्थामा प्रभावकारी हुन सकेको देखिँदैन। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ०५२ सालमा संयुक्त सरकार बनेको थियो। त्यो सरकारको पालामा नेपालमा धेरै खालको राजनीतिक विकृति थालनी भएको थियो। त्यसपछि बनेका संयुक्त सरकार सबै विकृतिको मुहान बनेका थिए। अहिले देउवा सरकारको अवस्था पनि त्यस्तै छ।

संयुक्त सरकारको विकृतिपूर्ण राजनीतिक अभ्यासले बहुमतको सरकारलाई पनि असर गरेको छ। दल तथा नेताहरूले बहुमतको सरकारलाई पनि संयुक्त सरकार जसरी चलाउन खोजेको देखिन्छ। नेपाललाई प्रधानमन्त्री नै सर्वेसर्वा भएको बलियो सरकार चाहिन्छ। संयुक्त सरकारमा प्रधानमन्त्री बलियो बन्न नसक्ने अवस्था हुँदैन।

चुनाव गर्नुको उद्देश्य कुनै एउटा दलले बहुमत ल्याओस् भन्ने हो। कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा मात्र संयुक्त सरकार बनाउने हो। संविधानमै कुनै दलले बहुमत नल्याउने खालको व्यवस्था राखेर ठूलो गल्ती गरिएको छ।

३. विश्वमा गठबन्धन सरकार

संयुक्त सरकार र गठबन्धन संस्कृतिबारे विभिन्न धारणा छन्, अभ्यास छन्। विश्वका कैयन देशमा संयुक्त सरकार र गठबन्धन संस्कृति सफल भएको छ। राजनीतिक प्रणाली र संस्कृति भन्ने चिज देशअनुसार हुन्छ। न्युजिल्यान्ड, स्विजरल्यान्ड, जर्मनीलगायत देशमा सफल भएको समानुपातिक प्रणाली नेपालमा भने सफल भएको मान्न सकिन्न। हरेक देशले आफ्नो अनुभवका आधारमा राजनीतिक अवस्था परिमार्जन गर्नुपर्छ। चीनमा कम्युनिस्ट प्रणालीले विकास र समृद्धि दिएको छ, त्यसो भन्दैमा अमेरिकाले त्यही प्रणाली अपनाउन सक्छ ? अवश्य सक्दैन।

कतिपय देशमा गठबन्धन सरकार सफल भएको छ, कतिपय देशमा एकल बहुमतको सरकारले पनि काम गर्न सकेको छैन, कतिपय देशमा संयुक्त सरकारले बरबादी निम्त्याएको छ। आफूलाई जस्तो चाहिन्छ त्यस्तो उदाहरण दिन सकिने देश खोज्न सकिन्छ। तर, हामीले आफ्नै देशको अनुभव हेर्ने हो। नेपालको अनुभव हेर्दा गठबन्धन र संयुक्त सरकार देशका लागि अभिशाप भएको देखिन्छ।

४. गठबन्धनको परिणाम

चुनावमा राजनीतिक दलबीच गठबन्धन हुनु ठिकै हो। विचार सिद्धान्त नै नमिल्ने दलबीच गठबन्धन हुनु अप्राकृतिक हो। चुनावपछिको अवस्थामा भने संसद्भित्र सदस्य संख्याले गठबन्धन निर्धारण गर्छ। संसदीय गणितको आधारमा बनाइने सरकार प्रभावकारी हुँदैन भनेरै बीचैमा मध्यावधि चुनाव हुने व्यवस्था गरिएको हो। मध्यावधि चुनावसम्बन्धी व्यवस्था नेपालमा अति नै विवादास्पद हुने गरेको छ। कसैको बहुमत नभएको त्रिशंकु सरकार चलाउनु, कामै गर्न नसक्ने संयुक्त या गठबन्धन सरकार चलाउनुभन्दा बीचमै चुनाव गरेर एक दलको बहुमत खोज्नु ठीक हो।

संविधानसभाको करिब आठ वर्षको अवधि नेपालमा संयुक्त सरकार चल्यो। संविधानसभा (व्यवस्थापिका संसद)मा कसैको बहुमत थिएन। सो अवधिमा देशमा ठूलो अराजकता सिर्जना भएको थियो। विदेशीले नेपाली राजनीतिमा खेल्ने मौका पाएका थिए। विदेशीले विभिन्न राजनीतिक एजेन्डा नेपालमा छर्न पाएका थिए।

०५३ सालपछिको संयुक्त सरकारको बेलामा नेपालमा यति धेरै राजनीतिक विकृति फैलियो कि त्यसैको आडमा माओवादी आतंक फैलियो। राजा शक्तिशाली बने। त्यही अस्थिरता र अराजकता बीचमा नारायणहिटी हत्याकाण्ड गराइयो। प्रजातन्त्र र ०४७ सालको संविधान ध्वस्त भयो। देश अप्ठ्यारो अवस्थामा फस्यो। त्यस्तै अराजकता र अशान्तिबीच नेपालमा धर्मनिरपेक्षता लादियो, संघीयता लादियो, कसैको बहुमत नआउने चुनाव प्रणाली थोपरियो, जातीय प्रणाली ल्याइयो।

५. निष्कर्ष

नेपालको संविधानमा परिमार्जन जरुरी छ। कतिपयले यो संविधान नै फाल्नुपर्छ भन्ने गरेका छन्। संविधान फालेर अर्काे संविधान कसरी बनाउने ? फेरि संविधानसभाको पीडा भोग्ने ? नेपालले विभिन्न संविधानको अभ्यास गर्‍यो तर कुनैलाई दिगो बनाउन सकेन। २००४, २००७, २०१५, २०१९, २०४७, २०६३ र २०७२ मा संविधान बनाइयो। संविधान परिवर्तन होइन रुपान्तरण गर्नुपर्छ। यही संविधानलाई परिमार्जन गर्नुपर्छ।

चुनाव प्रणाली तत्काल फेर्न सकिँदैन। प्रत्यक्ष, समावेशी–समानुपातिक प्रणालीको मिश्रण नराम्रो होइन। समावेसी प्रणालीबाट निर्वाचितको राष्ट्रिय सभा र प्रत्यक्ष प्रणालीबाट निर्वाचितको प्रतिनिधि सभा बनाउन सकिन्छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिकार केही फरक छ। भारतमा माथिल्लो सदनका सदस्य प्रधानमन्त्री बन्न सक्छन्, नेपालमा सक्दैनन्। प्रधानमन्त्री चयन गर्ने अधिकारबाहेक नेपालमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिकारमा धेरै फरक छैन।

बेलायतमा माथिल्लो सदनको अधिकार कटौती गर्दै ल्याइएको छ। नेपालमा त्यस्तो छैन, अधिकार सम्पन्न छ राष्ट्रिय सभा। समानुपातिक प्रणालीबाट निर्वाचितको राष्ट्रिय सभा बनाउने गरी संविधान संशोधन गर्न आवश्यक छ। राजनीतिक दलले गठबन्धन र संयुक्त सरकारमा ध्यान नदिएर राजनीतिक स्थिरतालाई जोड दिनुपर्छ।

(अमेरिकाको युनिभर्सिटी अफ नर्थ टेक्सास विश्वविद्यालयबाट केमिस्ट्रीमा पिएचडी गरेकी डा. पोखरेल दुई दशकदेखि विभिन्न विश्वविद्यालय तथा कलेजमा प्राध्यापनरत छिन्।)

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?